प्रहरी र सर्वसाधारणलाई हैरान बनाउने नक्कली सिआइडी पक्राउ

  धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेक्युरिटी गार्ड रहेका धरान ८ निवासी श्रीहाङ सुब्बा गत भाईटिकाको रात साइकलमा ड्युटी जादै थिए ।
करिब सवा ९ बजेतिर धनकुटे रोड सिद्धार्थ मार्ग पुगेपछि एक व्यक्तिले रोके । ती अपरिचित युवाले आफु प्रहरीको सिआइडी भएको परिचय दिदै मापसे चेक गर्ने भन्दै लामो स्वास फेर्न लगायो । त्यसपछि, मापसे गरेको आरोप लगाएर सुब्बाको घडि, मोवाइल, र ५ हजार बढी रकम रहेको पर्स कब्जामा लिएर इलाका प्रहरी कार्यालय आउन भन्दै बाटो लाग्यो । साइकलमा मापसे चेक गर्ने भन्दा छक्क परेका सुब्बा प्रहरी कार्यालय पुगेपछि पो चाल पाएछन्, उनी त लुटिएका पो रहेछन् । ‘रातको समयमा पुलिसको सिआइडी भन्यो । घडि मोवाइल, पर्स लिएर इलाका आउनु भन्दै हिड्यो’–सोमबार इलाकामा भेटिएका सुब्बाले भने–‘यहाँ आएपछि पो थाह भयो, म त लुटिएको पो रहेछु ।’
नक्कली सिआइडीको चंगुलमा फसेर लुटिइने सुब्बा एक जना मात्रै थिएनन् । आफ्नै संगठनको नाम भजाएर सर्वसाधारणलाई लुटपाट गर्न थालेपछि प्रहरीलाई पनि टाउको दुखाई बनिसकेको थियो । लुटपाट गर्न माहिर तिनै धरान ८ का सुविर गुरुङ सोमबार चोरीको मोटरसाइकलसहित समातिएका छन् । कार्तिक २१ गते बिहान युवा संघका सुनसरी १ नम्बर क्षेत्रीय कोषाध्यक्ष हेमन्त राईको को १३ प ३४५५ नम्बरको मोटरसाइकल पनि चोरी भएको थियो । त्यही मोटरसाइकल खोजी गर्ने क्रममा युवाहरुले गुरुङलाई मोटरसाइकलसहित फेला पार्न सफल भयो ।
अभियुक्त गुरुङ समातिएको खबरले सोमबार प्रहरी कार्यालयमा पीडितहरुको भिड नै लाग्यो । ‘चार जनाले त जाहेरी नै दिइसक्नु भएको छ, अरु थुप्रै पीडितहरुले पनि फोनमा सम्पर्क गरिराखेका छन्’–प्रहरी निरीक्षक ओमप्रकाश खनालले भने–‘अनेक उपाय रच्दै धेरैलाई लुटेको थियो ।’ हुन त अभियुक्त गुरुङ यसअघि पनि प्रहरीको फन्दामा परेका थिए । मोवाइल लुटेको आरोपमा समातिएका उनी दशैंअघि मात्रै धरौटीमा रिहा भएका थिए । यसपटक भने चोरीको सवारीसहित समातिएको र धेरै पीडितहरुबाट उजुरी आएकोले कडा कारबाही गरिने डिएसपी टेकबहादुर तामाङले बताए । ‘जर्बजस्ती चोरीमा मुद्दा चलाएर कारबाही हुन्छ’–उनले भने ।
अभियुक्तको साथबाट चोरीको मोटरसाइकलसँगै को १० प ७१९१ नम्बरको स्कुटी पनि वरामद भएको प्रहरीले जनाएको छ । यस्तै, नगद १४ हजार ३ सय, सिद्र्धथ बंैकको १० हजारको चेक, ४ वटा मोवाइल, २ वटा घडि र ५ वटा चादीको चुरा पनि वरामद भएको प्रहरीले जनाएको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे