बाढीले संखुवासभाको दुई विद्युत आयोजना ठप्प

वरुण हाइड्रो संखुवासभा जिल्लाकै सबैभन्दा ठुलो जलविद्युत आयोजना हो । यो ४.५ मेगावाट क्षमताको छ । निगुरे हाइड्रो २.५ किलोवाट क्षमताको हो । दुवै आयोजनाले उत्पादित विजुली विद्युत प्राधिकरणलाई बेच्ने गरेको थियो । बाढीले वरुण हाइड्रोको इन्टेक, क्यानल(नहर) र पावरहाउसमासमेत क्षति पुर्याएको छ । निगुरेको इन्टेक र क्यानलमा क्षति पुगेपनि पावरहाउस भने सुरक्षित रहेको जनाएको छ । खोलाभन्दा करिब १२ मिटर उचाईमा निगुरेको पावर हाउस भएकोले जोगिएको थियो । गत जेठ २८ गते राती हेवामा पहिरोसँगै बाढी आएको थियो । खोलाले धार परिर्वतन गरेर दुवै आयोजनाको नहर भएको स्थानमा अहिले बगिरहेको छ । बर्षाले कटान गरिरहेको छ भने खोलालाई पुरानै धारमा फर्काउनु दुवै आयोजनालाई चुनौती छ ।
पावरहाउसमा बाढी पसेर मेशिनमा पनि क्षति पुगेको हुनाले प्राविधिक टोलीको अध्ययनविना क्षतिको वास्तविक विवरण आउन नसक्ने वरुण हाइड्रोपावरले जनाएको छ । चीनमा बनेको मेशिन हुनाले चीनीया प्राविधिक टोलीको प्रतिक्षामा रहेको वरुण हाइड्रोले जनाएको छ । ‘बाढीले इन्टेक, क्यानल, पावरहाउस सबैमा क्षति पुर्याएको छ । सफाई गरेर कुन कुन मेशिन ठिक अवस्थामा छ भन्ने जाँच नगरेसम्म क्षतिको वास्तविक विवरण थाह हुदैन’–वरुण हाइड्रोका प्राविधिक मेघराज बस्नेत(राहुल)ले भने–‘पावर हाउसभित्र बाढी पसेर मेशिन, टर्वाइन, कन्ट्रोलरुम सबैतिर हिलाम्य छ, त्यो सफाई गर्न नै ६,७ महिना लाग्छ ।’
यो आयोजना शुरु हुन कम्तीमा ८ महिना लाग्ने अनुमान गरिएको छ । त्यतिबेलासम्मको उत्पादनसहित झण्डै ३४ करोड क्षतिको आँकलन गरिएको हाइड्रोका इञ्चार्ज भरत गुरागाईले बताए । ‘उत्पादन शुरु हुन कम्तीमा ८ महिना लाग्नसक्छ । भौतिक संरचना, मेशिन सबैको क्षतिसहित ३४ करोड क्षति पुगेको अनुमान छ’–उनले भने । उनका अनुसार हिउँदमा १ करोड २० लाखको हाराहारीमा मासिक आम्दानी हुने गरेको थियो ।
वरुणको तुलनामा निगुरे हाइड्रोपावरमा भने क्षति कम छ । सामुदायिक शिक्षा विकास जलविद्युत प्रालिअन्र्तगको आयोजना सञ्चालक समितिका अध्यक्ष मुरारी खतिवडाका अनुसार इन्टेक र क्यानलमा एक करोड १० लाख बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । प्राविधिकबाट विस्तृत अध्ययन भएपछि मात्रै पुर्ण क्षतिको विवरण आउने उनले बताए । ‘खोलालाई पुरानौ धारमा फर्काउने प्रयास गर्दैछौं, पुर्ननिर्माणको लागि स्रोत पनि खोजी गरिरहेका छौं’–उनले भने ।
निगुरे नचल्दा तीन क्याम्पसमा आर्थिक संकट

वरुण सदरमुकाम खादबारीमा रहेकोले त्यहाँ विद्यार्थी संख्या बढी छ र आय पनि बढी नै छ । यसको तुलनामा मादी र संखुवासभा बहुमुखी क्याम्पसको आम्दानीको स्रोत कम छ । दुवैमा विद्यार्थी संख्या कम भएकोले आम्दानी पनि थोरै छ । तीन वटै सामुदायिक क्याम्पस भएकोले सरकारले सञ्चालन खर्च तथा अनुदान बजेट दिदैन । आफै जुटाउनुपर्छ । त्रिवि अनुदान आयोगले मात्रै बर्षमा ४÷५ लाख रुपैया पूर्वाधार निर्माण गर्न बजेट दिन्छ । ‘क्याम्पसको मुख्य आम्दानीको स्रोत नै यही आयोजना थियो, यो नै नचलेपछि आर्थिक संकटमा छ’–चैनपुरस्थित संखुवासभा बहुमुखी क्याम्पसका सहायक प्राध्यापक चन्द्रमणी दाहालले भने–‘कर्मचारी, प्राध्यापकको तलब, सञ्चालन दैनिक खर्च, पानी विजुली इतयादिको खर्च जुटाउन क्याम्पसलाई हम्मे छ ।’
यो आयोजना शुरुमा ०४२ सालतिर विद्युत प्राधिकरणले लगानी गरेर सञ्चालनमा गरेको थियो । पछि प्राधिकरणबाट लिएर पशुपति पावरले चलाएको थियो ।
०५९ मा तत्कालीन विद्रोही माओवादीले विष्फोट गराएपछि यो आयोजना ठप्प बनेको थियो । त्यसपछि तीन वटा क्याम्पस मिलेर सामुदायिक शिक्षा विकास जलविद्युत प्रालि गठन गरेर ०६० सालमा विद्युत प्राधिकरणसँगै २० बर्षे सम्झौता गरेर आयोजनालाई पुनः सञ्चालनमा ल्याएको थियो । मुहानदेखि पावरहाउससम्म करिब ५ सय रोपनी खेतीयोग्य जमिन जलविद्युतले प्रयोग गरेको हुनाले करिब २ सय घर किसानलाई पानी दिने सर्त छ । सञ्चालक समिति अध्यक्ष खतिवडाका अनुसार पावर हाउस सुरक्षित नै रहेकोले पोलिथिन पाइप लगाएर अस्थायीरुपमा आयोजना चलाउने प्रयास भइरहेको छ । ‘हाम्रो दुई वटा टर्वाइन छ, एउटा मात्रै चलाउन सक्यौ भने पनि १२०, १२५ किलोवाट विजुली उत्पादन गर्नसक्छौं भनेर जुटेका छौं’–उनले भने–‘जिविस, नगरपालिकादेखि उर्जा मन्त्रालय, प्राधिकरण र सिचाई मन्त्रालयसम्मलाई सहयोग गर्न अनुरोध गरेका छौं ।’
Comments
Post a Comment