धार्मिक पर्यटन प्रर्वद्धन गर्न ओरेन्ज फेस्टिवल


धरान। धरानलाई साइकल सिटिकोरुपमा स्थापित गर्न सक्रिय यहाँका युवाहरुले पिण्डेश्वर मनिदरमा लाग्ने बोलबम(मेला)एवं धार्मिक पर्यटनको थप प्रर्वद्धन गर्न ‘ओरेन्ज फेस्टिवल’ शुरु गरेका छन् । साइक्लिङमार्फत ग्रामिण तथा साहसिक पर्यटन प्रर्वद्धनमा सक्रिय युवाहरुले शनिबारदेखि साउन महिनाभरको लागि ओरेन्ज फेस्टिवलको शुरुवात गरेका हुन् ।
फेस्टिवलको शुरुवात गर्दै शनिबार युवाहरु साइक्लिङमा निस्कए । एक दर्जन युवाहरुको टोली धरानबाट  नडाहा, कालाबञ्जार, बक्लौरी, तरहरा, तालतलैया हुदै तल्लो पानबारीबाट साँझमा पुनः धरान फकिएका छन् । साइक्लिङको क्रममा युवाहरुले प्रत्येक चोकहरुमा साउन महिनाको बोलबम मेला र पिण्डेश्वर मन्दिरमा कोशीको जल चढाउनुको महत्वबारे मानिसहरुलाई जानकारी दिएका छन् । ‘साउनमा धरानको पिण्डेश्वरमा जल चढाउन धेरै मानिस आउछन्, तर यसको महिमाबारे धरान आसपासका मानिसहरुलाई नै धेरैलाई जानकारी नभएको हुनसक्छ’–साइक्लिङको संयोजन रहेको टक्स माउण्टेनबाइकका प्रबन्ध निर्देशक कृष्ण केसीले भने–‘हामी जहाँ मानिसहरुको भिड देख्छौं, त्यही पिण्डेश्वरमा जल चढाउनुको महत्व बुझाउछौं । आइतबार कोशीका जल लिन जानुस् र सोमबार चढाउनुस् भनेर निमन्त्रणा पनि गछौं ।’
‘टुगेदर फर हेरिटेज टुरिज्म’ नारा दिएको फेस्टिवल दर्शन धरानले आयोजना गरेको हो । बोलबममा आउने तीर्थलुहरु सुन्तला रंगको गेरुवस्त्र पहिरिने भएकोले अभियानलाई ओरेन्ज फेस्टिवलको नाम दिइएको दर्शन धरानका संस्थापक सुदन थापाको भनाई छ । उनका अनुसार साउन महिनाको बाँकी प्रत्येक शनिबार फरक फरक रुटमा साइक्लिङ गएर पिण्डेश्वर मन्दिर र बोलबम मेलाको महिमाबारे जानकारी गराइनेछ भने आइतबार कोशीमा जल लिन र सोमबार पिण्डेश्वरमा चढाउन निमन्त्रण दिइनेछ । ‘साइक्लिङले वातावरण जोगिने कुरा त छदैछ, हाम्रो सम्पदा र धार्मिक पर्यटन प्रर्वद्धन गर्न पनि मद्दत पुग्नेछ’–उनले भने–‘त्यसैले साउनभर जे जति गतिविधि गछौं, पिण्डेश्वर र बोलबमको महिमा प्रर्वद्धन गर्नमा नै केन्द्रीत हुन्छौं ।’
उनका अनुसार आगामी शनिबार कोशी टप्पु हुदै लौकही निस्किएर पूर्व पश्चिम राजमार्ग हुदै युवाहरुको टोली धरान फर्कनेछ भने अन्तिम शनिबार मोरङको याङशिला हुदै बेलाबारी चोकबाट फर्कनेछ । यसबाहेक साउन महिनाभरी अन्नपुर्ण फोटो स्टुडियोको संयोजनमा फोटो कन्टेस्ट पनि आयोजना हुदैछ । कन्टेस्टमा धार्मिक कला, सँस्कृति झल्कने फोटोहरु समावेश हुनुपर्ने आयोजकको भनाई छ ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे