एमाले कार्यालयमा समाजवादी जिन्दावादको नारा

धरान । शुक्रबार बिहान एमाले वडा १७ को निर्वाचन परिचालन कमिटिको कार्यालयको ब्यानर कुच्याएर फालेको र पार्टी झण्डा जलेको अवस्थामा थियो । कार्यालयको बन्द सटरमा चुनावी प्रतिस्पर्धी दलको नारा संघीय समाजवादी जिन्दावाद ! लेखिएको थियो ।
घटनाबारे तत्कालै एमाले नेता र प्रहरीमा खबर पुग्यो । बुझ्दै जादा त्यहाँ मात्रै होइन रहेछ, एमाले वडा ११ र वडा १६ को कार्यालयमा पनि त्यही प्रकृत्तिको घटना भएको रहेछ । अघिल्लो दिन संघीय समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष र सुनसरी १ नम्बर क्षेत्रीय उपसचिवमाथि एमाले युवा संघका जिल्ला नेताले गोली प्रहार गरेको अपुष्ट घटनाले दुवै पार्टीबीच तनाव सृर्जना भएको थियो । भोलीपल्टै एमाले कार्यालयमा भएको श्रृंखलावद्ध घटना समाजवादी पार्टीले गराएको आशंका जन्मियो । एमाले नेता, कार्यकर्ताहरुले त्यही आरोप लगायो ।
तर, अघिल्लो दिनको गोली प्रहार घटना जसरी पुष्टि हुन सकिरहेको छैन, शुक्रबार एमाले कार्यालयमा भएको श्रृंखलावद्ध घटना पनि कस्लो गराएको भन्नेमा अन्यौलता छाएको छ । ‘झण्डा जलाएको, ब्यानर ज्यातेको घटना समाजवादीले पनि गरेको हुनसक्छ, वा अघिल्लो दिनको दुवै पार्टीको तनावबाट फाइदा लिन तेस्रो कुनै समुहले दुवै पार्टीलाई आपसमा भिडाएको पनि हुनसक्छ’–इलाका प्रहरी कार्यालय धरानका डिएसपी टेकबहादुर तामाङले भने–‘गोली प्रहारदेखि एमाले झण्डा जलाएको सबै घटनाको छानबीन हुन्छ, हामीले दुवै पार्टीलाई संयमित हुन भनेका छौं ।’
एमालेको वडा १७ कार्यालय नजिकका कुखुरा मासु व्यावसायी तथा घटनाका प्रत्यक्षदर्शीका अनुसार मध्यरातमा मास्क लगाएर मोटरसाइकलमा आएका ३ जना युवाहरुले घटना गराएका थिए । घटना गराएपछि उनीहरुले नारा लगाउदै भागेका थिए । वडा ११ को कार्यालयमा समाजवादीको झण्डा राखिएको अवस्थामा भेटिएको थियो भने वडा १६ को मा झण्डा च्यातेको, बोर्ड फालिएको र समाजवादी जिन्दावादको नारा लेखिएको थियो । तीन स्थानमा नै एकै प्रकृत्तिको घटना भएको हुनाले एउटै समुहले गराएको प्रहरी अनुमान छ ।
एमालेले शुक्रबार बेलुकी पत्रकार सम्मेलन गरेर ती घटना समाजवादी पार्टीले गराएको आरोप लगायो । ‘एमालेको विजय सुनिश्चित देखेर संघीयका केही व्यक्तिहरु अत्तालिएका छन् र यही छटपटिले ग्रसित मानसिकता बोकेर एमालेको प्रचार कार्यालयमा क्षति पुर्याउने, झण्डा ब्यानर जलाउने र इनामेल रंग प्रयोग गरि हाम्रो पार्टी विरुद्धका नारा लेख्ने घृणित कर्म गरेको छ’–एमालेद्धारा वितरित प्रेस विज्ञप्तीमा भनिएको छ । समाजवादीका केन्द्रीय सदस्य एवं सुनसरी जिल्ला इञ्चार्ज भिम राईले भने आरोप अस्वीकार गर्दै बिहिबारको गोली काण्डबाट प्रहरीप्रशासनको ध्यान अन्तै मोड्न एमाले आफैले ती घटना गराएको दाबी गरे । ‘गोली काण्डमा फसिने निश्चित भएपछि एमाले आफैले ती घटना गराएको हो, हाम्रा कार्यकर्ताहरु त्यस्तो निकृष्ट काम गर्दैनन्’–उनले भने–‘हाम्रो कुनै एक कार्यकर्ता ती घटनामा संलग्न भएको प्रमाणित हुन्छ भने हामी प्रहरीमा बुझाइदिन्छौं ।’
........................

