प्रशोधित मिनरल वाटरमा लेऊ र सेतो लेदो



धरान । न्यू हलेसी जल नामको प्रशोधित पिउने पानी(मिनरल वाटर)मा लेउ, सेतो लेदोलगायतको अखाद्य बस्तुहरु मिसिएको फेला परेको छ ।
एक होटलबाट खरीद गरेर पिउने क्रममा धरानका युवा सुवास हुक्पा चोङवाङले हलेसी जलमा लेऊ र सेतो लेदो मिसिएको फेला परेका थिए । मानव स्वास्थ्यसँग खेलवाड भएको भन्दै उनले शुक्रबार नै इलाका प्रहरी कार्यालय धरानमा गुणस्तर जाँच र आवश्यक कारबाहीको माग गर्दै निवेदन दिएका छन् । उनको निवेदन पछि प्रहरीले शुक्रबार नै केही पसल एवं होटलहरुमा हलेसी जलको खोजी गरेको थियो । तर, थप परिणाम भने फेला पर्न सकेन ।
उपभोक्ता चोङवाङका अनुसार शुक्रबार दिउँसो आफन्तहरुसँग पानी पिउन हलेसी जल धरान १०, रागा चोकस्थित एक होटलबाट किनिएको थियो । उक्त बोटलको पानी आधा पिइसक्दा मात्रै लेउ र लेदो भएको उनीहरुले पत्तो पाएका थिए । थप दुई वटा बोटलमा चेक गर्दा पनि त्यस्तै लेऊ र सेतो लेदो भरिएको फेला परेको चोङवाङले बताए । ‘मैले त आधा बोटल पानी पिइसकेको थिएँ, त्यसपछि मात्रै देख्यौं’–उनले भने–‘यो त उपभोक्तामाथि सिधै खेलवाड हो, अनुगमन र कारबाही हुनुपर्छ ।’ यो पानी सुनसरीको तरहरा २ स्थित न्यु हलेसी जल प्रालिबाट उत्पादन भएको हो । यसको ब्याच नम्बर १ एच ००१ छ भने उत्पादन मिति सेप्टेम्बर १५ उल्लेख छ ।
उनले शुक्रबार नै तीन बोटल पानीसहित प्रहरीमा ठाडो निवेदन दर्ता गराएका छन् । निवेदनमा बोधार्थ इलाका प्रशासन र जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी दिइएको छ । निवेदन आएपछि प्रहरीले दिउँसो रागा चोक र भानुचौक क्षेत्रका केही होटल र पसलहरुमा हलेसी जलको चेकजाँच गरेपनि थप बोटल भने फेला नपरेको प्रहरी निरीक्षक ओमप्रकाश खनालले बताए । ‘भर्खरै खुलेको कम्पनी रहेछ, त्यसैले अरु बोटलहरु फेला पर्न सकेन, निवेदनसहित आएको बोटलको नमुना सिल गरेर परीक्षणका पठाउने तयारी गर्दैछौं’–उनले भने ।
प्रहरीका अनुसार पानीको गुणस्तर जाँच र कारबाहीको जिम्मा खाद्य गुण नियन्त्रण विभागको क्षेत्राधिकारमा पर्ने भएकोले जाँचको लागि सिल गरिएको पानी त्यही पठाइनेछ । बजारमा थप त्यस्ता पानी भए नभएको बारेमा पनि विभाग र प्रशासनसँग समन्वय गरेर अनुगमन गर्ने डिएसपी टेकबहादुर तामाङले बताए । ‘खाद्य गुण नियन्त्रक विभागमा नमुना पठाएर आवश्यक कानुनी कारबाहीको प्रक्रिया थाल्छौं, कम्पनी, वितरक र बिक्रेतालाई आवश्यक कारबाही हुन्छ’–डिएसपी तामाङले भने ।
न्यु हलेसी जल प्रालिले गत असोज १ गतेदेखि मात्रै प्रशोधित पानी उत्पादन गर्न थालेको हो । यसअघि पनि तरहरास्थित आत्माराम श्रेष्ठको पसलमा पनि यस्तै लेदो भरिएको पानी फेला परेपछि हलेसी प्रालिलाई उपभोक्ताहरुले जानकारी गराएको थियो । प्रालिमा ७ जना सञ्चालकहरु छन् । प्रालिका संस्थापक मध्ये एक गोविन्द रेग्मीले पहिला पनि उपभोक्ताबाट गुनासो आएकोले पानी गुणस्तर चेक गर्दा कुनै खराबी नभेटिएको दाबी गरे । उनका अनुसार सिमएन र खाद्य प्राविधिबाट नै गुणस्तर जाँच गरेर पानी उत्पादन गर्न थालिएको हो । अर्का, सञ्चालक डिकबहादुर घिमिरेले भने पहिलो लटमा उत्पादन भएको बोटल नै खराब भएकोले समस्या देखिएको बताए । पानीको गुणस्तर भने एकदम राम्रो भएको उनको दाबी छ । ‘पहिलो लटको बोटल २ नम्बर परेछ, पछि हामीले त्यो बोटल चलाउनै छोड्यौं र १ नम्बरकै चलाउदैछौं’–उनले भने–‘पानीको गुणस्तरमा कुनै समस्या होइन, पछि ल्याब टेष्ट गर्दा पनि ठिक थियो ।’ बजारमा वितरण भएको पहिलो लटको बोटलहरु संकलन गर्ने क्रम जारी रहेको र उपभोक्तबाट गुनासो भएलगत्तै संकलन गरिरहेको पनि उनले बताए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे