दश करोडको लगानीमा धरानमा पहिलो निजी अस्पताल

धरान । निजी क्षेत्रको लगानीमा धरानमा पहिलो सुविधासम्पन्न अस्पताल सञ्चालनमा आएको छ । विजयपुर अस्पताल प्रालिले धरान १०, पुतलीलाइनमा सञ्चालनमा ल्याएको अस्पताल यहाँको निजी क्षेत्रको पहिलो र ठुलो अस्पताल हो ।
प्रालिका अनुसार एक सय शैया क्षमताको यो अस्पतालमा हालसम्म १० करोड लगानी भइसकेको छ भने थप ३ करोड लगानी हुनेछ । प्रालिले शनिबार पत्रकार सम्मेलन गरेर अस्पतालमा नाक,कान,घाटी रोग विशेषज्ञ सेवा र बाल तथा नवजात रोग बिशेषज्ञको नियमित ओडिपी सेवा सञ्चालनमा ल्याइसकेको जानकारी दिएको छ । प्रालिका अध्यक्ष पंकज खतिवडाका अनुसार मंसिर पहिलो सातादेखि दैनिकरुपमा छाला रोग विशेषज्ञ सेवासमेत थप हुनेछ । यो अस्पताल सञ्चालनमा आएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हुने विरामीको चापलाई पनि कम हुने उनले आशा व्यक्त गरे ।
‘निजी क्षेत्रको यो अस्पताल सुनसरीको ठुलो र धरानको पहिलो हो, नेपाल सरकारले तोकेको नियम पुरा गर्दै आफ्नै जग्गामा १०० शैया सञ्चालन गर्न आवश्यका भौतिक पूर्वाधार, स्वास्थ्य उपकरणहरुसमेत पुरा भइसकेको छ’–अध्यक्ष खतिवडाले भने–‘यस अस्पतालले यहाँ आउने विरामीहरुलाई छिटोभन्दा छिटो र सस्तो मुल्यमा गुणस्तरीय सेवा प्रदान गर्नेछ, यसले बीपी प्रतिष्ठानको विरामी चापलाई पनि कम गराउनेछ ।’
उनका अनुसार अस्पतालमा हाल कान्ति बाल अस्पताल काठमाण्डौंबाट आएका डा.प्रल्हाद न्यौपानेले बाल तथा नवजात रोगको सेवा दिइरहेका छन् भने डा. रवि शाक्यले मानसिक रोग, डा. रोशन आचार्यले नाक,कान,घाँटी रोगको सेवा दिइरहेका छन् । यस्तै, डा. रजनी अग्रवालले छाला रोग बिशेषज्ञकोरुपमा सेवा दिने प्रालिले जनाएको छ । यसैगरी, अटोमेटिक कम्प्युटराइज मेशिनबाट ल्याब सेवा, फार्मेसी सेवा, एक्स रे सेवा, इसिजि सेवा सञ्चालनमा गरेको जनाएको छ । मंसिर महिनाभित्रै अस्पतालमा बाल तथा नवजात शिशुको लागि विरामी भर्ना, एनआइसियु, पिआइसियु जस्ता विभाग पनि सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको अध्यक्ष खतिवडाले बताए । ‘मंसिर महिनाभित्रै जनरल फिजिसियन सेवा, स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा, हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ सेवा, एनेस्थेसियालोजिष्टसहित आइसियु, सिसियु र दुई वटा जटिल शल्यक्रिया गर्न मिल्ने मेजर अप्रेशन थिएटरको पनि सञ्चालनमा ल्याइनेछ’–अध्यक्ष खतिवडाले भने । यसको लागि सेन्टर अक्सिजन र सेन्टर भ्याकुम सप्लाईको व्यवस्थासमेत भइसकेको उनले बताए ।
अस्पतालले आफ्नै स्रोत र साधानबाट भविष्यमा विभिन्न स्वास्थ्यसँग सम्बन्धित शैक्षिक कार्यक्रमहरु पनि सञ्चालन गर्ने लक्ष्य लिएको छ । यसैगरि, मंसिरबाट यहाँ डिजिटल एक्स रे, भिडियो एक्स रे, २४ सै घण्टा प्याथोलोजी सेवालगायत इमरजेन्सी सेवा थप गरिने अस्पतालको भनाई छ । पुष दोस्रो सातादेखि २४ सै घण्टा एम्बुलेन्स सेवा शुरु गर्ने र शुरुमा ३ वटा र पछि थप तीन गरि जम्मा ६ वटा भेन्टीलेटर मेशिनसमेत रहने प्रालिले जनाएको छ । वडा समितिहरुमा सर्वसाधारणहरु जुटाइदिए अस्पतालका चिकित्सकहरुबाट निःशुल्क सेवा दिने प्रालिले जनाएको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे