दुई दर्जन उम्मेद्वार, एजेण्डाबारे मतदाता वेखबर


धरान । सुनसरीको पाँचकन्या गाविस ५ स्थित फक्ल्याण्ड टापुमा मध्याह्न संविधानसभाको चुनावमा नेकपा एमालेलाई बहुमत दिलाउन आग्रहसहितको गीत माइकबाट घन्किइरहेको थियो । उम्मेदवारसहित एमालेको टोली यो सुकुम्बासी बस्तीमा घरदैलो गरिरहदा केही संख्यामा स्थानीय मतदाता भने ग्राभेल बाटो किनारमा भलाकुसारी गरिरहेका भेटिए ।
देशको मुलकानुन संविधान बनाउन दोस्रो पटक हुन लागेको संविधानसभाको चुनावमा उनीहरुलाई त्यति धेरै चासो रहेनछ । ‘चुनाव किन हुनलागेको भन्ने थाहै छैन’–मजदुरी गरेर जिविका चलाउने ४७ बर्षीय तेजबहादुर मगरले भने–‘हामीलाई त पानी, बत्ति चाहिन्छ,अनिकालमा खान पाऊ ।’ सुनसरी क्षेत्र नम्बर १ मा पर्ने नगरउन्मुख पाँकन्या गाविस धरानको छिमेकी गाविस हो । निर्वाचन आउन दुई साता मात्रै बाँकी रहदा यहाँका मतदाताहरुले दोस्रो पटक संविधानसभाको चुनाव किन हुनलागेको भनेर बुझ्न सकेका छैनन् । यसको मुख्य कारणमा राजनीतिक दल र तिनका उम्मेद्वारहरु मतदातासमक्ष प्रभावकारीरुपमा आफ्नो एजेण्डा लिएर पुग्न नसक्नु हो । सुनसरी क्षेत्र नं १ मा दुई दर्जन(२४ जना) विभिन्न पार्टीका उम्मेद्वारहरु छन् । तर, अहिलेसम्म औलामा गन्नसकिने दल र उम्मेद्वारमात्रै यो गाविसमा चुनावी अभियान लिएर पुगेका छन् । ती मध्ये पनि कतिपयले मुख्य चोकहरुमा कोणसभा गर्छन् । जहाँ अधिकांश मतदाताहरुको उपस्थिति नै हुदैन । चुनाव चिह्नसहितको पर्चा, पोष्टर छ्याप्छ्याप्ती टाँसेपनि मतदातालाई भने पढ्ने फुर्सदै छैन । ‘हिजोअस्ति पम्प्लेट टाँस्नेहरु मात्रै आए, र टाँसेर गए । के लेखेको छ भनेर पढेकै छैन’–फक्ल्याण्ड बस्तीमा किराना पसल चलाएकी रुद्र बिकले भनिन्–‘आजै मात्र हो एमालेको उम्मेदवार आएको । नमस्ते गरेर भोट दिनुस् है भन्दै गए ।’
स्थानीयबासीका अनुसार पाँचकन्याको बहुसंख्यक मतदाता रहेको वडा ५ स्थित देउराली, फक्ल्याण्ड टापुमा यसअघि नेपाली कांग्रेसले नेतृ सुजता
कोइरालालाई उपस्थित गराएर चुनावी कोणसभा गरेको थियो । त्यस्तै, एमाओवादीले घरदैलो अभियान चलाएको थियो भने राष्टिय जनमुक्ति पार्टी र संघीय समाजवादी पार्टीले पनि बुधबार मात्रै घरदैलो अभियान गर्यो । यी दलबाहेक सुनसरी १ मा उम्मेदवारी दिएको दलहरु यहाँका मतदातासमक्ष पुगेका छैनन् । कोणसभा र घरदैलोमा पुगेका राजनीतिक दल र तिनका नेताहरु जनतालाई संविधानसभाको एजेण्डाभन्दा पनि विकासे आश्वासन बाँड्नमा सिमित छन् । ‘सुजता कोइरालाले देवी गाउँ जोड्ने कोठको पुल बनाइदिने, सेउती खोलामा बन्दै गरेको पक्की पुल निर्माणमा सघाउने, बाटो पक्की बनाइदिने भनेर गइन्’–पाँचकन्या ५, माथ्लो देउरालीकी मतदाता अनिता भुजेलले भनिन्–‘एमाओवादीले धनीपूर्जा दिने भनेको छ, एमालेको पनि त्यस्तै नै कुरा छ ।’
सेउती खोलाले मात्रै छुट्याएको छिमेकी शहर धरान विकास निर्माणमा तीब्र गतिमा अघि बढेपनि यो गाविस भने बर्षौदेखि पछि परेको छ । यहाँ अहिलेसम्म एक इञ्च पनि पक्की बाटो बन्न सकेको छैन । सेउती, सेहरा खोलामा पुल निर्माण नहुदा बर्षातमा गाविसबासीले ठुलो सास्ती खेप्नु पर्छ भने तटबन्धन अभावमा हुने कटान र खानेपानी अभाव यहाँको अर्को ठुलो समस्या हो । त्यसैले गाविसबासीहरु देशको मुल कानुन भन्दा बढी आफ्ना यिनै समस्याहरु सुल्झियोस भन्ने चाहन्छन् । ‘खै, उम्मेद्वारहरुको अनुहार नै देखिएको छैन, आज एमालेका उम्मेद्वार पनि बहुमतले जिताउनुस है भनेर गए’–पाँचकन्या ५, तल्लो देउरालीका छविलाल भुजेलले भने–‘अहिले संविधान लेख्नुपर्ने होला, तर हाम्रो उहिल्यैदेखिको समस्याहरु कसैले पुरा गरिदिएनन् ।’
गाविसबासीहरुको दैनिक जीवनसँग जोडिएको जटिल समस्याहरु भएपनि पहुँचवाला राजनीतिक व्यक्तिको अभावमा कहिल्यै समाधान नहुदा जनतामा निराशा छाउनु स्वभाविक भएको पूर्वप्रधानपञ्च पदमबहादुर कार्कीको भनाई छ । ‘पहुँचवाला मान्छेको कमी भयो, नगरउन्मुख गाविस भएपनि यहाँको जटिल समस्याहरु कहिल्यै समाधान हुनसकेन’–हाल एमाले जिल्ला सल्लाहकार सदस्य कार्की भन्छन् । पाँचकन्या गाविसको कुल जनसंख्या १९ हजारको हाराहारीमा छ । यहाँ अघिल्लो संविधानसभा निर्वाचनमा १४ हजार मतदाता थिए । अहिले फोटोसहितको मतदाता नामावलीमा भने घटेर ८ हजार ६ सय मात्रै छन् । ती मध्ये पनि ३ हजार ६ सय मतदाताहरु ५ नम्बर वडामा छन् । जहाँ १२ सय घरधुरी हाल पूर्जाविहिन अवस्थामा बसेका छन् । त्यसैले यो गाविसमा चुनावी अभियान लिएर जाने दलहरु यही ५ नम्बर वडामा बढी केन्द्रीत छन् ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे