गोली प्रहार भएपछि संघीय र एमालेबीच तनाव

धरान । एमालेको भातृ संगठन युवा संघका एक जिल्ला नेताले संघीय समाजवादी पार्टीको नेतालाई गोली प्रहार गरेको अपुष्ट खबरले बिहिबार दिनभर धरान तात्तियो । गोली प्रहार भएको वलियो प्रमाण फेला नपरेपनि चुनावी दौडमा चर्को प्रतिस्पर्धी एमाले र संघीय समाजवादीबीचको द्धन्दले अप्रिय घटना निम्त्याउला कि भनेर सुरक्षा निकाय र सर्वसाधारणमा त्रास पनि छाएको थियो ।
यो घटनाले दुई पार्टीबीचको मनोवैज्ञानिक द्धन्दलाई सतहमा छताछुल्ल बनाएको छ । धरान ११, मंगलबारेका युवाहरुलाई बुधबार समाजवादीमा प्रवेश गराएको रिस फेर्न एमालेको भातृसंगठन युवा संघका जिल्ला सदस्य तथा नगर इञ्चार्ज दिवस राईले गोली चलाएको संघीय समाजवादी पार्टीको आरोप छ । बुधबार नै धरान ११ शान्तिचोकमा एमालेको कार्यालय नजिकै चुनावी सम्पर्क कार्यालय स्थापना गरेको र बिहिबार त्यस क्षेत्रमा शुरु गर्ने घरदैलो अभियान विथोल्न गोली चलाएको समाजवादीको आरोप छ ।

 समाजवादीका जिल्ला उपसचिव ताजुब लिम्बूका अनुसार पार्टीका जिल्ला उपाध्यक्ष पारस काङमाङ राई र क्षेत्रीय उपसचिव तथा सुनसरी क्षेत्र नं १ निर्वाचन परिचालन कमिटिका उपाध्यक्ष मदन तामाङलाई गोली प्रहार भएको थियो । दुवैले बिहिबार ज्यान मार्ने उद्योग र अवैध हतियार बोकेको बिषयमा प्रहरीमा दिवस राईविरुद्ध किटानी जाहेरी दिइसकेका छन् । धरान ११, शान्तिचोकमा बिहान करिब साढे ४ बजे क्षेत्रीय उपसचिव तामाङलाई र करिब ६ बजेतिर उपाध्यक्ष राईलाई गोली प्रहार भएको समाजवादीको आरोप छ । एमालेका युवाहरु अवैध हतियार बोकेर गुण्डागर्दीमा उत्रिएकोले जनतालाई सचेत गराउन र प्रशासनलाई कारबाहीको दबाब दिन भन्दै समाजवादीले बिहिबार सांकेतिक विरोधस्वरुप आधा चक्काजामसमेत गर्यो ।
‘एमालेका कार्यकर्ताहरुले गुण्डागर्दी शैलीमा हाम्रो नेता, कार्यकर्तामाथि गोली प्रहार भयो, त्यसैले जनतालाई सचेत गराउन केहीबेर चक्काजाम गरेका हौं’–समाजवादीका जिल्ला उपसचिव लिम्बूले भने । पहिलो पटक तामाङलाई गोली प्रहार भएपनि नपड्किएपछि उनी भाग्न सफल भएको र केही समयपछि घटनाबारे बुझन आएका पार्टी उपाध्यक्ष राईलाई गोली प्रहार गरेको उनले बताए । ‘उपाध्यक्षले छलेको हुनाले बच्नु भएछ, निर्वाचनको मुखमा भएको यो घटनाको भत्सर्ना गछौं, कानुनी कारबाहीको माग गछौं’–उनले थपे ।
धरान ११ शान्तिचोकमा मासु पसल रहेका समाजवादीका क्षेत्रीय उपसचिव तामाङ बिहान सुँगुर मारेर मासु काटिरहेको बेला युवा संघका जिल्ला सदस्य दिवस पसलमा आएर पार्टीको झण्डा निकालेर जलाईदिएपछि झगडाले उग्ररुप लिएको थियो । प्रत्यक्षदर्शी रेगन राईका अनुसार बिहानै मासु पसलमा आएका दिवसले पसलमा रहेको समाजवादीको झण्डा च्यातेर जलाएपछि विवाद चर्किएको थियो । ‘म पनि पसलमै थिएँ, दिवस आएर झण्डा जलाइदियो, त्यसपछि थुप्रै मान्छेहरु आए’–घटनाका प्रत्यक्षदर्शी उनले भने । घटनाबारे थप बुझ्न खोज्दा अन्य स्थानीय भने केही थाह नभएको बताउछन् ।
एमाले सम्बद्ध युवा संघका केन्द्रीय सदस्य हिमाल लिम्बूले भने एमालेको जित पक्का जस्तै भएकोले हराउनको लागि समाजवादीले प्रोपोगण्डा मात्रै गरेको दाबी गरे । ‘उल्टै हाम्रो पार्टीको झण्डा च्यातेर जलाएका छन्, र एमालेलाई हराउन गोली चलायो भनेर प्रोपोगण्डा मात्रै फैलाएको हो’–उनले भने । एमाले र समाजवादीका कार्यकर्ताबीच वादविवाद र झगडा भएपनि गोली चलेको बारेमा भने प्रमाण भेटन् नसकिएको डिएसपी टेकबहादुर तामाङले बताए । दिवसको घरमा दुई पटक छापा मारेपनि उनी फेला नपरेको उनले बताए । ‘जाहेरी आएको छ, घटनाबारे गम्भीरतापुर्वक अनुसन्धान गर्दैछौं, आरोपितको पनि खोजी तीब्र छ’–डिएसपी तामाङले भने ।
आरोपित युवा संघका जिल्ला सदस्य राई पूर्वलागुऔषध प्रयोगकर्ता हुन् । उनले रिकभरिङ धरान नामको संगठन हुँदा गुण्डागर्दी र पैसा असुली गरेर अकुत सम्पत्ति कमाएका थिए । प्रहरीले रिकभरि संगठन तहसनहस पारेपछि राजनीतिक संरक्षण खोज्दै एमालेमा प्रवेश गरेका थिए । एमालेमा छिरेपछि पनि उनको ‘डन रवैया’ रोकिएको थिएन । घटनालगत्तै प्रहरीले घटनास्थलमा वेवारिसे अवस्थामा छोडको घटनाका आरोपित दिवस राईको बा २ च ९७४५ नम्बरको क्लासिक जिप नियन्त्रणमा लिएको छ । उनी भने फरार छन् । यो गाडी दिवस र उनका सर्मथकहरुले प्रयोग गर्ने गर्थे भने अहिले निर्वाचन प्रचारप्रसारको लागि एमालेले प्रयोग गर्दै आइरहेको थियो । 

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे