कवि विमल गुरुङको ४३ औं जन्मजयन्तीमा युवा कविता महोत्सव


धरान । कवि विमल गुरुङको ४३ औं जन्मजयन्तीको अवसरमा आयोजित १९ औं राष्टिय युवा कविता महोत्सवमा भरौल ३ सुनसरीका प्रकाश दिप्साली राईले प्रथम पुरस्कार जितेका छन् ।
कवि विमल गुरुङ स्मृति पुस्तकालयले शनिबार आफ्नै भवनमा आयोजना गरेको प्रतियोगितात्मक कविता महोत्सवमा कवि राईले प्रथम पुरस्कार जितेका हुन् । उनले महोत्सवमा ‘चोमोलोङ्मा’ शिर्षकको कविता वाचन गरेका थिए । यस्तै, महोत्सवमा ‘सिंहदरबार’ शिर्षकमा कविता वाचन गरेका धरानका विजय विश्वास दोस्रो भए भने ‘उड्ने खोलो’ शिर्षकको कविता वाचन गरेका संखुवासभाका सिजन श्रेष्ठ‘नयन ’ले तेस्रो पुरस्कार पाए । यसैगरि, ‘म’ शिर्षकको कविता वाचन गरेका संखुवासभाकै कवि छितेन भोटे सहयात्रीले सान्त्वना पुरस्कार हात पारे ।
पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार विजेता कविहरुले क्रमशः ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगदसहित प्रमाणपत्र थापे । उनीहरुलाई पुस्तकालयका अध्यक्ष पुर्णबहादुर गुरुङ, प्रमुख अतिथि एवं साहित्यकार शरणकुमार राईले पुरस्कार वितरण गरेका थिए । पुस्तकालयका अनुसार कविता महोत्सवको लागिव देशभरिबाट कुल एक सय ३१ वटा कविताहरु प्राप्त भएको थियो । ती मध्येबाट छनौट समितिले उत्कृष्ट १० वटा कविता छनौट गरेको थियो ।
उत्कृष्ट १० कविताहरुलाई महोत्सवमा कविहरुले वाचन गरेका थिए । उत्कृष्ट १० मा पर्ने अन्य कविहरुमा धरानका सुमन सुवेदी, जीवन भण्डारी, शोभा भण्डारी, समीप भण्डारी, असफल गौतम र रामकुमार लिम्बु पनि थिए । छनौट एवं निर्णायक समितिको संयोजक साहित्यकार डा.खेम दाहाल र सदस्यद्धय डा. भिम खतिवडा र भुपि साम्पाङ थिए ।
दुर्घटनामा परी १९ बर्ष ६ महिनाको अल्पायुमा निधन भएका कवि विमल गुरुङको स्मृतिमा उनको परिवारजनले ०४८ सालमा पुस्तकालय स्थापना गरेका थिए । उक्त पुस्तकालयले ०५२ सालदेखि नियमितरुपमा राष्टिय युवा कविता महोत्सव गर्दै आएको छ ।

                             ....

तीन जनालाई अभिनन्दन एवं सम्मान

कवि विमल गुरुङ स्मृति पुस्तकालयले साहित्यमा योगदान पुर्याएको मुल्यांकन गर्दै पाँचथरका साहित्यकार तीर्थराज तिमसिना‘एकचेपाली साइलो’लाई साहित्यिक अभिनन्दन गरेको छ । 
कवि विमल गुरुङको ४३ औं जन्मजयन्ती तथा १९ औं राष्टिय युवा कविता महोत्सवको अवसरमा विमल गुरुङ स्मृति पुस्तकालयले तिमसिनालाई अभिनन्दन गरेको हो । यसैगरि, सोही अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै नागरिककर्मी रोहित राईलाई युवा प्रतिभा सम्मान गरेको थियो भने पुस्तकालयका सहयोगी एवं समाजसेवी प्रकाश राईलाई पनि बिषेश सम्मान गरेको थियो । अभिनन्दित एवं सम्मानितहरुलाई पुस्तकालयका अध्यक्ष पुर्णबहादुर गुरुङ, प्रमुख अतिथि शरणकुमार राईले दोसल्ला ओढाउनुका साथै अभिनन्दन एवं सम्मानपत्र प्रदान गरेका थिए ।






  

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे