छोराको स्मृतिमा ५० लाखको अक्षयकोष
धरान । छोराको मृत्युपछि उनको स्मृतिमा आमा बुबाले के गर्लान् ? पाटी पौवा अथवा चौतारी बनाइदेलान्, या त कुनै संघसंस्थालाई छोराको नाममा केही रकम दान देलान् । यहाँका एक भूपू लाहुरे परिवारले भने आफ्ना कवि छोराको स्मृतिमा साहित्य सेवा मात्रै गरेनन्, जीवनभरको कमाईले ५० लाखको अक्षय कोष पनि स्थापना गरिदिएका छन् ।उन्नाइस बर्षको युवा उमेरमा नै देहान्त भएका जुझारु कवि विमल गुरुङका मातापिताले भर्खरै मात्र आधा करोड रकम बैंक खातामा जम्मा गरेर अक्षय कोष खडा गरिदिएका हुन् । अल्पायुमा दुर्घटनामा ज्यान गुमाएका कवि विमल धरान १८ निवासी ७० बर्षीय पुर्णबहादुर र ६७ बर्षीय सरस्वती गुरुङका एकमात्र छोरा थिए । दुवैले गत असोज २३ गते कृषि विकास बैंकमा खाता खोलेर अक्षय कोषको रकम जम्मा गरिसकेका छन् । गुरुङ दम्पत्तिले छोराको स्मृतिमा २३ बर्षअघि नै धरान १८, बुद्धचोकमा विमल गुरुङ स्मृति पुस्तकालय स्थापना गरिदिएका थिए । कवि विमलले किनेका र संकलन गरेका सयौं पुस्तकहरु थिए । त्यसलाई नष्ट हुनबाट जोगाउन उनीहरुले पुस्तकालयन स्थापना गरिदिएका थिए । छोराको देहान्त भएको करिब ६ महिनापछि स्थापना भएको पुस्तकालय हाल १० धुर जग्गामा आफ्नै पक्की भवनमा सञ्चालनमा छ । त्यही पुस्तकालयको संरक्षण, व्यावस्थापन गर्न र साहित्य एवं वाङमयको सेवामा लागेका व्यक्तित्वहरुलाई नगदसहित सम्मान गर्ने उद्देश्यले अक्षय कोष स्थापना गरिदिएको पुस्तकालयका अध्यक्षसमेत रहेका विमलका वुबा पुर्णबहादुरले बताए । ‘अक्षय कोषको ब्याजबाट पुस्तकालयको संरक्षण होस, पत्रपत्रिका किन्न, पानी विजुलीको खर्च तिर्न पुगोस भनेर स्थापना गरिदिएका हौं’–साहित्य सेवामा दुई दशक विताइसकेका पुर्णबहादुरले भने–‘यो पुस्तकालय समाजकै हो, हामी रहुञ्जेल त पुस्तकालय चल्ला तर हाम्रो सेख पछि आर्थिक संकट भोग्नु नपरोस, पुस्तौं पुस्तासम्म चलिरहोस् भन्ने उद्देश्य हो ।’
बेलायती सेनामा १५ बर्ष र अवकाशपछि ब्रनईमा थप एक दशक नोकरी गरेर बिताएका भूपू लाहुरे गुरुङले जीवनभरको कमाई र पेन्सनको रकम अक्षय कोषमा जम्मा गर्न कुनै कञ्जुस्याई गरेनन् । एक मात्र छोराको वियोगले विक्षिप्त बनेका पनि गुरुङ दम्पत्तिले विमलले पछ्याएको बाटो(साहित्य)लाई थप फराकिलो बनाउदै साहित्य सेवामा समर्पित हुनुमा नै छोराप्रतिको उचित श्रद्धाञ्जली ठाने । त्यसैले कुनै बेला राइफल समाउने हातले विगत तेइस बर्षदेखि छोराले संग्रह गरेको पुस्तक र पुस्तकालयमा थपिएको पुस्तकहरुको धुलो टक्टक्याउदै र स्याहार्दैमा उनले समय कटाए । अब भने दुई जना कर्मचारी राख्ने उनको योजना छ । अक्षय कोषको ब्याजबाट नै प्रत्येक दुई बर्षमा एक जना साहित्यकार र एक पत्रकारलाई जनही ५० हजार र २५ हजारको पुरस्कार प्रदान गर्न थप गृहकार्य भइरहेको पनि उनले जानकारी दिए । ‘यसैमा हामीलाई सन्तोक मिलेको छ, उसको(छोरा विमल)को आत्मा खुशी होस भनेर नै साहित्य सेवामा लाग्यौं, पुस्तकालय बनायौं’–उनी भन्छन् ।पुस्तकालयले बर्षेनी कार्तिक १९ गते जन्मजयन्ती तथा स्मृति दिवस मनाउदै आइरहेको छ भने युवा कविता महोत्सव पनि आयोजना गरिरहेको छ । यसपटक भने कार्तिक १९ मा तिहारको भाईटिका परेकोले कार्तिक २३ गते ४३ औं जन्मजयन्ती तथा १९ औं राष्टिय युवा कविता महोत्सव आयोजना गर्यो । त्यही कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई अभिनन्दन तथा सम्मान पनि गर्दै आइरहेको छ ।
२०२८ साल कार्तिक १९ गते हङकङमा जन्मिएका कवि विमलले युवा उमेरमा नै साहित्य र दर्शनको गहिरो अध्ययन गरेका थिए । स्वाभिमानी र स्वतन्त्रताप्रेमी यी कविका कविताहरु प्रगतिवादी एवं जीवनवादी छन् । देहान्त हुनुअघि पत्रकारितामा समेत संलग्न उनका रचनाहरु हक्की एवं क्रान्तिकारी पनि छन् । ०४८ वैशाख २४ गते काठमाण्डौंबाट धरान आउने क्रममा धादिङको जुगेपानी भन्ने ठाउँमा दुर्घटनामा परी १९ बर्ष ६ महिनाको उमेरमा उनको निधन भएको थियो । उनकी बहिनी शान्ति हाल पुस्तकालयको संरक्षक छिन् । उनको रचनाहरु समकालीन कविहरुभन्दा उच्चकोटीको भएको समालोचकहरुको भनाई छ । कवि विमलका रचनाहरु दर्जन बढी डायरीमा भेटिएको थियो । ती कविताहरुलाई पुस्तकालयले हालसम्म २ वटा संग्रहमा प्रकाशित गरिसकेको छ भने अरु प्रकाशोन्मुख छन् । कवि विमलको शुरुमा विमलले संकलन गरेको महत्वपुर्ण पुस्तकहरु जोगाउन ध्याउन्नमा स्थापना भएको यो पुस्तकालयमा अहिले ७ हजार बढी पुस्तकहरु संकलित छन् ।
Comments
Post a Comment