मापदण्डविपरीतका एम्बुलेन्सलाई एक साताभित्र सुधार गर्न निर्देशन

धरान । जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिले सुनसरी जिल्लामा सञ्चालित एम्बुलेन्स तथा शववाहनलाई एक साताभित्र सेवामा सुधार गर्न निर्देशन दिएको छ । समितिले सुनसरी जिल्लामा सञ्चालित एम्बुलेन्स तथा शववाहनको अनुगमनको क्रममा धेरै कमजोरी फेला पारेपछि बुधबार एक सुचना प्रकाशित गरी एम्बुलेन्सहरुलाई एक साताभित्र सुधार गर्न निर्देशन दिएको हो ।
तोकिएको समयभित्र सुधार नगरे कानुन वमोजिम सेवा स्थगनसम्मको कारबाही गर्ने समितिले चेतावनी दिएको छ । अनुगमनको क्रममा कतिपय एम्बुलेन्सहरुको सवारी दर्ता नवीकरण नभएको, सेवा प्रदायक संस्था नै नविकरण नभएको, अक्सिजन नभएको, फ्रष्ट एड नरोको जस्ता गम्भीर कमजोरीहरु भेटिएको थियो । अनुगमनको क्रममा भेटिएका कमजोरीहरुलाई सच्याउन एक साताको समयसिमा तोकेर निर्देशन दिएको रेडक्रस सोसाइटी सुनसरी शाखाका सभापति उमेश थापाले बताए । ‘पूर्वमा भएका एम्बुलेन्सहरु सबै ग श्रेणीका मात्रै हुन्, तर ग श्रेणीमा पनि हुनुपर्ने न्युनतम सेवा नभएको पाइएकोले एक साताभित्र सुधार गरेर सम्पर्कमा आउन सुचना जारी गरेका छौं’–थापाले भने–‘निर्देशन अटेर गर्नेलाई अब प्रशासनले त्यसै छोड्दैन, कडाईका साथ कारबाही हुन्छ ।’
उनका अनुसार अनुगमनको क्रममा पनि प्रत्येक एम्बुलेन्सलाई २ वटा अक्सिजन सिलिण्डर राख्न समितिले निर्देशन दिइसकेको छ भने फ्रष्टएड बक्स राख्न पनि सुझाव दिइसकेको छ । प्राथमिक उपचार तालिम नलिएका एम्बुलेन्स चालकहरुलाई रेडक्रसले चाडै तालिम दिने र विगतमा लिएकालाई पुनः रिफ्रेस गराउने सभापति थापाले बताए । सेवामुखी एम्बुलेन्समा विकृत्ति बढेको, अस्पताल वरीपरी मात्रै बस्ने र भाडामा दलाली गर्ने गरेको जनगुनासो बढेपछि चासो दिएर जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिले अनुगमन थालेको हो । समितिले असार १० गतेदेखि धरानबाट अनुगमन शुरु गरेको थियो । यसक्रममा धरानको ३४, इटहरीको २२ र इनरुवाको २२ गरि कुल ७८ वटा एम्बुलेन्सको अनुगमन भएको समितिले जनाएको छ ।
अनुगमनमा संलग्न रेडक्रस सुनसरी शाखाका मन्त्री मुकुल कायस्थका अनुसार अधिकांश एम्बुलेन्स आफ्नो सेवा क्षेत्रमा नबसी शहरका ठुला अस्पतालमा भाडाको ट्याक्सी झै ग्राहक पर्खेर बस्ने गरेको भेटिएको थियो । यस्तै, एम्बुलेन्स सेवाको भाडा तोकिएको भएपनि चालकहरुले विरामीहरुसँग बार्गेनिङ गर्ने गरेको पनि रहस्य खुलेको उनले बताए । ‘यो ठाउँमा सेवा पुर्याउछु भनेर एम्बुलेन्स ल्याउदा सरकारले एक प्रतिशत मात्रै भन्सारमा आयात गर्न दिएको हुन्छ, तर यहाँका एम्बुलेन्सहरु ठुलो अस्पताल वरिपरीमात्रै बस्ने गरेको भेटियो’–कायस्थले भने–‘धरानमा बीपी प्रतिष्ठानअघि, इटहरीमा सामुदायिक अस्पताल र इनरुवामा इनरुवा हस्पतालमा मात्रै एम्बुलेन्स बस्ने गरेको पायौं, यो सेवा मापदण्ड विरारीत हो, जुन ठाउँमा सेवा दिन्छु भनेको हो, एम्बुलेन्सहरु त्यही बस्नुपर्छ ।’
कतिपय संस्थाहरुले एम्बुलेन्स ठेक्का लगाएको कारण पनि विकृत्ति बढेको उनले बताए । अझ कतिपयमा तेस्रो पक्ष र चालकको विमा पनि नगरिनु गम्भीर लापरवाही भएको कायस्थको भनाई छ । अनुगमनको क्रममा सुनसरीका एक दर्जन एम्बुलेन्सहरु सम्पर्कमा नआएको पनि उनले खुलाए । दर्जनमध्ये ६ वटा एम्बुलेन्स स्वास्थ्य चौकीको हो । ‘एम्बुलेन्स चालक संघका अध्यक्षले नै फोन गर्दा पनि आएनन्, त्यसमा सरकारी एम्बुलेन्स पनि भएकोले जिल्ला स्वास्थ्य कार्यालयलाई ७ दिनभित्र पेश गरिदिनु भनेका छौं’–उनले भने । अनुगमनमा नआएको एम्बुलेन्सहरुमा सामुदायिक स्वास्थ्य सेवा केन्द्र इटहरी, लौकही स्वास्थ्य चौकी, अमाहीवेला स्वास्थ्य चौकी, चिमडी स्वास्थ्य चौकी, पकली स्वास्थ्य चौकी र सोनापुर स्वास्थ्य चौकी छन् । यस्तै, पटवारी लाल समाज सेवा दुहबी, झुम्का उद्योग वाणिज्य संघ झुम्का, जनहित सहकारी संस्था महेन्द्रनगर चक्रघटी, जितेन्द्र प्रसाद प्रतिष्ठान सुनसरी र सि एस डि देवानगञ्ज रहेको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे