डिजिटल मुल्यसुचिले कार्टेलिङ नियन्त्रण
धरान । कृर्षिजन्य उत्पादनको मुल्यमा एकरुपता ल्याउन धरान १३ स्थित कृर्षि उपज बजारस्थलमा डिजिटल मुल्यसुचिको बोर्ड राखिएको छ । बजारस्थाललाई किसानमैत्री बनाउने लक्ष्य लिएर व्यावसायिक कृर्षि विकास आयोजना(सिएडिपी)को सहयोगमा बजार सञ्चालक समितिले डिजिटल मुल्यसुचि राख्न थालेको हो ।
करिब बर्ष दिनअघिदेखि डिजिटल मुल्यसुचि सञ्चालनमा आएपछि मुल्यमा व्यापारीहरुको ‘कार्टेलिङ’ पनि रोकिएको छ । यसको प्रत्यक्ष फाइदा किसान, खुद्रा व्यापारी र उपभोक्ताहरुले उपभोग गर्न पाएका छन् । किसानहरुका अनुसार डिजिटल मुल्यसुचि भएपछि बजारस्थलमा चलेको भाउ थाह हुन्छ । जसले गर्दा किसानहरु ठगिनेबाट जोगिन्छन् । विगतमा डिजिटल मुल्य सुचि नहुदा किसानहरुले चलेको भाउ थाह नपाउदा विचौलिया व्यापारीहरुले धेरै मुनाफा कमाउने गर्थे ।
‘पहिला बजार भाउ के कति छ भन्ने थाहै हुदैनथ्यो, यही ल्याउदा पनि हामीले सस्तोमा बिक्री गर्नुपथ्र्यो’–कृर्षि उपज बजारस्थलमा भेटिएका खोकु ५, धनकुटाका किसान विवेक राईले भने–‘अचले यहाँको डिजिटल सुचि हेरेर त्यही भाउ अनुसार व्यापारीहरुलाई बिक्री गछौं ।’ किसानहरुले यही सुचि हेरेर थोक बिक्रेतालाई ५ देखि १० प्रतिशतसम्म नाफा दिएर कृर्षिजन्य उत्पादन बिक्री गर्छन् । थोक बिक्रेताहरुले पनि खुद्रा व्यापारी र धेरै परिणाममा किनमेल गर्न आउने उपभोक्ताहरुलाई जथाभावी मुल्यमा बिक्री गर्न पाउदैनन् । कृर्षि उपजमा सर्वसाधारण उपभोक्ताहरुले ५ केजीभन्दा माथि खरीद गर्न पाउछन् ।


कृर्षि उपजमा भएको डिजिटल बोर्ड व्यावसायिक कृर्षि विकास आयोजना(सिएडिपी)को सहयोगमा राखिएको हो । सिएडिपीले बोर्डसँगै सोलार प्रविधि पनि सहयोग गरेकोले लोडसेडिङ हुदा पनि किसान, व्यापारीहरुले मुल्यसुचि हेर्न पाउछन् । कम्प्युटर र इन्टरनेट सेवा पनि सिएडिपीको सहयोगमा नै उपलब्ध भएको हो । यसबाहेक, बजारस्थल आफैले किसान र व्यापारीहरुलाई सजिलो बनाइदिन निःशुल्क दुई वटा डिजिटल काटा पनि राखिदिएको छ ।
(०७० मंसिर १३ गतेको नागरिक दैनिकमा प्रकाशित)
Comments
Post a Comment