प्रहरीको ‘स्कर्टिङ’मा फरार अभियुक्त
धरान । कालो रंगको पेन्ट, कलेजी सर्टमाथि कालो रंगको स्टकोट । टाउकोमा युवा संघको झण्डाअंकित भादगाउँले टोपी । नेकपा एमालेले बिहिबार धरानमा मोटरसाइकल र्याली निकाल्दा यी युवाको निक्कै चुरीफुरी थियो । आफ्ना ‘भाईहरु’लाई उनी यसो गर, उस गर भन्दै कडा निर्देशन दिइरहेका थिए ।पब्लिक उच्चमाविको मैदानबाट निस्किएको र्यालीको अन्त्यतिर उनी रोयल इन्फिल्ड बुलेट बाइक हाकेर र्यालीमा मिसिए । यी युवा अरु कोही नभएर दुई साताअघि धरान ११ शान्ति चोकमा पेस्तोल पड्काउने युवा संघका जिल्ला सदस्य एवं नगर इञ्चार्ज दिवस राई हुन् । ज्यान मुद्दा र अवैध हातहतियार बोकेको अभियोगमा किटानी जाहेरी परेपछि उनी प्रहरीको नजरमा फरार अभियुक्त हुन् । तर, बिहिबार भने उनी प्रहरीकै ‘स्कर्टिङ’मा खुलेआम मोटरसाइकलमा बजार डुले । प्रहरीले भने उनलाई नदेखेझै गर्यो ।
उनीमाथि दुई साताअघि कार्तिक १४ गते बिहान संघीय समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष पारस काङमाङ र क्षेत्रीय कमिटिका उपसचिव मदन तामाङलाई गोली प्रहार गरेको अभियोग छ । दुवैले सोही दिन प्रहरीमा उजुरी दिएका थिए । तर, प्रहरीले उनलाई अहिलेसम्म पनि समात्न सकेको छैन । समाजवादीले फरार सुचिमा रहेका राईलाई खोजी जारी राखेको बताउने गरेपनि बिहिबार खुलेआम मोटरसाइकल र्यालीमा निस्कदा पक्राउ गर्न प्रहरीले हिम्मत गरेन । समाजवादीले भने प्रहरीले नै अभियुक्तको संरक्षण गरेको अरोप लगाउने गरेको छ । बिहिबारको दृष्यले उसको आरोपलाई वल दिएको थियो । ‘प्रहरीले खोजी गर्दैछौं भन्छ, तर बजारमा खुलेआम हिड्दा पनि पक्राउ गर्दैन, प्रहरीकै संरक्षणमा छ’–समाजवादीका जिल्ला उपसचिव ताजुब लिम्बूले भने ।मोटरसाइकल र्यालीमा अभियुक्त राई सामेल भएको थाह पाएपछि समाजवादीले धरानका डिएसपी, सुनसरीका एसपी र एसएसपीलाईसमेत फोन गरेर पक्राउ गर्न दबाब दिएका थिए । तरपनि प्रहरीले नसुनेझै गर्यो । मोटरसाइकल र्यालीको ‘स्कर्टिङ’मा प्रहरी निरीक्षक मुकुन्द रिजालको कमाण्डमा प्रहरी टोली खटिएको थियो । उनले फरार अभियुक्त राई र्यालीमा आएको सुचना पाएपनि आफु अगाडि ‘स्कर्टिङ’मा रहेकोले नदेखेको बताए । ‘म अगाडि ‘स्कर्टिङ’मा छुँ, त्यसैले पछाडि को को छ,देखेको छैन’–प्रहरी निरीक्षक रिजालले भने–‘देखियो भनेपनि ठुलो मास छ, पक्राउ गर्न अलिक गाह्रो छ ।’ इलाका प्रहरी कार्यालयका डिएसपी टेकबहादुर तामाङले भने फोन उठाएनन् ।
धरान ११, मंगलबारेका युवाहरुलाई समाजवादीमा प्रवेश गराएको र घरदैलो गर्ने तयारी गरिरहेको बेला कार्तिक १४ गते बिहिबार बिहानै समाजवादीका नेतामाथि गोली प्रहार भएको थियो । गोली चलेको प्रमाण खोका नभेटिएपछि एमालेले भने समाजवादीले प्रोपोगण्डा बनाएको प्रतिक्रिया दिएको थियो । घटनास्थलबाट प्रहरीले आरोपित राईको बा २ च ९७४५ नम्बरको क्लासिक जिप नियन्त्रणमा लिएको थियो । उक्त गाडीलाई प्रहरीले आइतबार छोडिदिएको थियो । सोमबार पुनः धरानका पत्रकार गोपाल देवानलाई लक्षित गरेर विश्वस्त सुत्र साप्ताहिकको कार्यालयमा पनि गोली प्रहार भएको थियो । प्रहरीले यस घटनाका दोषीलाई पनि समात्न सकेको छैन ।
Comments
Post a Comment