कार्यकर्तालाई संयमित राख्न आग्रह

सुनसरी क्षेत्र नम्बर १ मा तीब्र प्रतिस्पर्धी रहेको एमाले र संघीय समाजवादीबीच बिहिबार र शुक्रबार निरन्तर तनाव सृर्जना भएपछि प्रहरी प्रशासनले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ ।
अघिल्लो दिन गोलीकाण्ड र मध्यरातमा एमालेको तीन वडाको प्रचार कार्यालयमा झण्डा आगजनीलगायतको घटना भएपछि अप्रिय घटना हुन नदिन शुक्रबार दिउसो दुवै पार्टीका नेताहरुबीच इलाका प्रशासन कार्यालयमा छलफल भएको थियो । ‘दुवै पार्टीका नेताहरुलाई आफ्ना कार्यकर्ताहरुलाई उत्तेजित नबनाई संयमित राख्न बिशेष आग्रह गर्यौं’–डिएसपी तामाङले भने–‘हामी बिहिबार र शुक्रबार दुवै घटनालाई गम्भीरतापुर्वक छानबीन गरिरहेका छौं, त्यसैले कुनै अप्रिय घटना नहोस भन्ने चाहन्छौं ।’
छलफलमा एमालेको तर्फबाट जिल्ला सदस्य पदम इस्पो र सुनसरी क्षेत्र नम्बर १ का अध्यक्ष इन्द्र राई सहभागी थिए भने समाजवादीकातर्फबाट जिल्ला उपसचिव ताजुब लिम्बू थिए । ‘कार्यालयको झण्डा जलाउने, ब्यानर च्यात्ने घटनाप्रति हाम्रो पनि खेद छ, त्यस्तो हुनुहुदैन थियो’–समाजवादीका उपसचिव लिम्बुले भने–‘छलफलमा दुवै पक्ष संयम राख्ने र घटनामा छानबीन गर्न प्रहरीमा सघाउने भनेर सहमति भएको छ ।’
.............
               
एमालेद्धारा गोली काण्डको बचाऊ

संघीय समाजवादी पार्टीको नेतामाथि बिहिबार बिहानै गोली प्रहार भएको आरोपमा एमालेले भने आरोपित युवा संघका जिल्ला सदस्य दिवस राईको बचाउ गरेको छ । एमाले नगर अध्यक्ष तारा सुब्बाले घटनामा युवाहरुबीच झगडा भएपनि गोली प्रहार नभएको दाबी गर्दै झुटो आरोपको आधारमा प्रहरीले घरमा खानतलासी गरेको भन्दै विरोध जनाए । साथै, घरमा पार्किङ गरेको गाडी प्रहरीले नियन्त्रणमा लिएको दाबी गर्दै त्यसघटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए ।
तर, आरोपित दिवस निर्दोष भए उनी आफै उपस्थित भएर घटनाबारे किन प्रष्ट नपारेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा भने एमाले नेताहरुले चित्त बुझ्दो जवाफ दिन सकेनन् । ‘आरोप त जस्ले जे पनि लगाउछन् नि, प्रमाण पनि त पुग्नु पर्यो नि’–एमाले जिल्ला सदस्य तथा १ नम्बर क्षेत्रीय इञ्चार्ज रमेश बस्नेतले भने–‘यो फौजदारी अभियोगअन्र्तगत मुद्दा चल्छ, प्रमाण पुर्याएर कार्बाही गर्नुस भनिदिएका छौं ।’ तर, नेताहरुले आरोपित दिवस कहाँ छन् र किन मिडिया सामु उपस्थित भएर घटनाको वास्तविकता बताउदैनन् भनेर बताएनन् ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे