४ सय ६० वटा गल्फ बल सहयोग
धरान । गल्फ खेलको विकास एवं प्रर्वद्धनमा सहयोग पुर्याउन उद्देश्यले एक भूपू गोर्खा सैनिकले गल्फ वल सहयोग गरेका छन् ।हाल बेलायतमा बसोबास गरिरहेका धरान १५ निवासी विनोद राईले धरान गल्फ क्लबलाई ४ सय ६० वटा गल्फ वल सहयोग गरेका हुन् । शनिबार निर्वाणा कन्टी क्लबमा आयोजित एक कार्यक्रममा राईले ती वलहरु गल्फ क्लबका अध्यक्ष पुर्ण लिम्बूलाई हस्तान्तरण गरेका थिए । ती वलहरु जुनियर खेलाडी, क्लबका सदस्य एवं खेलाडीहरुलाई प्रदान गरिने क्लबले जनाएको छ ।
करिब चार बर्षअघि धरानकै कोर्षमा गल्फ सिकेका राईले जुनियर खेलाडीहरुसँग पर्याप्त वल नभएको देखेर सहयोग गरेको बताए । ‘साना भाईहरु राम्रो खेलेको देखे तर उनीहरुलाई वलको समस्या भइरहेको पाएँ’–सहयोगी राईले भने–‘त्यसैले राम्रो ट्रेनिङ होस् र धरानको नाम राख्न सकोस् भनेर वल सहयोग गरेको हुँ ।’ सहयोगी राईले ती सबै वलहरु बेलायतबाट नै ल्याएका हुन् । उनले यसअघि पनि क्लबलाई ४ सय थान टि सहयोग गरेका थिए ।
क्लबका अध्यक्ष लिम्बूका अनुसार एक खेलाडीलाई १० वटा वल दिइनेछ । गल्फ वल बजारमा खरीद गर्नुपर्दा एक प्याकेटको एक हजार रुपैया तिर्नुपर्छ । एक प्याकेटमा तीन वटा मात्रै वल हुन्छ । ‘कोर्षमा धेरैजसो वल हराउने गर्छ, खेलाडीले वल किन्नुपर्दा निक्कै खर्च गर्नुपर्छ’–गल्फ क्लबका अध्यक्ष लिम्बूले भने–‘यो सहयोगले खेलाडीहरुलाई धेरै राहत मिल्छ, सहयोगीलाई हृदयदेखि नै आभार प्रकट गर्दछुँ ।’र्जमन कपको तयारी
धरान । जर्मन कप एमेच्योर गल्फ प्रतियोगिताको दोस्रो सँस्करण डिसेम्बर पहिलो साता हुने भएको छ ।गल्फ प्रशिक्षककोरुपमा जर्मनीमा रहदै आएका धराने व्यावसायिक गल्फर सविन सापकोटाको मुख्य प्रायोजनमा गत बर्षदेखि यो प्रतियोगिता शुरु भएको थियो । सोही प्रतियोगिताको दोस्रो सँस्करण डिसेम्बर ७ का दिन आयोजना गरिने धरान गल्फ क्बलका अध्यक्ष पुर्ण लिम्बूले जानकारी दिए । उनका अनुसार प्रतियोगिता धरानका एमेच्योर गल्फरहरुको मात्रै सहभागीता रहनेछ ।
जर्मन कपकोरुपमा गत बर्ष आयोजना गरिएको प्रतियोगिताको नाम यसपटक भने परिवर्तन हुनसक्ने क्लबले जनाएको छ । प्रतियोगिताका मुख्य प्रायोजक एवं व्यावसायिक खेलाडी सविन हाल भने धरानमा छन् । प्रतियोगिताको पहिलो सँस्करणमा विजय राई विजेता बनेका थिए ।
यसैगरि, जर्मन कपलगत्तै जुनियर खेलाडीहरुलाई एक साताको प्रशिक्षण दिइने क्लबले जनाएको छ । जर्मन खेलाडी आन्द्रेइज फ्लेसरको सहयोगमा बालबालिकाहरुलाई प्रशिक्षण दिइने क्लब अध्यक्ष पुर्ण लिम्बूले जानकारी दिए । उनका अनुसार प्रशिक्षणमा २० बर्षमुनिका किसोरकिसोरी एवं बालबालिकाहरुलाई मात्रै सहभागी गराइनेछ ।

Comments
Post a Comment