राजनीतिक संरक्षणमा हुने गुण्डागर्दी रोक्न सञ्चारकर्मीको सुझाव

इलाका प्रहरी कार्यालयमा हालै सरुवा भई आएका प्रमुख एवं डिएसपी सञ्जय सिंह थापाले आयोजना गरेको परिचयात्मक अन्र्तक्रियामा यहाँका सञ्चारकर्मीहरुले यस्तो धारणा राखेका हुन् । साथै, उनीहरुले प्रहरी कार्यालयलाई सञ्चारमैत्री बनाउन पनि सुझाव दिएका छन् । अपराधले राजनीतिक संरक्षण पाइरहेको र प्रहरी प्रशासनलाई चर्को दबाब आइरहेपनि कानुन वमोजिम कारबाही गर्न नहिच्किचाउन पनि पत्रकारहरुको सुझाव थियो । सञ्चारमैत्री प्रहरी कार्यालय बन्न सके अपराध नियन्त्रणमा सहकार्य एवं समन्वय गर्न सहज हुने पत्रकारहरुको धारणा थियो ।
‘प्रहरी कार्यालय सञ्चारमैत्री भइदियोस्, कुनै पनि सुचना पाउन पत्रकारहरुलाई व्यवधान नहोस्’–पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरेले भने–‘अपराधको रुपहरु पनि फेरिदैछ, नयाँ नयाँ तरिकाले समाजमा अपराधको जालो फैलिदैछ, त्यसलाई बुझेर प्रहरी प्रशासनले तोड्नुपर्छ ।’ धराने जस्ता विकास प्रेमी, सहयोगी भएको र यहाँको सँस्कार,सँस्कृति बुझेर काम गर्न सके धेरै सजिलो हुने उनले बताए ।

पत्रकार गोपाल देवानले अपराधमा राजनीतिकरण र राजनीतिमा अपराधको साँठगाठले दबाब खेप्नु पर्दा प्रहरी प्रशासनले पनि काम गर्न नसकेको धारणा व्यक्त गरे । पत्रकार र प्रहरीबीच समन्वय एवं सहकार्य भए अपराध नियन्त्रण हुने उनको भनाई थियो । आदिबासी जनजाति पत्रकार महासंघ(फोनिज)का केन्द्रीय उपाध्यक्ष भैरव आङ्लाले ‘डन’ एवं गुण्डागर्दी प्रवृत्तिका व्यक्तिहरुसामु प्रहरी प्रशासन निरीह देखिन नहुने धारणा व्यक्त गरे । बिबिसि नेपाली सेवाकी सीता मादेम्बाले प्रहरीले राम्रो काम गरे सबैले साथ दिने उल्लेख गर्दै प्रहरी अधिकारीहरुसँग गुण्डागर्दी एवं अपराधिक व्यक्तिहरुको पहुँचलाई तोड्नुपर्ने बताइन् । फोनिज सुनसरीका अध्यक्ष जनकऋर्षि राईले नयाँ प्रहरी प्रमुख आउदा मात्रै नभई अपराध नियन्त्रणको एक्सन निरन्तर जारी राख्नुपर्ने बताए ।

Comments
Post a Comment