धरान-चतरा सडक पक्की बनाउन लागतस्टिमेट तयार

धरान । बषैंदेखि दुरावस्थामा रहेको धरान–चतरा सडक खण्डलाई पक्की बनाउन विराटनगरस्थित सडक डिभिजन कार्यालयले लागत स्टिमेट तयार गरेको छ । दुई दिनअघि बराहक्षेत्र मन्दिर दर्शन गर्न आएका अर्थमन्त्री शंकर कोइरालाले बेहाल सडकलाई पक्की बनाउने काम तत्काल शुरु गर्न निर्देशन दिएपछि डिभिजन कार्यालयले आवश्यक कदम चालेको हो ।
विराटनगरस्थित कार्यालयका अनुसार निर्देशन प्राप्त भएलगत्तै लागतस्टिमेट तयार गरेर झापाको दमकस्थित क्षेत्रीय निर्देशनालयमा पठाइएको छ । उक्त स्टिमेटमा धरानदेखि चतरा हुदै बराहक्षेत्र मन्दिर सम्मको सडकखण्डलाई समेटिएको विराटनगरस्थित सडक डिभिजन कार्यालयका प्रमुख रामचन्द्र राउतले बताए । ‘निर्देशन आएलगत्तै हामीले धरानदेखि बराहक्षेत्रसम्मकै लागत स्टिमेट तयार गरेर क्षेत्रीय निर्देशनालयमा पठाइसकेका छौं’–प्रमुख राउतले भने–‘कालोपत्रे बन्छ, बन्दैन भन्ने कुरा अहिलेसम्म गर्भमै छ ।’ उनका अनुसार स्टिमेटमा धरानदेखि बराहक्षेत्रसम्मको २५ किलोमिटर सडक खण्डलाई समावेश गरिएको छ ।
अर्थमन्त्री कोइराला बुधबार केही सुरक्षा प्रमुखहरुका साथ बराहक्षेत्र मन्दिर दर्शन गर्न पुगेका थिए । त्यहाँबाट फर्कदा उनी चतरास्थित जगतगुरु बालसन्तको आश्रममा पनि पसेका थिए । त्यसैबेला महाकुम्भको तयारी गरिरहेका बालसन्त एवं कुम्भमेला आयोजक समितिले सडक कालोपत्रे बनाउन माग गरेपछि अर्थमन्त्री कोइरालाले सम्बन्धित कार्यालयमा निर्देशन दिएका थिए । ‘हामीले कालोपत्रे सडकको माग गरेपछि अर्थमन्त्री ज्युले अर्थसचिव, सडक डिभिजनका प्रमुखलाई बजेट निकासा गरिदिने भन्दै तत्काल काम शुरु गर्न निर्देशन दिनुभयो’–कुम्भमेला आयोजक समितिका सहसंयोजक दलबहादुर पौडेलले भने–‘आइतबार पुनः मन्त्रालयमा डेलिगेशन जानेछौं ।’
स्थानीयले धरान चतरा सडकलाई कालोपत्रे बनाउन एक उपभोक्ता समिति पनि गठन गरिसकेका छन् । त्यही समितिले गत बर्ष पुष र चैतमा जिविस, मन्त्रालयतिर डेलिगेशन समेत गएपनि सफलता मिलिरहेको थिएन । सहसंयोजक पौडेलका अनुसार कुम्भमेलालाई लक्षित गरेर तत्काल ५ किलोमिटरसम्मको सडक खण्डलाई कालोपत्रे गर्ने र बाँकी खण्डको काम क्रमागतरुपमा सक्न बजेटमा प्राथमिकता दिने अर्थमन्त्रीको आश्वासन थियो । जसअनुसार चतरास्थित जगतगुरुको आश्रमबाट चतराबजार, बयरवन हुदै खारखोलाको वरगाछीसम्मको करिब ५ किलोमिटर सडक तत्काल कालोपत्रे गरिनेछ । चतरामा कुम्भमेला आगामी चैत १७ गतेदेखि बैशाख १९ गतेसम्म सञ्चालन हुनेछ । कुम्भमेलाको समयमा अत्यधिक सवारीसधान आवतजावत हुँदा यो सकड खण्डको अवस्था झनै दयनीय हुन्छ ।
क्षेत्रीय सडक निर्देशनालयका निमित्त प्रमुख मायानाथ घिमिरेका अनुसार क्षेत्रीय प्रशासन कार्यालयबाट पत्र आएको र मातहतको सडक डिभिजन कार्यालयलाई स्टिमेट गरी पठाउन निर्देशन दिएको बताए । ‘अर्थमन्त्री ज्यु र क्षेत्रीय प्रशासकबीच सिधै कुराकानी भएपछि पत्र आएको हो, स्टिमेट प्राप्त हुनासाथ मन्त्रालयमा पठाउछौं’–उनले भने । क्षेत्रीय प्रशासक शंकर कोइरालाका अनुसार यो सडक खण्डलाई पुनः ग्राभेल गर्ने वा पक्की बनाउने बारेमा पहिलादेखि नै छलफल भइरहे पनि कुम्भमेलालाई लक्षित गरेर पहल गरिएको हो । ‘कुम्भमेलामा सवारीको आवातजावत धेरै हुन्छ, त्यसैले ग्राभेल वा पक्की के गर्ने भनेर छलफल भएको हो, बजेट के कति सम्भव हुन्छ’–उनले भने ।
धरान चतरा सडक खण्डलाई पक्की बनाउनुपर्ने चर्चा पटक पटक उठेपनि कहिल्यै प्राथमिकतामा परेन । यो सडक खण्डमा खहरे खोलाहरु भएको कारणले पनि बर्षायाममा ग्राभेल सडकलाई बगाएर लथालिंग बनाइदिने गरेको छ । सरकारले मर्मतसम्भार शिर्षकमा बर्षेनी बजेट विनियोजन गरेपनि त्यसको सही सदुपयोग हुन नसकेको स्थानीयको गुनासो छ । विराटनगरस्थित सडक डिभिजन कार्यालयका प्रमुख राउतका अनुसार यसबर्ष २२  लाख जति बजेट मर्मत सम्भार शिर्षकमा रातो किताबमा छुटिएपनि पर्याप्त नहुने बताउछन् ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे