१३ बर्षीय आमालाई ट्यमुर, सहयोगको अपिल


धरान । पढ्ने–लेख्ने र हाँसखेल गर्ने उमेर छ । उनका संगीहरु हातमा किताब कपी बोकेर स्कुल जान्छन् । विडम्बना, धरान २३ पानवारीकी १३ बर्षीय सुजता थामी भने यो बेला छोरो खेलाउदै दिन कटाउछिन् । उनको त भाग्य नै खोटो हो कि ! कलिलै उमेरमा आमा बन्नुको भन्दा पनि अर्को  ठुलो पिर छ उनको ।
तीन महिनाअघि दाहिने ढाडमा दुख्न थालेपछि घरेलु उपचारमा समय कटाए । सहनै नसक्ने गरी दुख्न थालेपछि मात्रै उनी महिनादिन अघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएकी थिइन् । त्यतिबेलै डाक्टरहरुले ट्युमरको शंका गरेर अप्रेशन गर्नुपर्ने पनि हुनसक्छ भनेका थिए । गाउँलेले मृगौला झिकिदिन्छ भन्ने सुनाएपछि सुजता नियमित जाँचमा जादै गइनन् । उनको दुखाई बढेर ट्युमरकोरुप लिइसकेको रहेछ । ‘शुरुमा सड्केको भनेर मालिस गर्दै बसे, साह्रै दुखेपछि बीपीमा जचाउन आएको थिएँ, किड्नी झिकिदिन्छ भनेपछि डाक्टरलाई देखाइन’–सुजताले भनिन्–‘साह्रै दुखेपछि अस्तिको दिन आएँ, डाक्टरले क्यान्सर भएको छ, सेकाउन भरतपुर जानु भन्नुभयो, कसरी जाने ? हामीसँग केही पनि छैन । त्यसैले सबैमा सहयोगको आग्रह गर्छु ।’
सही–गलत के हो भन्ने सुजतालाई थाहै थिएन । बाह्र बर्षकै उमेरमा उनी गर्भवती भइन् । उनको श्रीमान्ले पनि सकारे पछि बिहे भयो । बाह्र बर्षमै सुजता आमा बनिन् । अहिले उनको काखमा एघार महिनाको छोरो छ । एक्काइस बर्षका श्रीमान् पुरुषोत्तम बराइली ज्यामी काम गर्छन् । छाक टार्न नै धौ धौ छ । सम्पत्तिको नाममा केही छैन । तीन महिनादेखि उनको उपचार छरछिमेकको सहयोगबाट भइरहेको छ । डाक्टरले जतिसक्दो चाडो भरतपुर गएर थेरापी गर्नु भनेका छन् । ‘सानैमा आमा बनिन्, श्रीमान्ले लेबर काम गर्छन् । अहिले त छरछिमेकबाट सहयोगले उपचार भइरहेको छ, भरतपुर कसरी लैजान सक्छौं ?’–सुजताको उपचारमा सहयोग गरिरहेकी छिमेकी कमला थामीले भनिन्–‘उसको घरपटि केही छैन, माइतीमा पनि बुबा बुढो हुनुहुन्छ, आमा विदेशमा भएपनि उपचारको सबै खर्च दिन सक्दीनन् ।’
बीपी प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक एवं हाडजोर्नी बिशेषज्ञ डाक्टर पशुपति चौधरीका अनुसार सबै जाँच गरेपछि सुजतालाई मालिग्नेन्ट ट्युमर भएको पत्ता लागेको छ । जसलाई इविङ्ग्स् सार्कोमा पनि भनिन्छ । यो ट्युमर चाडो फैलिने र शरीरको अरु भागमा पनि चाडै फैलिनसक्ने भएकोले ज्यादै खतरनाक हुन्छ । सुजताको ट्युमरको साइज पनि चाडै बढेको थियो । ‘सुजताको करङबाट आएर छातिभित्र पनि फैलिएको देखिन्छ, त्यसैले चाडो भन्दा चाडो भरतपुर क्यान्सर अस्पताल गएर किमोथेरापी वा रेडियोथेरापी गराउनु भनेका छौं’–चौधरीले भने–‘थेरापी गराउदा आइसजस्तै पग्लेर जान्छ । साइज घटेन भने सर्जरी गर्नुपर्छ, सर्जरी त यहाँ पनि गर्नसकिन्छ ।’प्रतिष्ठानले सुजताको एमआरआइ निःशुल्क गरिदिएको थियो ।
थेपारी गर्न भरतपुर जानुपर्ने भएपनि खर्च अभावले पिरोलिएकी सुजता शुक्रबार धरानका महिला पत्रकार र महिला सञ्जालको सम्पर्कमा पुगिन् । पत्रकार र सञ्जालले तत्काल पत्रकार सम्मेलन गरेर उपचारमा सहयोग गरिदिन आग्रह गरेको छ । ‘अस्पतालमा उपचार निःशुल्क गराउन प्रयास गछौं, तर भरतपुरसम्म जाने, बस्ने, खाने र औषधीको खर्च धेरै लाग्छ, उनीहरुको साथमा केही पनि छैन । कतैबाट सहयोग जुट्छ कि भनेर पहल गरिरहेका छौं’–पत्रकार सम्मेलनमा महिला सञ्जालकी कोषाध्यक्ष शिला बज्रचार्यले भनिन् । सहयोगको लागि बज्रचार्यको मोवाइल नम्बर ९८५२०४९८५२ मा सम्पर्क गर्न सकिन्छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे