एमाओवादी, कांग्रेस र एमाले संघीयता विरोधी: राई

धरान । संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष अशोक राईले ठुला दल एमाओवादी, कांग्रेस र एमाले पहिचान र संघीयताविरोधी भएको आरोप लगाएका छन् । उनले कमल थापाको राप्रपा र चित्रबहादुर केसीको राष्टिय जनमोर्चा ठुला दलहरुको पारिमार्जित सँस्करण भएको पनि ठोकुवा गरे ।
सुनसरी क्षेत्र नम्बर १ को क्षेत्रीय चुनावी जनसभालाई धरानको भानुचौकमा सम्बोधन गर्दै जनताले प्रतिकार गर्लान् र भोट गुमाउनु पर्ला भनेर ठुला दलहरुले कमल थापा र चित्रबहादुर केसीले जस्तरी पहिचान र संघीयताको खुलेर विरोध गर्न नसकेको उनको भनाई थियो । ‘पहिचान र संघीयतासँग उनीहरु तर्सिसकेका छन्, तर भोट बिग्रन्छ कि भनेर कमल थापा, चित्रबहादुर केसी जस्तरी खुलेर विरोध गर्ने आँट गर्न सक्दैनन्’–चुनावी सभालाई सम्बोधन गर्दै नेता राईले भने–‘तर, पनि कमल थापा र चित्रबहादुरहरु ठुला दलको परिमार्जित सँस्करण हुन् ।’
कांग्रेस, एमाले यथास्थितिवादी र ढुलमुले चरित्रको पार्टी भएको र एमाओवादीले पनि शब्दले मात्रै पहिचानवादी हुँ भन्ने गरेपनि व्यवहारले विरोधी भएको दाबी अध्यक्ष राईले गरे । ठुला दलहरुले अवसर पाएपनि जनताको भावनालाई प्रतिनिधित्व नगरि आफ्नै जिद्दी मात्रै लाद्न खोजेको र एउटा राजा फालिएर ४ वटा नयाँ राजा जन्मिएकोले नयाँ शक्ति जन्माउन बाध्य भएको उनले बताए । ‘संविधानसभालाई संविधान लेख्न होइन, प्रधानमन्त्री चुन्ने क्रिडास्थलमात्रै बनाए, बहुदलीयताको वकालत गर्ने दलहरुले निर्दलिय सरकार बनाए’–उनले भने–‘यी दलहरु निर्दलीय सरकार मात्रै होइन, निर्दलीय व्यावस्था पनि पूर्नस्थापना गर्न वेर लगाउदैनन् ।’
नेपालको ६० लामो क्रान्तिको उपलब्धीलाई संस्थागत गर्ने अवसर संविधानसभाबाट पाएपनि ठुला दलहरुको स्वार्थ र अर्कमण्यताले संविधानसभाकै हत्या भएको उनले आरोप लगाए । जनयुद्ध लडेर आएका प्रचण्डलेसमेत जनतालाई ढाट्ने र माफी मागीहाल्ने दोहोरो चरित्र देखाइरहेको आरोप लगाए । आफ्नो पार्टी कुनै जाति, समुदाय र धर्म विरोधी नभएको दाबी गर्दै उनले सबैलाई समान अवसर, हैसियत र सम्मान हुने समावेशी चरित्रको बोकेको शासनव्यवस्थाको परिकल्पना भएको बताए ।
पार्टीकी केन्द्रीय सदस्य एवं संघीय समाजवादी महिला संघकी महासचिव लिला सिटौलाले पार्टी गठन हुदा नै आफुजस्ता २५ जना नेताहरु क्ेन्द्रीय कमिटिमा रहेको उल्लेख गर्दै पार्टी बाहुन क्षेत्रीय विरोधी भएको आरोपको खण्डन गरिन् । उनले एउटा मात्रै धर्म, सँस्कृति, भाषाको उत्थान नभई सबै जातजातिलाई समान अवसर र उत्थान गर्नुपर्ने धारणा समाजवादी पार्टीको भएको बताइन् । केन्द्रीय सदस्य लोकसाँगर साँवाले संघीयतावादी र पहिचानवादीहरुले मात्रै अब मुलुकलाई परिवर्तन गर्न सक्ने बताए । सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार तथा धरानका पूर्वमेयर ध्यानबहादुर राईले संविधान निर्माण पहिलो प्राथमिकता भएपनि आफु मेयर हुँददेखिको धरान र पाँचकन्या गाविसको विकासका अधुरा योजनाहरुलाई पुरा गर्ने प्रतिवद्धता जनाए । संघीय सुकुम्बासी समाजका केन्द्रीय अध्यक्ष नयेन्द्र लिम्बूले सुकुम्बासीहरुलाई सबै दलले प्रयोग मात्रै गरेको उल्लेख गर्दै नयाँ शक्तिकोरुपमा उदाएको समाजवादीलाई एक पटक अवसर दिनुपर्ने बताए ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे