एक युगमा दोस्रो पटक आएको दिन(फोटोफिचर)


संविधानसभाको चुनाव एक युगमा एक पटक आउछ भनिन्थ्यो । नेपालमा भने यो ऐतिहासिक अवसर दुई पटक आयो । दुवै पटकको निर्वाचनमा मैले पनि मतदान गर्ने ऐतिहासिक अवसर पाए । पहिलो संविधानसभाको जन्म र अवसानको साक्षी म पनि बनेको छुँ । हिजो अर्थात मंसिर ४ गते पुनः संविधानसभाको दोस्रो पटक निर्वाचन सम्पन्न भयो । संविधानसभा निर्वाचनलाई बहिष्कार गरेको नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले चुनाव अघि विभिन्न स्थानमा नियमित बम आंतक र हिंसाका घटनाहरु गराएपनि सर्वसाधारण मतदाताहरुले उत्साहका साथ मतदान गरे । आश्चर्यजनकरुपमा यो निर्वाचनमा इतिहासमै अहिलेसम्मको सबैभन्दा बढी ७० प्रतिशतभन्दा बढी मत खस्यो । भोट हाल्न म बिहान करिब सवा ७ बजेतिर धरान ८ स्थित शहीद स्मृति माविको मतदान केन्द्र पुग्दा त अघि नै पो मतदाताहरु लामवद्ध भइसकेका थिए । मैले आशा गरेविपरीत म निक्कै पछाडि लाइनमा उभिनु पर्यो ।
संविधानसभाको मुद्दा कस्ले उठायो ? दलहरुको आआफ्नै जिकिर छ । दलहरुको जिकिर जे सुकै होस्, तत्कालीन माओवादी जनयुद्ध, ज्ञानेन्द्रको शाही कु र दोस्रो जनआन्दोलनले संविधानसभा र गणतन्त्रको आधार तय गर्यो । विश्वकै उत्कृष्ट भनिएको ०४७ सालको संविधान खारेज गरियो । नेपाली जनताको म्याण्डेड लिदै जनप्रतिनिधिहरुले संविधानसभामार्फत अढाई सय बर्षको लामो इतिहास बोकेको राजतन्त्र फालियो । त्यो पनि विश्वलाई चकित पार्दै विनारक्तपात शान्तिपुर्ण प्रक्रियाबाट । यो अर्को महत्वपुर्ण घटना थियो ।
पहिलो संविधानसभाको पहिलो बैठकबाटै महत्वपुर्ण बिषयहरुमा सहमति र निर्णयहरु भएपनि त्यसपछि भने संविधानसभाको भुमिका प्रभावकारी हुनसकेन । संविधानसभा राजनीतिक दल र दलका केही शीर्ष भनिएका नेताहरुको इसारामा मात्रै चल्न थाल्यो । जनताले तोकिएको समयमा संविधान पाउन सकेनन् । खासगरि, राष्ट्रपति कस्लाई बनाउने भन्ने बिषयमा सहमति नभएपछि अंकगणितको खेलमा दलहरु लागे । जसले संविधानसभालाई सत्ता प्राप्तीको एउटा साधनमात्रै बनाइदियो । कसैको पनि बहुमत नरहेको अवस्थामा दलहरु सहमतिमा अघि बढ्नुपर्ने थियो । अन्तरिम संविधानमा पनि सहमतिमा नै अघि बढ्नुपर्ने व्यवस्था गरिएको थियो । तर, दलहरुले अन्तरिम संविधानलाई नै संसोधन गर्दै बहुमतिय खेलमा लागे । जसको दुष्परिणामः दुई बर्षभित्र संविधान दिने वाचा गरेका दलहरुले अन्ततः ५ बर्षसम्म पनि जनतालाई संविधान नदिई अवसन गराए ।
दलहरुबीच मुख्य तीनवटा बिषयमा अन्तिम समयसम्म पनि सहमति हुन सकेन । मुलुकलाई संघीयतामा लैजादा कतिवटा प्रदेश वा राज्यमा लैजाने, ती राज्यको नामांकन एकल पहिचान कि बहुपहिचानको आधारमा गर्ने र शासन प्रणाली कस्तो हुने भन्ने बिषयमा सहमति हुन नसक्दा नै ऐतिहासिक संविधानसभाको अवसन हुनपुग्यो । अहिले फेरि संविधानसभाको निर्वाचन भइसकेको छ । तर, यी बिषयहरु जुन ठाउँमा सहमति नभएर छोडिएको थियो, अहिले पनि त्यही स्थानमा छ । तत्काल दलहरुबीचमा सहमतिको सम्भावना पनि छैन । घोषणापत्र हेर्दा दलहरु आआफ्नै अडानमा छन् ।
चुनावको मतगणना आज बुधबारदेखि नै शुरु हुदैछ र भोली बिहिबारभित्रमा देशभरि कुन पार्टीले अग्रता कायम गर्नेछ भन्ने थाह हुनेछ । अग्रत जुनै पार्टीले लिउन्, बहुमत जुनै पार्टीको होस, जनताले मुलुकमा स्थायी शान्ति, राजनीतिक स्थिरता अनि संविधान चाहेका छन् । मंगलबार सम्पन्न भएको मतदानमा उत्साहजनकरुपमा भएको सहभागिताले राजनीतिक दलहरुलाई सर्वसाधारण मतदाताहरुले यही सन्देश दिएका हुन् । निर्वाचनअघि दलका शीर्ष नेताहरुले भन्ने गर्थे, सहमति भयो भने ६ महिनाभित्रै संविधानको मस्यौदा र एक बर्षभित्र पुर्ण संविधान जनताको हातमा पुर्याउछौं । जनताले आफ्नो अभिमत प्रकट गरिसकेका छन्, अब आफ्नो प्रतिवद्धता पुरा गर्ने पालो राजनीतिक दलहरुको हो । 























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे