कोशीका यातायात व्यवसायी र मजदुरले वन्द अवज्ञा गर्ने

 धरान । संविधानसभा निर्वाचनको विरोधमा नेकपा माओवादीले आह्वान गरेको दशदिने लामो बन्दलाई कोशीका यातायात व्यावसायी एवं मजदुरहरुले मंगलबारदेखि अवज्ञा गर्ने भएका छन् ।
दश दिने लामो वन्दको पहिलो दिन संयमता अपनाएर आमहड्ताललाई साथ दिएपनि कार्तिक २६ गतेदेखि यातयात मात्रै बन्द गर्ने घोषणा गरिएपछि यहाँका व्यावसायी एवं मजदुरहरुले विरोध जनाउदै यातायात सुचारु गर्ने सहमति गरेका हुन् । सोमबार धरानमा विभिन्न ६ वटा यातायात व्यवसायी तथा मजदुर संगठनहरुको वैठक बसेर निर्वाचन असफल पार्ने नाममा २६ गतेदेखि यातायात मात्रै बन्दको घोषणा अन्यायपुर्ण भएको ठहर गर्दै असहमति प्रकट गरेका थिए ।
राज्यलेसमेत सुरक्षाको प्रत्याभूति गर्ने र ९० प्रतिशत क्षतिपूर्तिवापत व्यहोर्ने घोषणा गरिसकेकोले मंगलबारदेखिको बन्द अवज्ञा गर्ने निर्णय गरिएको नेपाल यातायात व्यावसायी राष्टिय महासंघ कोशी अञ्चल कमिटिका अध्यक्ष सरोज श्रेष्ठले बताए । ‘नेकपा माओवादीले आम हडतालपछि आन्दोलनको स्वरुपमा परिर्वतन गर्नसकिने बताएकोले आज संयमता अपनायौं’–अध्यक्ष श्रेष्ठले भने–‘तर, उहाँहरुले २६ गतेदेखि यातायात मात्रै बन्द गर्ने निर्णय नसच्याएपछि यसले यातायात व्यवसायी र मजदुरलाई मार पर्ने भएकोले अवज्ञा गर्ने निर्णय गरेका छौं ।’
सार्वजनिक सेवाका सवारीसाधानहरु दश दिनसम्म निरन्तर वन्द गरिदा लाखौं मजदुर तथा व्यावसायीहरुको जिविका चलाउन समस्या हुने भएकोले यस्तो निर्णय लिन बाध्य भएको अध्यक्ष श्रेष्ठको भनाई छ । बैठक पछि यातायात संघसंगठनहरुले एक विज्ञप्ती निकाल्दै सवारीसाधान सहजरुपमा सुचारु गर्न सहयोग पुर्याउन प्रहरी प्रशासन, राजनीतिक दल एवं सरोकारवालाहरुसँग आग्रह पनि गरेको छ । ‘मुलुकमा रहेका सबै राजनीतिक दललाई समानरुपले सम्मान गर्दै आफ्नो रोजीरोटीको खातिर कार्तिक २६ गतेदेखि सम्पुर्ण सार्वजनिक यातायातका साधान बाध्य भई पूर्ववत सञ्चालन गर्ने व्यहोरा अनुरोध गर्न चाहन्छौं’–विज्ञप्तीमा भनिएको छ ।
नेपाल यातायात व्यावसायी राष्टिय महासंघ कोशी अञ्चल कमिटि, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल चालक मजदुर संघ, संयुक्त परिवाहन समितिले संयुक्तरुपमा विज्ञप्ती निकालेका हुन् ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे