तयार भयो गोर्खालीको वीरताको प्रतिक

धरान । विश्वयुद्धमा वीरगति प्राप्त गरेका पुर्खाहरुको इतिहासलाई ज्युदो राख्न विष्णुपादुकामा निर्माणाधिन ब्रिटिश गोर्खा स्मृति पार्कको वीरताको प्रतिक(मुर्ति) तयार भएको छ । धरानका युवा कलाकारद्धय महेन्द्र राई र जीवन पौडेलले १० फिट अग्लो मुर्ति तयार गरेका हुन् । उक्त मुर्तिलाई बिष्णुपादुका लैजानु अघि बिहिबार ब्रिटिश गोर्खा भुपु सैनिक संघ(बि गेसो) र ब्रिटिश गोर्खा पार्क समितिले बजार परिक्रमा गराउदै सार्वजनिक गरेको थियो ।
समितिले मुर्ति वीरताको प्रतिक तथा पुर्खा सम्मान भएकोले पञ्जे बाजासहित परिक्रमा गराउदै सार्वजनिक गरेको जनाएको छ । मुर्तिलाई आगामी शनिबार स्थापना गरिने समितिका सल्लाकार तथा बि गेसोका सभापति गजेन्द्र इस्पोले जानकारी दिए । ‘सालिक वीरताको प्रतिक र पुर्खाको सम्मान भएकोले सार्वजनिक गर्दै परिक्रमा गरेका हौं, आउदो शनिबार विष्णुपादुकामा स्थापित गछौं’–इस्पोले भने । कलाकारद्धयले सिलिकन ढलान गरेर मुर्ति तयार गरेका हुन् । यसको लागि १० लाख रुपैया खर्च भएको समितिले जनाएको  छ । उक्त मुर्ति लाहुरे पोशाकमा कुखुरी बोकेर ‘आयो गोर्खाली’ भावमा कराएको सैनिकको छ । विश्वयुद्धमा गोर्खाली सेनाले यसरी नै युद्ध लडेकोले गोर्खाली सेनाको प्रसंग आउदा यही तस्बिर झल्किन्छ । यो मुर्तिलाई विष्णुपादुकाको माछामारा डाँडामा निर्माणाधिन मोनोमेन्ट(स्मृति स्तम्भ)को बेसमा राखिने समितिले जनाएको छ ।
स्मृति स्तम्भ सन् २०१५ अप्रिल महिनासम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित समितिले गुरुयोजना तयार गरेर निर्माण भइरहेको छ । स्मृति स्तम्भसँगै चमेना गृह पनि निर्माण भइरहेको छ । स्मृति स्तम्भको बेसमा हरेक पल्टन(गोर्खा राइफल)हरुको लोगो र संक्षिप्त जानकारीसमेत राखिने समितिले जनाएको छ । यो पार्क ब्रिटिश गोर्खा भूपू सैनिकहरुको महत्वकांक्षी योजनामध्येको एक योजना हो । पार्कमा गोर्खा भूपूहरुको पहिचान, पूर्खाहरुको सम्मान तथा अभिलेख, गोर्खाहरुको इतिहासलाई जीवन्त राख्दै अध्ययन, अनुसन्धानसहित पर्यटकीय आर्कषणको केन्द्र बनाउने गेसोको लक्ष्य छ ।
गुरुयोजनावमोजिम पार्किङ क्षेत्रसहित ढुंगाको सिढी, विश्रामस्थल, थकाई मार्न घासे मैदान, पानीको फोहोरा, ठाक प्रयोग गरेर बनाइएको छहारी तथा धरानको दृष्यवलोकन गर्न सकिने प्वाइन्ट बनाइनेछ । आसपासमा बगैचा र कृत्रिम झरना पनि बनाइनेछ भने स्मृति स्तम्भलाई चारैदिसाबाट नियाल्न सकिने गरि डिजाइन गरिएको छ । भूपू लाहुरेहरुको पहलमा धरानदेखि करिब ९ किलोमिटर पश्चिम विष्णुपादुका गाविसमा पार्क निर्माण हुन लागेको हो । स्मृति स्तम्भबाहेक त्यहाँ प्रत्येक भिसि विजेताको नाममा भि.सि.हट, संग्रहालय र सेमिनार हाल पनि बनाउने योजना छ । स्मृति स्तम्भमा विभिन्न देशमा रहेको पूर्वजहरुको समाधिबाट माटो ल्याएर राखिनेछ । भूपू गोर्खाहरुका अनुसार विश्वका एक सय ५० राष्ट्रमा पहिलो र दोस्रो विश्वयुद्धताका ज्यान गुमाएका गोर्खाली पूर्वजहरुको समाधि छ । गुरुयोजना र्भखर तयार भएपनि पार्कमा अहिलेसम्म ३ वटा पिकनिक स्पटसहित कटेज बनिसकेको छ भने भ्यु प्वाइन्टमा चौतारा पनि निर्माण भएको छ । जहाँबाट धरानको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ । पार्क बनेपछि ब्रिटिश गोर्खा सैनिक र तिनका परिवारको लागि पवित्रस्थल बनेसँगै यो ठाउँ पर्यटकीय केन्द्रकोरुपमा पनि विकास हुने निर्माणकर्ताहरुको आशा छ ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे