चुनावी सभाले मतदाता परिचयपत्र वितरणमा ढिलाई

धरान । मतदाता परिचय पत्र वितरण हुने खबर पाएपछि धरान १५ निवासी विजय मादेन बिहिबार बिहानै वडा समितिको कार्यालय पुगे । तर, वडा सचिवले भोलीपल्ट मतदान केन्द्रमै वितरण हुने भन्दै फकाईदिए ।

शुक्रबार मादेनसँग शिक्षा सदन उमाविको मतदान केन्द्रमा भेट हुदा उनी करिब डेढ घण्टादेखि पखाईमा थिए । त्यो पखाई परिचय पत्र लिने पालो आउछ भन्ने थिएन । किनभने, मध्याह्न बाह्र बजिसक्दा पनि मतदान केन्द्रमा परिचय पत्र पुगेकै थिएन । त्यतिबेलासम्म मतदान केन्द्रमा खटिएका अधिकृत एवं कर्मचारीहरु परिचय पत्र आउनै लागेको भन्दै जनतालाई थुम्थुम्याउदै बसिरहेका थिए । ‘हिजो पनि वडा समितिबाट रित्तै फर्किनु पर्यो, आज पनि ढेड घण्टा पर्खिए’–खाली हात घर फर्किन लागेका मादेनले भने ।
निर्वाचन आयोगबाट बुधबार नै जिल्ला निर्वाचन आयोग सुनसरीमा मतदाता परिचय पत्र आइपुगेपनि मतदाताहरुलाई वितरण गर्न भने ढिलाई गर्यो । आयोगको ढिलाईले परिचय पत्र लिन समयमै केन्द्रहरुमा पुगेका कतिपय मतदाताहरु घण्टौं पर्खादा पनि नपाएपछि रित्तै हात फर्किन बाध्य भए । बिहान ८ बजे नै वितरण हुने भन्दै माइकिङ गरिएको कारण कतिपय मतदाताहरु केन्द्रमा विहानै पुगेका थिए । ‘८ बजे नै पाइन्छ भनेर माइकिङ गर्यो, म एघार बजेतिर आएको थिएँ, एक बजिसक्यो’–अर्का मतदाता मानबहादुर तामाङले भने । अर्का, वृद्ध महेन्द्र बुढाथोकीले त जनतलाई दुःख दिएको भन्दै आक्रोशसमेत पोखे । बिहान ८ बजेदेखि वितरण हुने भनिएको परिचय पत्र मध्याह्नमा पुनः २ बजेपछि वितरण हुने भन्दै माइकिङ गरिदा कतिपय मतदाताहरु आक्रोशित पनि थिए ।

सुनसरी क्षेत्र नम्बर १ का निर्वाचन शिक्षा कार्यक्रम जिल्ला समन्वयकर्ता गणेशप्रसाद खतिवडाका अनुसार अघिल्लो दिनमा नै मतदाता परिचयपत्र आएपनि सुरक्षा प्रबन्धसहित केन्द्रमा पुर्याउनुपर्ने भएकोले केही ढिलाई भएको बताए । मध्याह्न बाह्र बजेपछि भने सबै केन्द्रहरुमा पुर्याएर मतदातालाई परिचय पत्र वितरण शुरु गरेको उनले बताए । ‘शान्तिसुरक्षासहित वितरण गर्नुपर्ने भएकोले आज सुरक्षा प्रबन्ध गर्दा नै केही ढिलाई भएको हो, भोली समयमै वितरण शुरु हुन्छ’–खतिवडाले भने । तर, यथार्थ भने अर्कै थियो । धरानमा अघिल्लो दिन कांग्रेसको चुनावी आमसभा र शुक्रबार एमाओवादीको आमसभा थियो । आमसभामा नआई जनता परिचयपत्र लिन जाने सम्भावना देखेपछि आमसभा प्रभावित होला भनेर ती पार्टीले परिचयपत्र वितरणमा अवरोध पुर्याएका थिए । तर, खतिवडाले भने त्यस्तो नभएको दाबी गरे । जिल्ला निर्वाचन कार्यालयका प्रमुख अश्विनीकुमार पोख्रेलले पनि अघिल्लो दिन वडा समितिको कार्यालयबाट नै बाड्ने भनिएपनि मातदान केन्द्रको टोलीसँगै बाड्नुपर्ने भएपछि एक दिन पछि सरेको बताए । ‘मंसिर २ गतेभित्र बाडिनसके ३ गतेसम्म बाडिसक्छौं’–पोख्रेलले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे