किराती परिवारमा डेढ दशकपछिको टिका

दशैं नजिकिद्रै गर्दा एक जना किराती बुद्धिजिविसँगको भेटमा सोधे, तपाई दशैं मनाउनुहुन्छ कि हुन्न ? उहाँले भन्नुभयो, ः मनाउछुँ । म उभौली र उद्यौलीलाई आफ्नै चाडकोरुपमा मनाउछु तर, दशैंलाई पनि राम्रोसँग मान्छु । मैले पुनः सोधे, किन ? उहाँको जवाफ थियो, हामी किरातीको आफ्नै मौलिक चाडपर्व छन्, तर दशैंमा जस्तरी हाम्रा अग्रज, अभिभावकहरुले शिरमा हात राखेर आर्शिवाद दिएको किराती चाड मलाई थाह छैन । त्यसैले अग्रजहरुको आर्शिवाद थाप्नको लागि पनि म दशैं मनाउनुछ ।
उहाँसँगको भलाकुसारीले मलाई करिब डेढ दशकअघिको समयमा पुर्यायो । जतिबेला म सानोमा भोटेपुलमा मावली घरमा कुखुराको भाले र बोतलमा रक्सी बोकेर टिका लगाउन जान्थे, माइलो भाईसँग । त्यसपछि, घरदेखि तल मावली दाजु( स्वर्गीय गोपाल दाई) र खहरे खोला पारि क्याप्टेन दाजु(नन्दबहादुर राई)को मा टिका थाप्न जान्थ्यौं । उहाँहरुबाट आर्शिवाद थाप्थ्यौं । धरान आउनुअघि झापाको जलथलमा बस्दाको मधुरो सम्झना पनि छ, जतिबेला दशैंमा टिका लगाउने, छरछिमेकी र आफन्तहरुको घुइचो हुन्थ्यो । तर, प्रजातन्त्र पूर्नस्थापनापछिको पचासको दशकमा दशैं बहिष्कारको कुरा आयो । धरानका जनजातिहरु बिषेश गरि राई, लिम्बू जातिले टिका लगाउनै छोडे । त्यसको प्रभावमा हाम्रो परिवार पनि पर्यो । अनि, आफ्नै घरमा टिका नलगाउने भएपछि अरु आफन्तकोमा पनि टिका लगाउन जानु त उचित भएन । आमा बुबाले पठाउनै छोड्नुभयो । दशैंमा मावली घर जान छोडेपछि क्रमशः भेटघाट पनि पातलियो, ‘दशैंमा त नगएको’ भन्ने भावना केटाकेटी मनमा जाग्यो । आफ्नै आमाबुबा, अग्रजहरुले शिरमा हात राखेर आर्शिवाद दिएको क्षण पनि धुमिल हुदै गयो । स्कुल पढ्दा अरुको निधारमा रातो, सेतो टिका र शिरमा जमरा देख्दा आफ्नो मनमा पनि खुब रहर पलाउथ्यो, मेरो पनि निधारभरि टिका, शिरमा जमरा अनि अग्रजहरुको आर्शिवाद थापेर हिड्ने । उमेर छिप्पदै गएपछि आफुभन्दा साना भाई बहिनीको रहर देख्दा आमाबुबालाई भन्थे, टिका लगाउ न, सेतो नै भएपनि । उहाँहरु भन्नुहुन्थ्यो, छोडि त हाल्यौं, अब फेरि कसरी लगाउनु ? सायद उहाँहरुलाई लोकलाजको कारणले टिका लगाउन समस्या थियो ।
तर, यो दशैंको आगमनपूर्व ती किराती अगुवासँगको मेरो भेटमा म एउटा कुरासँग सहमत भएँ, साँच्चै अग्रजहरुले शिरमा हात राखेर आर्शिवाद दिने दशैं मात्र एउटा चाड रहेछ, भलै यो चाड हिन्दुधर्मावलम्बीहरुको किन नहोस् । आमा बुबाको आर्शिवाद सधै हामीमा रहीरहन्छ, तर दशैंको मौकामा त्यो प्रकट हुन्छ, हामीले प्रत्यक्ष महसुस गर्न पाउछौं, उहाँहरुको आर्शिवचन सुन्न पाउछ्यौं । दशैंको यो पक्षले फेरि मलाई लालयित बनायो र यो बर्ष दशैंमा सेतो टिका अनि जमरा लगाउने निर्णय गर्यौं । करिब डेढ दशकपछि हाम्रो घरमा दशैंमा टिका लगायौं, भाई बहिनी खुशी भए । आमाले आर्शिवाद दिनुभयो, मन खुशीले गदगद बन्यो । तर, यो खुशीको क्षणमा परिवारका सबै सदस्यहरु नहुदा भने घर जति उज्यालो हुनुपर्ने थियो, त्यति हुन सकेन । आशा गर्छु भविष्यमा पुर्णपरिवारका साथ दशैं मनाउन पाउँनेछौं ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे