राजिनामा दिएका सचिव फकाउन एमालेको ‘मजदुर कार्ड’

धरान । संविधानसभा चुनावको पूर्वसन्ध्यामा पार्टी निर्णय, पद्दति एवं प्रक्रियाप्रति असन्तुष्टी जनाउदै राजिनामा दिएका एमाले जिल्ला कमिटि सचिव मोतिराज सुनुवारलाई पुनः पार्टीमा फर्काउन एमालेनिकट मजदुरहरु कसरतमा जुटेका छन् ।
चुनावको मुखमा जिल्ला सचिवले पार्टी परित्याग गरेपछि चुनावी परिणाममा नकरात्मक असर पर्ने आँकलन गरेको एमालेले मजदुर संगठनमार्फत नेता सुनुवारलाई पार्टीमा फर्काउने प्रयास गरेको हो । राजिनामा दिएपछि समाजवादी वा एकीकृत माओवादीमा प्रवेश गर्ने चर्चा चलेपछि चुनावको पूर्वसन्ध्यामा क्षति पुग्ने आँकलन गरेको एमालेले सुनुवारलाई रोक्नको लागि ‘मजदुर कार्ड’ फालेको हो । नेता सुनुवार एमालेमा मजदुर पृष्ठभुमिबाट आएका थिए ।
राजिनामा दिएर स्वतन्त्र रहेका नेता सुनुवारलाई बिहिबार एमाले निटक मजदुरहरुले भेला बोलाएर पार्टीमा फर्कन आग्रह गरेका थिए । भेलामा नेता सुनुवारसँग जिल्ला अधिवेशनमा सचिव पदको निर्वाचनमा पराजित नेता मुरारी सुवेदी र एमाले नेता भुवन मोक्तानको पनि उपस्थिति थियो । एमाले जिल्ला कमिटि सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भिम राई ज्वालाले नेता सुनुवारको राजिनामाले मेचीदेखि महाकालीसम्मको मजदुरहरुको मन दुःखेको भन्दै पार्टीमा फर्कन आग्रह गरे । पार्टीले मजदुरको प्रतिनिधिलाई सभासद उम्मेद्वारको टिकट नदिनुको कारण प्रष्ट पार्न नसकेकोप्रति सबै मजदुरहरुको असन्तुष्टि रहेको भएपनि पार्टी परित्यागको निर्णय ठिक नभएको बताए । ‘पार्टीले कमीकमजोरीहरु गरेका छन्, मोति सुनुवारले पार्टी परित्याग गर्दैगर्दा कोही सम्झाउन गएनन्, गए हुन्छ भन्ने सोत नेताहरुमा देख्यौं’–उनले भने–‘तरपनि, मजदुरहरुको एउटै आवाज छ, मोति सुनुवार पार्टीमा फर्कनुपर्छ ।’
मजदुरहरुले पार्टीमा फर्कन आग्रह गरेपनि नेता सुनुवारले भने आफु एमालेमा नपर्कने तर स्वतन्त्ररुपमा रहने बताए । ‘पार्टी छोडिसकेपछि फर्कने कुरा छैन, तर मजदुर साथीभाईको कुरा सुनिदिनुपर्छ’–नेता सुनुवारले भने–‘अनुरोध अनुसार स्वतन्त्र रहन्छु तर चुनाव(मंसिर ४) पछि कुनै पार्टीको लागि निर्णय गर्छु ।’ नेता सुनुवार ०३९ सालमा अनेरास्ववियुको तेस्रो जिल्ला सम्मेलनको प्रतिनिधि हुदै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सुनसरी अध्यक्ष, कोशी अञ्चल कोषाध्यक्ष, अध्यक्ष तथा केन्द्रीय कमिटिको सदस्य, सहसचिव, उपाध्यक्ष हुदै संगठनको केन्द्रीय अध्यक्ष पनि भएका थिए । यस्तै, एमाले जिल्ला कमिटि सुनसरीको ३ कार्यकाल सदस्य, एक कार्यकाल उपसचिव हुदै करिब पाँच महिना अघि धरानमा भएको अधिवेशनबाट सचिव पदमा निर्वाचित भएका थिए ।
नेता सुनुवार ०६४ मा सुनसरी क्षेत्र नम्बर १ बाट पहिलो संविधानसभा निर्वाचनमा र आसन्न निर्वाचनमा पनि सिफारिशमा परेका थिए । तर, उनलाई पार्टीले प्रत्यक्ष र समानुपातिकमा समेत सभासद उम्मेदवार नबनाएपछि तीब्र असन्तुष्ट भएको चर्चा थियो । केही महिनाअघिदेखि नै पार्टीप्रति असन्तुष्ट रहेका नेता सुनुवारले पार्टी परित्याग गर्न लागेको चर्चा चलेपछि उनलाई मनाउन नेता, कार्यकर्ताहरुले निक्कै कसरत गरेका थिए । केन्द्रीय नेताहरुलेसमेत उनलाई रोक्ने प्रयास गरेपनि सफल भएन ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे