पिण्डेश्वरमा बोलबम(फोटोफिचर)
धरान । परिवारमा सुख, शान्ति र श्रीमान्को दीर्घायु मनोकांक्षा लिएकी इटहरीकी कविता भण्डारी सोमबार बिहानै धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा लामवद्ध थिइन् । उनले सदा झै सहजै पिण्डेश्वर महादेवको दर्शन पाउन सकिनन् । जल चढाउन उनले निकैबेर लाममा उभिनु पर्यो ।
साउन महिना लागेपछि पिण्डेश्वर मन्दिरमा बोलबम(मेला) शुरु हुन्छ । साउनको हरेक सोमबार श्रद्धालु भक्तजनहरुको घुइचो लाग्छ । अनेक मनोकांक्षा लिएर टाढाबाट आएका भक्तजनहरु कविताले झै धेरैबेर लामवद्ध हुनुपर्छ । शिवका गेरुवस्त्रधारी भक्तहरु आइतबार नै चतरा जान्छन् र कोशी नदीको पवित्र जल बोकेर ल्याउछन् । पहिला चतराबाट धरानसम्म भक्तजनहरु हिडेर आउथे भने अचेल सवारीसाधानमा पनि आउने गर्छन् । पहिलो सोमबार भने चतरा नगएका स्थानीय भक्तजनहरुको संख्या बढी हुन्छ । भक्तजनको भिड हुने भएकोले छिटो जल चढाउने सुविधा दिन पिण्डेश्वर बाबाधाम समितिले मन्दिरको मुल ढोकाबाटै तामाको जलहारीबाट शिवलिंगसम्म जल पुग्ने व्यवस्था गर्ने भएको छ । पहिलो सोमबार तयारी पुरा नभएकोले दोस्रो सोमबारबाट मात्रै यो व्यवस्था हुने समितिको भनाई छ । स्थानीय भक्तजनहरुलाई मन्दिर पश्चिमको गेटबाट र चतराबाट जल ल्याएका भक्तजनहरुलाई मन्दिरको मुल गेटबाट प्रवेश गर्ने व्यवस्था छ ।

Comments
Post a Comment