पहिचान र संघीयतावादी शक्तिलाई मतदान गर्न यायोक्खाको आह्वान

 धरान । आसन्न संविधानसभाको निर्वाचनमा पहिचान र संघीयतावादी शक्तिलाई मतदान गर्न किरात राई यायोक्खाले आह्वान गरेको छ ।
राई जातिको साझा जातीय संस्थाकोरुपमा रहेको यायोक्खाले शुक्रबार धरानको सभागृहमा पूर्वाञ्चलव्यापी क्षेत्रीय आमसभा आयोजना गरि यस्तो आह्वान गरेको हो । आमसभालाई सम्बोधन गर्दै यायोक्खाकी केन्द्रीय अध्यक्ष यशोदा राईले पहिचानवादीहरु एक ठाउँमा हुनुपर्ने र किरात स्वायत्त राज्यको पक्षमा उभिनुपर्ने बताइन् । ‘हामीले पहिचानसहितको संघीयता खोजेको हौं, राज्यको पूर्नसंरचना गरिदा किरात स्वायत्त राज्य सुनिश्चित गरिनुपर्छ’–अध्यक्ष राईले भनिन्–‘अबको निर्वाचनमा तपाईहरुले यही कुरालाई मध्यनजर गर्दै राजनीतिक दल वा उम्मेदवारलाई भोट दिनुहोला ।’
यायोक्खाकी केन्द्रीय उपाध्यक्ष दुर्गा राईले राजनीतिक दलहरुको घोषणा पत्रको गहिरो अध्ययन गर्न आग्रह गर्दै पहिचान र संघीयता सुनिश्चित भए( नभएको बारेमा सचेत हुनुपर्ने बताइन् । ‘घोषणापत्रमा हाम्रो मुद्दालाई सम्बोधन भएको छ कि छैन ? पहिचानको मुद्दालाई सम्बोधन गरेको छ कि छैन ? त्यो हेरेर मात्रै राजनीतिक दललाई साथ दिनुपर्छ’–उपाध्यक्ष राईले भनिन्–‘राजनीतिक दल र उम्मेदवारहरुलाई राज्यको पुर्नसंरचना गरिदा पहिचानसहितको किरात राज्य सुनिश्चित गर्न दबाब दिनुपर्छ ।’
अर्का केन्द्रीय उपाध्यक्ष चन्द्रबिक्रम राईले किरात स्वायत्त राज्यको मुद्दा राई जातिले मात्रै उठाएको नभई इतिहासले पनि सम्बोधन गरेको बताए । पहिचान र संघीयताको मुद्दा जातीय नभएको दाबी गर्दै उनले एउटै भाषा, एउटै धर्म र सँस्कृति मान्नु पर्ने अवस्था भएमात्रै जातीय राज्य हुने बताए । ‘जहाँ एउटै धर्म, एउटै सँस्कृति मान्नुपर्ने हुन्छ, जहाँ एउटै भाषा मात्रै बोल्नुपर्ने हुन्छ भने त्यो जातीय राज्य हो’–उनले भने–‘तर, हामीले किरात राज्यमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चितताको सवाल उठाएका छौं ।’
उनले पनि विकासे आश्वासनको भरमा नेताहरुलाई भोट नदिन आग्रह गर्दै पहिचानको पक्षमा नभए भोट दिन्नौं भनेर प्रतिवाद गर्न आग्रह गरे । साथै उनले पहिचान एकल मात्रै हुने जिकिर गर्दै पहिचानसहितको राज्यभित्र सबै जातजाति तथा समुदायको समान अधिकार एवं सम्मान हुने बताए । ‘चियाको पहिचान भनेको चिया नै हो, तर त्यहाँ दुध, पानी, चिनी, चियापत्ति मिसिएको हुन्छ’–उदाहरण प्रस्तुत गर्दै उनले भने–‘तर, जे जस्तो घुलेको भएपनि त्यसको पहिचान वा नाम भनेको चिया नै हुन्छ, अरुथोक हुदैन । तसर्थ, पहिचान एकल कि बहुल भन्नै मिल्दैन, पहिचान एकल नै हुन्छ ।’
पहिचानसहितको संघीयतामा किरात स्वायत्त राज्यको सुनिश्चितताको लागि भन्दै आयोजित सभालाई प्राध्यापक डा.टंक न्यौपानेले पनि सम्बोधन गरेका थिए । उनले किरात स्वायत्त राज्यभित्र सबै जातिजाति तथा समुदाय अटाउन सक्ने भन्दै पूर्वी नेपालमा यो राज्य सुनिश्चितत हुनुपर्ने बताए । उनले पनि किरात एतिहासिकताको दृष्टिकोणले पनि सही भएको उनको धारणा थियो । ‘सबैलाई अटाउन सक्ने किरात राज्यको माग उचित छ, तपाईहरु अघि बढ्नुस’–उनले भने ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे