सुकुम्बासीहरुले संविधानको मस्यौदा जलाए


धरान । सुकुम्बासीहरुको जग्गा खोसेर उठिबास गराउने गरि संविधानको प्रारम्भिक मस्यौदा आएको भन्दै आइतबार देशभर सुकुम्बासीहरुले विरोध प्रर्दशन गरेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाजको अगुवाईमा भएको विरोध प्रर्दशनको क्रममा उनीहरुले संविधानको प्रारम्भिक मस्यौदा पनि जलाए । मस्यौदाको विरोध गर्दै सुकुम्बासीहरुले भुमिसहितको सुरक्षित आवास अधिकारलाई मौलिक हकमा किटान गर्न पनि माग गरेका छन् ।
धरानमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै समाजका पूर्वाञ्चल अध्यक्ष कुमार कार्कीले  देशभर ४० लाख सुकुम्बासी भएकोले अधिकार सुनिश्चित नगरे सत्ता कब्जा गर्ने चेतावनी दिए । सुकुम्बासीको अधिकार संविधानमा नसमेटिए सभासदहरुलाई ठिक पार्ने पनि उनले चेतावनी दिए । ‘हामी ४० लाख सुकुम्बासी मतदाता छौं, सुकुम्बासीको अधिकार नसमेटिने हो भने सत्ता कब्जा गछौं । हाम्रै राष्ट्रपति, प्रधानमन्त्री बनाएर धनीपुर्जा पनि बाड्छौं’–कार्कीले आक्रोश व्यक्त गर्दै भने–‘हामीलाई अधिकारविहिन र घरबारविहिन बनाउने हो भने ६०१ सभासदलाई ठिक पछौं ।’ उनका अनुसार संविधानको मस्यौदामा स्वामित्वमा रहेको बासस्थानबाट हटाइने वा अतिक्रमण गरिने छैन भन्दै स्वामित्व भएको जग्गाको सुरक्षा र संरक्षण राज्यले नै गर्ने व्यवस्था छ । तर, त्यसबाहेकको जग्गामा राज्य बाध्य नहुने भनिएकोले सुकुम्बासीहरु उठिबास हुने अवस्था आउन सक्ने सुकुम्बासीहरुको भनाई छ । अधिकतर सुकुम्बासीहरु सरकारी(ऐलनी) जग्गा र निजी जग्गा ओगटेर बसेका छन् ।
प्रस्तावित मस्यौदामा कुनै पनि नागरिकलाई उचित कानुनी प्रक्रिया पुरा नगरी र वैकल्पिक व्यवस्था नगरी बासस्थानबाट हटाइने वा अतिक्रमण गरिने छैन भन्ने प्रावधान हुनुपर्ने सुकुम्बासी अधिकार अभियन्ताहरु बताउछन् । सुकुम्बासी, अव्यवस्थित बसोबासी र भुमिहिनहरुलाई भुमिसहितको सुरक्षित आवासको व्यवस्था गरिनुपर्ने मागसहित समाजकाले यसअघि नै सुझाव पनि दिइसकेको छ । समाजका धरान नगर सचिव सुवास राईले राजनीतिक दलहरुले सुकुम्बासीलाई चुनावी नारा मात्रै बनाएको भन्दै आक्रोश पोखे । सुकुम्बासीहरुको अधिकारलाई संविधानको मस्यौदामा थप गर्नुको साटो भएको पनि कटौतीमा परेको उनको भनाई छ । धरान क्षेत्रका सुकुम्बासीहरुले र्यालीसमेत निकालेका थिए । भानुचौकमा पुगेर र्याली कोण सभामा परिणत भएको थियो ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे