क्वारेन्टाइन जाँच नहुदा सुन्तला निकासी ठप्प

धरान । ‘क्वारेन्टाइन जाँच’को व्यवस्था नहुदा पूर्वी नेपालमा उत्पादित सुन्तला भारततर्फ निकासी हुन सकिरहेको छैन । सुन्तलाले भारतमा राम्रो बजार भाउ पाइरहेको बेला निकासी गर्न नपाउदा यताका कृषक एवं व्यापारीहरु मर्कामा छन् ।
भारतले तीन बर्षयतादेखि क्वारेन्टाइन जाँच गराएको प्रमाणपत्र माग्न थालेपछि व्यापारीहरुले निकासी गर्न पाएका छैनन् । भन्सार तिरेर पनि निकासी गर्न नपाएपछि कतिपयले चोर बाटोबाट अवैधतरिकाले भारत पठाउने गर्छन् । त्यसरी, भारत पठाउन ‘क्यारिङ एजेन्ट’हरुलाई अत्यधिक कमिशन दिनुपर्दा नाफा हुनै छोडेपछि हिजोआज चोर बाटोबाट पनि सुन्तला भारततर्फ पठाउन छाडेको व्यापारीहरुको भनाई छ । ‘तीन बर्षजति भईसक्यो, क्वारेन्टाइन जाँच नहुदा सुन्तला भारत निकासी गर्न पाएका छैनौं’–सुन्तलाका थोक बिक्रेता ज्ञानबहादुर बस्नेत भन्छन्–‘भारतमा सुन्तलाको राम्रो भाउ पाएको बेला पठाउन नपाउदा किसान र व्यापारीलाई मर्का पर्छ ।’
धनकुटा जिल्लाको खोकुमा उत्पादन हुने सुन्तला नेपालकै उत्कृष्ट एवं स्वादिलो मानिन्छ । खोकुपछि धनकुटाकै छिन्ताङ, मौनाबुधुक, स्याउले, बुढीमोरङ सुन्तला उत्पादनको लागि उर्बर एवं प्रख्यात भुमि हो । यहाँबाट उत्पादन हुने सुन्तलाले पूर्वी नेपालको बजार ओगटेको छ । यी क्षेत्रमा उत्पादन हुने सन्तलामध्ये विगतमा १० प्रतिशत जति भारततर्फ निकासी भइरहेपछि तीन बर्षयता भने ठप्प छ । ‘भारतले आफ्नै सुन्तालाको बजार बढाउन पनि नेपालबाट आउन नदिन अड्को थापेको हुनसक्छ’–कृर्षि उपज बजार स्थलका अर्का थोक बिक्रेता धनबहादुर कटवालले भने–‘पहिला क्यारिङ एजेन्टले एक झोला(एक झोलामा २५ केजी)को दश,बिस रुपैयामा मान्थ्यो, अचेल प्रतिकेजी नै त्यति कमिशन माग्न थाल्यो, त्यसैले चोरबाटो बाट पनि भारत पठाउन छोडियो ।’
सुन्तलासहित अन्य उत्पादित कृर्षिजन्य बस्तु खान योग्य छ, छैन भनेर गुणस्तर जाँच गर्ने(क्वारेन्टाइन)को क्षेत्रीय कार्यालय विराटनगरमा छ । ठुलो परिणाममा निकासी गर्ने सुन्तला त्यहाँ जाँच गर्न पुर्याउनु झञ्झटिलो हुन्छ । त्यो संयन्त्र कृर्षि उपज बजार स्थलमा नै व्यवस्था भइदिए कृषक एवं व्यापारीहरुलाई धेरै सजिलो हुने बजारस्थलका सदस्य सचिव एवं व्यावस्थापक लक्ष्मण भटराई बताउछन् । ‘कृर्षि उपज बजारस्थलमा नै क्वारेन्टाइन जाँचको संयन्त्र भएमात्रै कृषक र व्यापारीहरुलाई राहत मिल्छ’–उनले भने । उनका अनुसार नेपालबाट भारततर्फ निकासी हुने सुन्तलाको क्वारेन्टाइन झमेलाले निकासी ठप्प भएपनि भारतबाट भने नागपुरे नामको सुन्तला भने क्वारेन्टाइन जाँच विना नै नेपालतर्फ आइरहेकोप्रति कसैले नियमन गर्न सकेको छैन ।
धरान १३ स्थित कृर्षि उपज बजार स्थलमा पूर्वी पहाडी जिल्ला धनकुटा, संखुवासभा, तेह्रथुम, भोजपुरलगायत सुनसरीबाटसमेत उत्पादन हुने कृर्षिजन्य बस्तुहरुको कृषक र व्यापारीबीच करोबार हुनेगर्छ । यही स्थानमा क्वारेन्टाइन जाँचसँगै गुणस्तरको प्रमाणपत्र दिने व्यवस्था गर्न सम्बन्धित निकायहरुमा पहल गरेपनि वेवास्ता गरिएको बजारस्थल सञ्चालक समितिका अध्यक्ष काजी गिरीको गुनासो छ । ‘बिषादी मिसाएको छ, छैन भनि हामी जाँच गर्न सक्दैनौं । त्यसैले बजार विकास, कृर्षि कार्यालयमा पहल गर्यौं, तर कतैबाट व्यवस्था हुन सकेन’–अध्यक्ष गिरीले भने–‘राज्यले कृर्षि क्षेत्रलाई बजेटमा प्राथमिकता दिएपनि त्यसको सही सदुपयोग र कार्यान्वयन हुन सकेन ।’ उनले उत्पादन क्षेत्रमा र कृर्षि बजार उपजस्थलमा क्वारेन्टाइन जाँचको व्यवस्थासँगै किसानहरुलाई बिषादी प्रयोगबारे जनचेतना जगाउन अभियानकै खाँचो रहेको औल्याए ।
बजारस्थलका अनुसार कार्तिक महिनायता सोमबारसम्म एक हजार पाँच सय पचास मेट्रिक टन सुन्तलाको कारोबार भइसकेको छ । यो कारोबार यही समयमा गत बर्ष भएको करोबारको तुलनामा भने कमी हो । गत बर्ष यही समयमा दुई हजार एक सय मेट्रिक टन सुन्तलाको कारोबार भएको थियो भने गत आर्थिक बर्षमा जम्मा चार हजार दुई सय पैतालिस मेट्रिक सुन्तलाको कारोबार भएको कृषि उपज बजारस्थलका व्यावस्थापक भटराईले जानकारी दिए । संविधानसभा निर्वाचनअघिको बन्द र राजनीतिक अन्यौलताको कारणले करोबारमा सुस्तता देखिएपनि गत बर्षकै अनुपातमा कारोबार हुने उनले बताए ।

(०७० मंसिर ११ गतेको नागरिक दैनिकमा प्रकाशित)




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे