एमालेमै किन फर्किए मोति सुनुवार ?

उनको राजिनामाले जिल्लामा एमालेलाई धक्का पुगेको र सुनसरी १ मा एमालेको हार हुने जस्ता चर्चाले बजार तात्तियो । एमाओवादीको चुनावी आमसभाको क्रममा अध्यक्ष प्रचण्डसँग होटल कञ्चनजंघामा गोप्य भेटवार्ता गरेका सुनुवार एमाओवादीमा प्रवेश गर्ने हल्ला थियो भने संघीय समाजवादी पार्टीमा प्रवेश गर्ने चर्चाले पनि बजार पिट्यो । पत्रकारले सोधेको प्रश्नमा पनि उनले समाजवादीमा प्रवेश गर्ने झैं संकेत दिएका थिए । यद्यपी, केही दिनपछि निर्णय गर्ने उनले बताएका थिए ।
सुनुवारले पार्टी सचिव र साधारण सदस्यबाटसमेत राजिनामाको घोषणापछि बजारमा मात्रै होइन, सामाजिक सञ्जाल फेसबुकमा पनि निक्कै तात्तो बहस चल्यो । कसैले उनको कदम सही हो भने, कसैले अनेकन गालीगलौज गरे । उनकै पार्टीका नेता, कार्यकर्ताहरुले धोकेवाज, स्वार्थी, बेइमान, अवसरबादी जस्ता तुच्छ शब्द प्रहार गरे । यतिसम्म की पार्टीका नेता, कार्यकर्ताहरुबीच कुनै प्रंसग उठ्यो कि ‘म मोति कमरेड होइन नि !’ भन्दै उनको खिल्ली उडाउने काम पनि भयो । चुनाव आउन तीन सातामात्रै बाँकी रहदाको अवस्थामा आएको राजिनामा प्रकरणले अब उनलाई एमालेमा कुनै ठाउँ छैन, त्यसैले कुनै अरु पार्टीमा जानुको विकल्प उनीसँग छैन भन्ने प्रत्यक्ष, अप्रत्यक्ष धारणा विभिन्न नेता, कार्यकर्ता र व्यक्तिहरुबाट सार्वजनिक भइरहे । अब फेरि एमालेमा प्रवेश गर्नु भनेको उनी सिधिनु हो, चुनाव पछि उनलाई पार्टीले सिधै कारबाही नगरेपनि भुमिकाविहिन बनाउदै जान्छ भन्ने अनुमान गरियो, चर्चाहरु भयो । तर, बिहिबार अचानक ती सबै अनुमानलाई गलत सावित गराउदै राजिनामाका ठिक १० दिनपछि सुनुवारले पार्टीको पदमा पूर्नवहाली भएको विज्ञप्ती निकाले ।

राजिनामाको घोषणा गर्दा उनले पत्रकारहरुमाझ भनेका थिए, ‘पार्टी कमिटिलाई राजिनामा पत्र बुझाउछुँ ।’ तर, दश दिन बितिसक्दा पनि उनले पार्टीमा औपचारिकरुपमा राजिनामा पत्र भने बुझाएका रहेनछन् । त्यसबीचमा उनले समाजवादी पार्टीको केन्द्रीय ‘उपमहासचिव’ पदमा र एमाओवादीमा केन्द्रीय समिति सदस्यको लागि ‘बार्गेनिङ’ गरिरहेको पनि कुरा सार्वजनिक हुदै गयो । अघिल्लो निर्वाचनमा सुनसरी १ मा एमाओवादीबाट पराजित हुदै एमालेले आफ्नो पकड क्षेत्र गुमाएको थियो । यो राजिनामा प्रकरणबाट झस्किएको एमाले यस्ता गाईगुईबाट नतर्सिने कुरै भएन । त्यसैले, उनलाई सकेसम्म पार्टीमा फर्काउन र नसके मंसिर ४(चुनाव)सम्म तटस्थ राख्न एमालेका मजदुर नेताहरुलाई खटिए । मजदुर पृष्ठभुमिबाट राजनीतिको मुलप्रवाहमा आएका उनलाई मजदुरहरुले भेला डाकेर पार्टीमा फर्कन दबाब दिए । राजिनामाको घोषणा गरेपनि पार्टीमा औपचारिकरुपमा राजिनामा नबुझाई बसेका सुनुवारको आक्रोश मत्थर हुदै थियो, पार्टीप्रतिको आवेगको ज्वाला सितल हुदै गएको थियो । त्यसमाथि, एमाओवादी र समाजवादी पार्टीबाट उनको ‘डिमाण्ड’लाई राम्रोसँग ‘रेस्पोन्स’ नदिइरहेको उनले बुझिसकेका थिए । राजिनामा प्रकरणको एक सातामा नै उनलाई पश्चाताप लागिसकेको हुनसक्छ । त्यसैले त, कोशी अञ्चल समन्वय कमिटिका सचिव जीवन घिमिरेले एउटा सादा कागजमा हस्ताक्षर गर्दै ‘सुनुवारले उठाएको बिषयमा चुनाव पश्चात छलफल गरिने’ आश्वासन दिदै सचिवको जिम्मेवारीमा फर्कन ‘निर्देशन’ दिएलगत्तै पार्टीमा फर्किए ।

यद्यपी, सुनुवारले आफ्ना मागहरुबारे पार्टी नेतृत्वको गम्भीर ध्यानाकर्षण भएको र चुनाव पछि छलफल गर्ने आश्वासन दिएकोले पुनः एमालेमा फर्किएको बताएका छन् । र, उनले बिहिबारबाटै चुनावी अभियानमा सहभागी भएको बताएका छन् ।‘मैले उठाएका बिषयहरुमा पार्टी नेतृत्वबाट ध्यानाकर्षण हुदै कुरा ठिक छ, तर चुनाव पछि गम्भीर छलफल गर्ने व्यहोराको पत्र प्राप्त भयो, त्यसैले आजैदेखि पदीय जिम्मेवारीमा फर्किएको हँु’–बिहिबार सुनुवारले यो पंक्तिकारसँग भनेका थिए । उनले बुझेको पत्र भने पार्टीको आधिकारिक लेटरप्याड थिएन र स्टाम्प पनि थिएन । एमाले कोशी सचिव घिमिरेले आफु पार्टी काममा केही दिनदेखि सुनसरीमा नै भएकोले लेटरप्याड र स्टाम्प प्रयोग गर्न नपाएको तरपनि पत्र आधिकारिक नै भएको बताए । उनले भने–‘उहाँको गुनासाहरु सार्वजनिक भएको थियो, त्यसबारे चुनाव पछि छलफल गर्ने भनेका छौं, पत्र मैले नै हस्ताक्षर गरेको दिएको हँु, आधिकारिक नै हो ।’
Comments
Post a Comment