सिसिटिभी मुनि कुकर बम, तर मान्छे चिन्न गाह्रो

धरान । सुनसरी उद्योग बाणिज्य संघले स्वर्ण जयन्तीको अवसरमा धरानको मुख्य बजार क्षेत्रमा सुरक्षा निगरानी बढाउन भन्दै शक्तिशाली दश वटा सिसिटिभी क्यामेरा राखेको थियो । बिहिबार बिहान कलेज रोडको त्यही सिसिटिभी क्यामेरा मुन्तिर अज्ञात समुहले प्रेसर कुकर बम राखेर गएको देखिएपनि ती को थिए भनेर प्रहरीले चिन्न सकेन ।
सिसिटिभीको रेकर्डमा ३ बजेर १७ मिनेट जादा स्कुटीमा आएका दुई व्यक्तिले बम राखेर गएको देखिएको थियो । ती व्यक्तिले मास्क लगाएका थिए । हत्तारमा आएर बम राख्नु बित्तिकै उनीहरु बाटो लागेका थिए । उनीहरुको गतिविधि प्रष्ट देखिएपनि स्कुटी नम्बर र मान्छे भने चिन्न नसकिएको प्रहरीले जनाएको छ । विजुलीको पोलमा राखिएको ठुला बत्तिको प्रकाश सिसिटिभीमा पर्दा राम्रोसँग कैद हुन नसकेको प्रहरीको भनाई छ । ‘सिसिटिभीमा ३ बजेर १७ मिनेटतिर स्कुटीमा आएर बम राखेको फुटेज छ, तर मान्छे चिन्नै गाह्रो छ’–डिएसपी टेकबहादुर तामाङले भने ।
वाणिज्य संघले धरानको भानुचौकदेखि छाता चौकसम्मको सडक खण्डमा राखेको सिसिटिभी क्यामेराले २ सय मिटरसम्मको दृष्य कैद गर्ने क्षमता राखेको बताएको थियो । ती सिसिटिभीको कन्ट्रोल रुम भानुचौकस्थित वडा प्रहरी कार्यालयमा राखिएको छ । बजारको मुख्य क्षेत्रमा सुरक्षा निगरानी बढाउन राखिएका ती सिसिटिभी क्यामेराको फुटेजमा नै मान्छे चिन्न नसक्दा सिसिटिभीको औचित्यमाथि प्रश्न चिन्न खडा भएको चर्चा चल्यो । त्यतिमात्रै होइन, कन्ट्रोलरुम प्रहरी कार्यालयमा नै राखिएको र त्यहाँ हरदम डिउटीमा रहेका प्रहरीले निगरानी गर्नुपर्नेमा बम राख्दा भने उनीहरुले देखेनन् । यदि बम राख्दै गरेको दृष्य तत्कालै देख्न सकेको भए प्रहरी परिचालन भएर समात्न सकिने सम्भावना थियो ।
बिहिबार झिसमिसे उज्यालो नहुदै धरानमा बम आतंक छाएको थियो । धरानको विभिन्न चार स्थानमा एक पछि अर्को बम फेला परेपछि सर्वसाधारणहरु त्रसित बनेका थिए । मार्निङ वाकमा निस्केका सर्वसाधारणहरुले सडकमा ‘डन्ट टच, बम’ लेखिएको देखेपछि प्रहरीमा खबर गरेका थिए । धरान १३ जिरोप्वाइन्ट, धरान ५ कलेज रोडको मुखैमा र धरान ८ स्थित साम्पाङ्ग चौकमा प्रेसर कुकर बम फेला परेको थियो भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने सिद्धार्थमार्ग सकेट बम फेला परेको थियो । एकै पटक चार स्थानमा बम फेला परेको खबर फैलिएपछि त्राससँगै हेर्न आउनेको घुइचो भएको थियो । सुरक्षाकर्मीहरुलाई सर्वसाधारणको भिडलाई व्यावस्थापन गर्नै हम्मे पर्यो ।
चार वटामध्ये तीन वटा प्रेसर कुकुर बम कोशी राजमार्गको धरान–धनुकटा सडकखण्डमा राखिएको थियो । सिद्धार्थ मार्गको सकेट भने सडक किनारको ड्रेनमाथि अडिएको थियो । चारै स्थानको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो । टोलीले करिब पौने ९ बजेसम्म चार वटै कम डिस्पोज गरेको थियो । प्रहरीका अनुसार चार स्थानमा राखिएका बमले ठुलो क्षति पुर्याउने थिएनन् । सर्वसाधारणहरुलाई तर्साउने उद्देश्यले मात्रै ती बम राखिएको हुनसक्ने डिएसपी टेकबहादुर तामाङले बताए । ‘साबुनको डल्ला, काठको धुलो र माटो पनि राखिएको थियो । जनतालाई आतंकित बनाउने उद्देश्यले मात्रै राखिएको हो’–उनले भने ।
निर्वाचन बहिष्कारको घोषणा गरेर आमहड्ताल र बन्दमा उत्रिएको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले बम राखेको अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुमको गाडी तोडफोडको आरोपमा नेकपा–माओवादीको दुई जना जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएकोले त्यसको रिस फेर्न पनि बम आंतक मच्याएको चर्चा छ भने यातायात व्यावसायी र मजदुरहरुले सवारी चलाउने निर्णय गरेकोले पनि त्यसलाई निस्तेज गर्न राखिएको हुनसक्ने अनुमान छ । तर, नेकपा–माओवादीका नेताहरु भने यो आरोप अस्वीकार गर्छन् । ‘हामीले बम राखेको होइन, पार्टीले बम राख्ने निर्णय गरेको छैन र निर्देशन पनि आएकै छैन’–नेकपा–माओवादीका जिल्ला सहसेक्रेटरी एवं सुनसरी क्षेत्र नं १ का इञ्चार्ज शिशिर राईले भने–‘बन्द, हड्ताल गरेपनि शान्तिपुर्ण बहिष्कार आन्दोलन हो, बम राख्ने काम हुदैन ।’










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे