डिपो कपको उपाधि आयोजकलाई(फोटोफिचर)

धरान । प्रावितहको जिल्लास्तरीय १३ औं ललित–अम्बर डिपो कप फुटबल प्रतियोगिताको उपाधि आयोजकको टिम डिपोट ‘ए’ ले जितेको छ । धरान १८ स्थित डिपोट उच्चमाविको मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा पुर्व क्षेत्रीय प्रहरी स्कुललाई २–० गोलअन्तरले हराउदै डिपोटले उपाधि जितेको हो ।
आयोजकले घरेलु मैदानमा डिपो कपको उपाधि जितेको यो तेस्रो अवसर हो । यसअघि पहिलो र तेस्रो सँस्करणमा पनि आयोजक च्याम्पियन बनेको थियो । प्रहरीले भने प्रतियोगिताको दोस्रो सँस्करणमा मात्र जित हात पारेको छ । उपाधिको लामो खडेरी टार्ने मौकामा यो बर्ष पुनः प्रहरी असफल भयो । खेल अवधिभर शारीरिक र प्राविधिकरुपमा वलियो रहेपनि प्रहरीले गोल गर्न भने सकेन । डिपोटका अरुण राई र कृष्ण विष्टले एक एक गोल गर्दै टिमलाई जित दिलाए । पहिलो हाफको २१ औं मिनेटमा अरुणले पहिलो गोल गरेका थिए । प्रहरीको डिबक्समा वल क्लियर हुन नसकेको फाइदा उठाउदै उनले गोल गरेका थिए ।
यस्तै, दोस्रो हाफको २१ औं मिनेटमा कृण्ण विष्टले दोस्रो गोल गर्दै आयोजकको जित सुनिश्चित गरेका थिए । उनले डि बक्सबाहिरबाट प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत भएको थियो । प्रहरीका गोलकिपर सुजन थापाले डिबक्स बाहिर पुगेर वल प्रहार गरेको भन्दै रेफ्री अर्जुन बुढाथोकीले डिपोटलाई फ्रि किक दिएका थिए । उनको निर्णयप्रति असन्तुष्ट बनेका प्रहरीका कोच मैदानभित्रै पुगेपछि केहीबेर तनाव उत्पन्न भएको थियो । त्यसपछि, प्रहरीका खेलाडीहरु आक्रमक भएर खेलेका थिए ।
जितसँगै डिपोटले च्याम्पियन ट्रफी र नगद ७ हजार, मेडल र प्रमाणपत्र हात पारे भने प्रहरीले उपविजेता ट्रफी र नगद ५ हजारमा चित्त बुझायो । प्रतियोगितामा तेस्रो भएको होलिल्याण्ड इन्टरनेशनल स्कुल धरान १५ ले ट्रफीसँगै नगद ३ हजार पायो । फाइनल खेलको म्यान अफ दि म्याचसँगै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी प्रहरीका सुजित थापा घोषित भए । यस्तै, उत्कृष्ट गोलकिपर प्रहरीका सुजन थापा, उत्कृष्ट डिफेन्स डिपोट ए का कृष्ण विष्ट घोषित भए भने उदयीमान खेलाडीकोरुपमा डिपोटका गोलकिपर योगेश लिम्बु घोषित भए । प्रतियोगितामा ३ गोल गरेका इमानुयल बोर्डिङ स्कुलका डिकेन्द्र राईले हाइ स्कोररको पुरस्कार थापे ।
विजेता तथा उपविजेता टिम र खेलाडीहरुलाई आयोजक डिपोट उमाविका व्यवस्थापन समिति अध्यक्ष श्रवणकुमार लिम्बु, प्रमुख अतिथि एवं पुर्वक्षेत्रीय शिक्षा निर्देशनालयका सहायक निर्देशक सुर्यकिरण भण्डारी, उपाध्यक्ष नन्दकुमार राई, आयोजक समितिका संयोजक भिमराज लिम्बु, अतिथिहरु कृष्णकुमार राई, इन्द्रमाया लिम्बु, लक्ष्मी बैंकका शाखा प्रमुख बरबारिक पोख्रेल, हरिबहादुर लिम्बुलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता अन्र्तगतको दिलकुमार प्लेट च्याम्पियनसिप कपतर्फको विजेता धरानको नवज्योति बोर्डिङ स्कुल र उपविजेता इटहरीको नेपाल डिभिएम ग्लोबल स्कुललाई पनि शुक्रबार ट्रफी तथा पुरस्कार वितरण गरिएको थियो । प्लेट च्याम्पियनको बिहिबार भएको फाइनलमा टाइब्रेकरमा नवज्योतिले ५–४ गोल अन्तरले डिभिएमलाई हराएको थियो । नवज्योतिले प्लेट च्याम्पियन ट्रफीसँगै नगद ३ हजार, मेडल र प्रमाणपत्र तथा उपविजेताले ट्रफीसहित नगद २ हजार, मेडल र प्रमाणपत्र हात पा¥यो ।

















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे