पत्रकार लक्षित गरेर गोली प्रहार, ब्ल्यांक फायरको आशंका

धरान । संविधानसभा निर्वाचन नजिकिदै गर्दा आइतबार राती धरानका पत्रकार गोपाल देवानमाथि आइतबार राती गोली प्रहार भएको छ ।
विश्वस्त सुत्र साप्ताहिकका सम्पादक, प्रकाशक रहेका देवान धरान १२, चतरालाइनस्थित पत्रिकाको कार्यालयमा काम गरिरहेको बेला राती करिब सवा ७ बजेतिर गोली प्रहार भएको हो । ब्लाष्ट टाइम्स दैनिकमा सम्पादकीय टिममासमेत रहेका पत्रकार देवान भने सकुशल छन् । घटनास्थलमा गोलीको खोका नभेटिएकोले तर्साउनको लागि ब्लांक फायर गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
कालो जम्परले टाउको छापेको र मास्क लगाएको अपरिचित युवा एक्कासी आएर गोली पड्काएको पत्रकार देवानले बताए । गोली पड्काएपछि बाहिर निस्कदा करिब १० मिटर पर रोकिराखेको कालो पल्सर मोटरसाइकलमा चढेर पश्चिमतर्फ भागेको उनले बताए । ‘म ल्यापटपमा समाचार टाइप गरिरहेको थिए, मेरो नजिकै ड्याम्म पड्क्यो, मेरो कानको जाली फुट्ला झै भयो’–उनले भने–‘म त कस्ले पटका पड्क्याएछ भनेर गाली गर्न निस्केको त पेस्तल बोकेको युवा मोटरसाइकलमा चढेर भागी हाल्यो ।’


उनका अनुसार दुई जना कालो पल्सर मोटरसाइकलमा आएका थिए । एक जना मोटरसाइकलमा बसेका थिए । गोली पड्काउने व्यक्ति हत्तारमा चढ्ने क्रममा उसको हातमा पेस्तोल देखेको देवानको भनाई छ । मोटरसाइकलको नम्बर प्लेट छोपिएकोले टिप्न नभ्याएको उनले बताए । घटनास्थल नजिकै घर भएका विष्णु गुरुङले पनि ड्याम्म पड्केको आवाज सुनेको बताए । ‘म खाना खान लागेको थिएँ, ड्याम्म आवाज सुनेपछि कस्ले के पड्काएछ भनेर बाहिर निस्किएँ’–उनले भने–‘हतारमा मोटरसाइकलमा दुई जना भागेको देखे, नम्बर प्लेट छोपेकोले चिन्न सकिन ।’
पत्रकार देवान संघीय समाजवादी पार्टी निकट संघीय प्रेस युनियनका केन्द्रीय उपाध्यक्षसमेत हुन् । पत्रकार र पत्रिकाको कार्यालयमा भएको गोली प्रहारको घटनाप्रति नेपाल पत्रकार महासंघ सुनसरी र संघीय प्रेस युनियन नेपाल, केन्द्रीय कार्यसमितिले निन्दनीय र जघन्य भन्दै भत्र्सना गरेको छ । महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरले यो घटनाले चुनावको मुखमा पत्रकारहरु कार्यक्षेत्रमा असुरक्षित छ भन्ने संकेत गरेको बताए । ‘पत्रकारितालाई प्रभावित पार्न खोजेको देखिन्छ, राज्यले दोषीलाई पहिचान गरेर कारबाही गर्नुपर्छ’–उनले भने । संघीय प्रेस युनियनका केन्द्रीय महासचिव सुकदेव चाम्लिङले चुनावको मुखमा षडयन्त्रमुलकतरिकाले समाजवादी पार्टीलाई हतोत्साहित बनाउन गोलीकाण्ड मच्चाइरहेको बताए । यसअघि पनि पार्टी नेताहरुमाथि गोली प्रहार भएको र त्यस घटनामा संलग्नलाई कारबाही नहुदा पुनः घटना भएको उनले बताए । ‘उहाँ सुनसरी क्षेत्र नं १ को निर्वाचन प्रचार प्रसार समितिको संयोजक पनि हुनुहुन्छ र संघीय अवाजको सम्पादकको जिम्मेवारी पनि सम्हाल्नु हुदैछ, त्यसैले समग्रमा पार्टीलाई फेरि पनि हतोत्साहित गर्न घटना गराइएको हो’–उनले भने–‘यो अघिल्लो गोलीकाण्डकै श्रृंखला हो ।’
डिएसपी टेकबहादुर तामाङले घटनाको अनुसन्धान गम्भीरतापुर्वक शुरु भइसकेको बताएका छन् । सबै नाकाहरुमा खबर गरेर चेकजाँच कडाईका साथ शुरु भएको उनले बताए । घटनास्थलमा गोलीको खोका नभेटिएकोले तर्साउनको लागि ब्लांक फायर गरेको हुनसक्ने उनले बताए । ‘कार्यालयको भित्तामा पनि गोली लागेको देखिएन, खोका पनि भेटिएन । तर्साउनको लागि ब्लांक फायर भएको हुनसक्छ’–उनले भने–‘घटनाको गम्भीररुपमा अनुसन्धान शुरु गरिसकेका छौं ।’ यसअघि, कार्तिक १४ गते बिहान एमालेसम्बद्ध युवा संघका जिल्ला सदस्य दिवस राईले संघीय समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष पारस काङमाङ र क्षेत्रीय उपसचिव मदन तामाङमाथि गोली प्रहार भएको थियो । 





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे