ट्राफिक नियमको खिल्ली उडाउदै मोटरसाइकल र्याली

धरान । टाउकोमा न हेल्मेट छ, न ट्राफिक प्रहरीको नै डर छ । सडक कब्जा गरेर टयाँ टयाँ र टु टु गर्दै युवाहरु मोटरसाइकलमा हुइकिएका छन्, त्यो पनि ट्राफिक नियम उल्लंघन गर्दै तीन जना सवार भएर ।
संविधानसभा चुनाव नजिकिदै गर्दा उम्मेद्वारलाई जिताउन विभिन्न दलहरुले शक्ति प्रर्दशन गर्ने नाममा प्रर्दशन गरेको वेथितिको दृष्य हो यो । बुधबार एमाले र कांग्रेसले निकालेको र्यालीमा यस्तै वेथिति देखियो । एमाले, कांग्रेस, एमाओवादी हुन् या संघीय समाजवादी, राष्टिय जनमुक्ति पार्टी । देशको मुल कानुन बनाउन जाने उम्मेद्वारहरु विद्यमान नियमकानुनको धज्जी उडाइरहेका छन् । संविधानसभा सदस्य निर्वाचन आचारसंहितालाई कहीकतै पनि पालना गरेका छैनन् ।
मंगलबार र बुधबार धरानमा एमाओवादी, कांग्रेस र एमालेको शक्ति प्रर्दशन हुँदा नियमकानुनको उपहास मात्रै भएन, सर्वसाधारणहरुले सास्ती नै खेपे । मंगलबार एमाओवादीले कोणसभाको नाममा धरान ४, छाताचोक करिब एक घण्टासम्म सडक जाम बनाएको थियो । नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाको बन्द भएकोले सडकमा ठुला र लामो दुरीका सवारी नचलेपनि साना सवारी चलेका थिए । एमाओवादीको कार्यक्रमले भने सर्वसाधारणहरु पनि सडकमा हिड्न पाएनन् ।
बुधबार एमाले र कांग्रेसको मोटरसाइकल र्यालीमा पनि ट्राफिक नियम र निर्वाचन आचारसंहिताको उल्लंघन भएको थियो । मोटरसाइकलमा ट्राफिक नियम विपरीत तीन जना सवार थिए भने कतिपयले हेल्मेट नै लगाएका थिएनन् । कांग्रेसले धरानका तीन वटा पेट्रोलपम्पमा एक मोटरसाइकललाई ४ लिटरसम्म पेट्रोल लगाएर भेला पारेको थियो । एमालेले पनि मोटरसाइकलमा तेल हाल्न कुपन बाँडेको थिया् । दुवैले पार्टीले अहिलेसम्मकै वृहत र्याली निकालेको दाबी गरेको छ ।
निर्वाचन आचारसंहितामा सार्वजनिक आवागमन हुने अवरोध हुने गरी जुलुस, आमसभा गर्न नपाइने उल्लेख छ । तर, मोटरसाइकल र्यालीको क्रममा सर्वसाधारणहरुलाई अवरोध गरेर र्याली निकालिएको थियो । यस्तै, चार चक्के गाडी २ वटा मात्रै प्रयोग गर्न पाउनेमा त्यो भन्दा बढी प्रयोग भएको थियो । ‘मोटरसाइकल प्रयोग गर्न आचारसंहिताले छेकेको छैन, तर आवागमनमा अवरोध हुने गरि र्याली निकाल्न संहिताले रोकेको छ’–जिल्ला निर्वाचन आयुक्त अश्विनीकुमार पोख्रेलले भने–‘निर्वाचन प्रचारप्रसारमा मोटरसाइकल प्रयोगको लागि उम्मेद्वारले अनुमति लिनुपदैन तर चार चक्के गाडी २ वटा भन्दा बढी प्रयोग गर्न पाइदैन ।’




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे