चुनावमा हारेपनि प्रतिवद्धता पुरा गछौं : मेन्याङबो

 धरान । मंसिर ४ गतेको दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएपनि एकीकृत माओवादीका सुनसरी क्षेत्र नम्बर १ का उम्मेद्वार मुक्सामहाङ मेन्याङबोले पार्टीले शुरु गरेको विकासका योजनाहरुलाई निरन्तर अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।
एमाओवादी केन्द्रीय सदस्यसमेत रहेका मेन्याङबोले आफु र पार्टीलाई मतदान गर्ने मतदाता, नेता कार्यकर्ता एवं शुभचिन्तकहरुलाई धन्यवाद दिनेक्रममा चुनावअघि स्थानीयस्तरमा घोषणा गरिएको विकासका योजना एवं प्रतिवद्धताहरुलाई पुरा गरिछाड्ने बताए । समानुपातिक उम्मेद्वारद्धय कमला राई र चलचित्र निर्देशक दिपक श्रेष्ठसहित बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै नेता मेन्याङबोले विकास निर्माणका सबै प्रतिवद्धताहरु पुरा गर्ने बताए । ‘सुनसरी क्षेत्र नं १ बाट एमाओवादी पार्टी र मलाई मतदान गर्नुहुने सम्पुर्ण मतदाता, सबै नेता कार्यकर्ता, सहयोगी, शुभचिन्तकहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र जनताको हरेक दुःखसुखमा सँगै हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गर्दछु’–पत्रकार सम्मेलनमा नेता मेन्याङबोले भने ।
एमाओवादीले सुनसरी क्षेत्र नं १ मा पर्ने धरान नगरपालिका र पाँचकन्या गाविसको विकास गर्न भन्दै चुनाव अघिदेखि नै विभिन्न योजना एवं अवधारणाहरु तयार गरेको थियो । विकासका त्यही योजनालाई उसले चुनावको बेला स्थानीय प्रतिवद्धतापत्र भन्दै जनतासामु पनि लगेको थियो । एमाओवादीले धरानको खानेपानी समस्या, विकासस्थल निर्माण, धरान रंगशाला निर्माण, सुकुम्बासी समस्या समाधानका योजनाहरु बनाएको थियो । यस्तै, सेउती, सर्दु र सेहरा खोलको व्यावस्थापन तथा पुल निर्माण, चतरा–धरान–पानमारा सडक कालोपत्रे गर्ने, धरानको बसपार्क, विजयपुरमा पर्यटकीय क्षेत्रको विकास गर्नेलगायतका पार्टीले अघि सारेको योजनालाई पुरा गर्ने नेता मेन्याङबोले बताए । ‘हामीले यसअघि प्रतिवद्धता व्यक्त गरेका विकास निर्माणसँग सम्बन्धित सबै काम पुरा गर्न स्थानीय निकायदेखि केन्द्रसम्म पहल गर्ने र दृढतापुर्वक लाग्ने पनि प्रतिवद्धता व्यक्त गर्दछु’–उनले भने । संविधानसभा चुनावको मतपरिणाममा उनी तेस्रो स्थानमा थिए । सुनसरी १ मा एमालेका उम्मेद्वारले जितेका थिए ।
धाँधली र षडयन्त्रमुलकढंगले परिवर्तनको प्रमुख संवाहक शक्ति एमाओवादीलाई पराजित गराइएपनि आफ्नो पार्टीको एजेण्डा भने पराजित नभएको जिकिर गरे । धाधली र षडयन्त्र भएपनि जनताले परिवर्तनको पक्षमा व्यक्त गरेको अमुल्य मतलाई खेर जान नदिने उनले बताए । ‘१२ बुँदे समझदारी र शान्तिप्रक्रियाको प्रमुख शक्तिलाई पाखा लगाएर एकलौटीढंगले अघि बढ्दा शान्ति र संविधान निर्माण सम्भव छैन । त्यसले मुठभेठ निम्त्याउनेछ र मुलुकले निकास पाउनेछैन’–उनले भने–‘हामीले प्रष्ट भनेका छौं,धाधली र षडयन्त्रबारे उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग गठन होस, साथै, संविधान संशोधन गरेर सरकार बनाउन बहुमतिय र संविधान निर्माण गर्न दुई तिहाई बहुमतीय व्यवस्थालाई खारेज गरि सहमतिय प्रावधान राखियोस् ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे