एयरपोर्ट बन्ने धरानबासीको आशा जिवितै

धरान । आँगनमै विमानस्थल बनाउने भनेर धरानबासी जुटेको एक दशक बितिसक्यो । तर, धरानबासीको सपना साकार भएको छैन । राजनीतिक उथलपुथल र सरकार परिवर्तनसँगै धरानमा एयरपोर्ट बनाउने मुद्दा ओझेलमा पर्यो । सरकार परिवर्तन भएपिच्छेका पर्यटन तथा नागरिक उड्यान मन्त्रालय सम्हालेका मन्त्री धरान आएर आश्वासन नदिएको भने होइन ।
तत्कालीन मन्त्री हिसिला यमी, लोकेन्द्र विष्ट धरान आएर एयरपोर्टको जग्गा निरीक्षण गरे । यमीले ४५ किलोमिटर(विराटनगर)मै एयरपोर्ट छदैछ नि यहाँ किन चाहियो ? भन्दै धरानबासीलाई निराश नबनाएका पनि होइनन् । तर, धरानबासीले आशा मारेनन् । उनी पछिका मन्त्री विष्टले नागरिक उड्यान प्राधिकरणका इञ्जिनियरसमेत ल्याएर सम्भाव्यता अध्ययन गरेपछि पुनः धरानबासीको आशा जागेको थियो । तर, जग्गा अपुग भएको निष्कर्ष आयो, एयरपोर्ट निर्माण प्रक्रियाले गति लिन सकेन । यसबीचमा धरानबासीले हस्तक्षर अभियान चलाए, मन्त्रालयमा पटक पटक धाए ।
करिब १२ बर्षपछि फेरि धरानबासीमा एयरपोर्ट बन्ने आशा जागेको छ । पर्यटन तथा नागरिक उड्यान मन्त्री कृपासुर शेर्पाले शुक्रबार जग्गा अवलोकन गर्दै धरानको एयरपोर्ट योजनाभित्र परिसकेकोले अर्को बर्षदेखि निर्माण हुने ठोकुवा गरे । ‘धरानमा कन्फर्म एयरपोर्ट बन्छ, योजनाभित्र परिसकेको छ, यो मेरो आश्वासन होइन’–पत्रकारसँग मन्त्री शेर्पाले भने–‘यो बर्षभित्र प्रक्रिया टुंग्याएर अर्को बर्षदेखि एयरपोर्टको काम शुरु हुन्छ ।’ उनका अनुसार नगरपालिकाको सर्वदलीय बैठकबाट निर्णय गरेर जग्गा प्राधिकरणको नाममा आउनेछ र थप अपुग जग्गा अधिग्रहण गरिनेछ । त्यसपछि डिटेल सर्वे गरेर एयरपोर्ट निर्माणले गति लिनेछ ।
धरानमा एयरपोर्ट बनाउने भनेर ०६० सालमा धरान १७, डाडाघोपामा यति इन्कर्पोरेट प्रालिले स्थानीयसँग ७ बिघा जग्गा खरीद गरेका थिए । एयरपोर्ट बन्ने आशामा स्थानीयले चलनचल्तीको भन्दा धेरै सस्तो मुल्यमा प्रालिलाई जग्गा बिक्री गरेका थिए । प्रालि र स्थानीयबीच भएको सम्झौतामा ६ महिनाभित्र एयरपोर्ट निर्माणको प्रक्रिया प्रारम्भ नभए जग्गा फिर्ता गर्नुपर्ने उल्लेख थियो । एयरपोर्टको लागि प्रालिलाई नगरपालिकाले थप ३ विघा जमिन उपलब्ध गराएको थियो । प्राधिकरणको सिभिल इञ्जिनियरिङ विभागले गरेको प्रारम्भिक अध्ययनमा उत्तरमा डाँडा भएकोले हालको जग्गाको दक्षिण पश्चिमपट्टीको जग्गालाई बढाउनुपर्ने सुझाव दिएको थियो भने मौषम र वातावरणीय हिसाबले धरान एयरपोर्टको लागि एकदमै उपयुक्त स्थान भएको जनाएको थियो । एयरपोर्टको लागि १८ विघा क्षेत्रफल आवश्यक रहेको बताइएको छ ।
स्थानीयस्तरमा गठित एयरपोर्ट सरोकार समितिका संयोजक मनोज भट्राईले एयरपोर्ट निर्माणको फाइल अघि बढेकोले अब धरानमा एयरपोर्ट बन्नेमा पुर्ण विश्वास रहेको प्रतिक्रिया दिए । ‘७० प्रतिशत काम सम्पन्न भइसकेको छ, नगरपालिकाको जग्गा प्राधिकरणलाई दिने र अपुग जग्गा अधिग्रहण हुनेबित्तिकै बजेट विनियोजन भएर काम थालिने आशा छ’–उनले भने । एयरपोर्टको लागि आवश्यक १८ बिघा जग्गामध्ये यति इन्कर्पोरेटको ७ बिघा प्राधिकरणले खरीद गर्नेछ भने धरान उपमहानगरपालिकाले ७ बिघा जमिन उपलब्ध गराउनेछ । बाँकी जमिन अधिग्रहण गरिनेछ । धरान उपमहानगरपालिका कार्यकारी अधिकृत टिकादत्त राईले विगतको सहमति वमोजिम करिब ७ बिघा जग्गा प्राधिकरणको नाममा नामसारी गर्ने भनि परिषदको निर्णय मन्त्रालय पठाएपनि निर्णय सच्याएर भोगाधिकार दिने निर्णय गर्न पुनः पठाएको बताए । ‘एयरपोर्ट बनेन भने अरु काममा दुरुपयोग होला भनेर मन्त्रालयले नामसारी होइन, भोगाधिकार गर्ने गरि निर्णय गर्नु भनेर पठाएको छ, हामी त्यसैअनुसार गछांै’–उनले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे