सुवर्ण बने एमेच्योर गल्फ च्याम्पियन

धरान । दोस्रो सुनसरी टेक्निकल कलेज गल्फ एमेच्योर ओपन टुर्नामेन्टमा धरानका सुवर्ण लिम्बू च्याम्पियन बनेका छन् । निर्वाणा कन्ट्री क्लब गल्फ कोर्षमा बिहिबार आयोजित प्रतियोगितामा ह्याण्डीक्याप लेभल पार खेल्दै लिम्बू च्याम्पियन बनेका हुन् । १६ ह्याण्डी क्याप खेलाडी लिम्बूले विगत ८ महिनायता मात्रै गल्फ सिक्न थालेका हुन् । पार ७० को कार्षमा उनले फ्रन्ट नाइनमा १३ ओभर ४८ खलेका थिए भने ब्याक नाइनमा ३ ओभर ३८ स्कोर गरेका थिए ।
च्याम्पियनसँगै ह्याण्डीक्याप लेभर पार ७० खेलेका रमेश सुनुवार र विकास गुरुङ प्रतियोगितामा क्रमशः दोस्रो र तेस्रो । तीनै जना खेलाडीको समान स्कोर भएपनि ब्याक काउण्टको आधारमा पहिलो, दोस्रो र तेस्रो विजेता घोषणा गरिएको आयोजकले जनाएकोछ । ह्याण्डीक्याप लेभल पार ७० स्कोर भएका तीन खेलाडीले अन्तिम १८ औं होलको खेल प्रर्दशनको आधारमा विजेता घोषणा गरिएको व्यावसायिक खेलाडी देवराज पाख्रिनले जानकारी दिए । पार ४ को १८ औं होलमा च्याम्पियन लिम्बूले पार खेलेका थिए ।
च्याम्पियन बनेका लिम्बूले ८ महिनाको अवधिमा उपाधि ट्रफी जित्न सकेकोमा खुशी व्यक्त गरे । ‘वैदेशिक रोजगारीबाट फर्केर आएपछि ८ महिनादेखि गल्फ खेल्न थालेको हुँ, आज च्याम्पियन हुन पाउदा ज्यादै खुशी छुँ’–च्याम्पियन लिम्बूले भने । प्रतियोगितामा दोस्रो भएका रमेश सुनुवारले फ्रण्ट नाइनमा ८ ओभर ४३ र ब्याक नाइनमा ६ ओभर ४१ स्कोर खेलेका थिए । यस्तै, तेस्रो भएका विकास गुरुङले फ्रण्ट नाइनमा ९ ओभर ४४ र ब्याक नाइनमा ८ ओभर ४३ स्कोर खेलेका थिए । विजेताहरुले ट्रफीका साथै गिफ्ट ह्याम्पर पनि पाए ।
यसैगरि, प्रतियोगितामा महिलातर्फ २४ ह्याण्डीक्यापकी नोर्किन पाख्रिन विजेता भइन् भने ३६ ह्याण्डीक्यापकी खेलाडी सोफिया सुब्बा उपविजेता भइन् । विजेता नोर्किनले फ्रण्ट नाइनमा १२ ओभर ४७ स्कोर र ब्याक नाइनमा १७ ओभर ५३ स्कोर खेलेकी थिइन् । यस्तै, उपविजेता सोफियाले फ्रण्ट नाइनमा ३८ ओभर ७३ र ब्याक नाइनमा ४५ ओभर ८० स्कोर खेलेकी थिइन् ।
प्रतियोगितामा बेष्ट ग्रोसको पुरस्कार वविन्द्र राईले पाए भने लङ्गेष्ट ड्राइभको पुरस्कार सुवास राईले जिते । यस्तै, मोष्ट वर्डीको पुरस्कार काजी राई, नियरेष्ट टु दि पिनको पुरस्कार अर्जुन सुनुवार र मोष्ट बुगीको पुरस्कार डि.बि.राईले हात पारे । प्रतियोगिताका विजेता खेलाडीहरुलाई आयोजक धरान गल्फ क्लबका अध्यक्ष पुर्ण लिम्बू, प्रमुख अतिथि एवं कोशी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) यादवराज खनाल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठ, सुनसरी टेक्निकल कलेजका अध्यक्ष लेखिराज सुब्बा, निर्देशक सुनिता सुब्बा, सुनसरी गल्फ संघका अध्यक्ष डि.बि.राईलगायतले पुरस्कार वितरण गरेका थिए ।
सुनसरी टेक्निकल कलेजको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा विभिन्न स्थानका २८ जना एमेच्योर गल्फ खेलाडी सहभागी थिए । कार्तिक १७ गते पूर्वनिधारित प्रतियोगिता दिपावलीको कारण सार्नुपर्दा खेलाडी कम सहभागी भएको आयोजकले जनाएको छ । प्रतियोगिता आयोजना गर्न गत बर्ष सुनसरी टेक्निकल कलेज र क्लबबीच पाँच बर्षको लागि सम्झौता भएको थियो ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे