संसदीय समिति गठन पछि भूपू सैनिकको अनसन तोडियो

समितिका संयोजक सन्तोष थलङले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै नोभेम्बर २१ तारिखमा सरकारकोतर्फबाट समिति गठन भएकोले त्यसैदिन अनसन तोडिएको बताए । संसदीय समितिबाटसमेत संघर्ष समितिलाई लिखित प्रतिवद्धता आइसकेकोले भूपू गोर्खा सैनिकहरुको माग सम्बोधन गरिने उनले आशा व्यक्त गरे । ‘बेलायत सरकारले गठन गरेको सुनुवाई समितिले लिखित प्रतिवद्धता पत्र पनि पठाइसकेको छ, यो समितिले हामीमाथि भएको भेदभावका घटना एवं तथ्यहरु, हाम्रो गुनासाहरु संकलन गर्छ र प्रतिवेदन तयार पारेर बेलायत सरकारलाई बुझाउछ’–संयोजक थलङले भने ।
बेलायतको संसदमा रहेको सबै दलका प्रतिनिधिहरु समावेश भएको यो समितिलाई आगमी जनवरी १५ सम्ममा तथ्यहरु संकलन गरेर प्रतिवेदन तयार पर्ने समय तोकिएको छ । यो समितिले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाईसकेपछि सरकारको बिशेष समितिले अध्ययन, विश्लेषण गरेर त्यसबाट प्राप्त निष्कर्ष पुनः सरकारलाई बुझाउने संयोजक थलङको भनाई छ । ‘बिशेष समितिले प्रतिवेदन अध्ययन गरेर हाम्रो माग बारेमा निर्णय गर्नेछ, हाम्रो पाँच वटा मागहरु सतप्रतिशत जायज भएकोले सम्बोधन हुन्छ भन्ने विश्वास छ’–उनले थपे–‘यो समिति गठन हुनु गोर्खा आन्दोलनको ऐतिहासिक उपलब्धी हो, नत्रभने हामी आमरण अनसन तोड्ने नै थिएनौं ।’

(०७० मंसिर ९ को नागरिक दैनिकमा प्रकाशित)
Comments
Post a Comment