एपिएफ फाइनलमा, आर्मी र मध्यमाञ्चलको बिहिबार टाइब्रेकर हुने(फोटोफिचर)
धरान । सातौं वृहत राष्ट्रिय खेलकुदअन्र्तगत पुरुष फुटबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनल पुगेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा बुधबार भएको पहिलो सेमीफाइनल खेलमा अतिरिक्त समयमा नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै एपिएफ फाइनल पुगेको हो ।
लगत्तै नेपाल आर्मी र मध्यमाञ्चल क्षेत्रबीच भएको दोस्रो सेमीफाइनल खेल भने निर्धारित समय र थप समयमा पनि गोलरहित बराबरी भएपछि अनिर्णित अवस्थामा नै स्थगित भएको छ । ट्राइब्रेकर गर्न समय अभाव भएपछि उक्त खेलको छिनोफानो बिहिबार बिहान ९ बजे सिधै टाइब्रेकरबाट हुने आयोजकले जनाएको छ । पहिलो खेलमा पनि एपिएफ र पुलिसबीच निर्धारित समयमा निर्णायक गोल हुन नसकेपछि थप ३० मिनेट खेलाइएको थियो । अतिरिक्त समय अतिरिक्त समयको १० मिनेटमा रामकुमार कुमालको पासमा युवराज खड्काले एपिएफका लागि पहिलो गोल गरे भने २९ औं मिनेटमा रामकुमारले दिएको पासमा नविन लामाले दोस्रो गोल गरे ।रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही गोल गर्ने मौका खेर फालेको थियो । पहिलो हाफको १७ औं मिनेटमा हरि कार्की हेड गर्न चुक्दा एपिएफले अग्रता लिनबाट बञ्चित भयो भने २१ औं मिनेटमा श्याम नेपालीले डि बक्स भित्रबाटै गोल गर्न सकेनन् । उता, पुलिसले पनि पहिलो हाफको ५ मिनेटमा बुद्ध लामा गोल गर्न चुक्दा अग्रता लिन सकेन । निक्कै आक्रामक खेलेको पुलिसले लगत्तै ७ मिनेटमा जुमानु राईको प्रहार पनि गोलकिपरले समात्यो भने १२ आंै मिनटेमा भरत साहको प्रहार सिधै एपिएफको किपरले समाते । अतिरिक्त समयमा निरकुमार राईले वान भर्सेस वानमा पनि गोल गर्नबाट चुक्नु पुलिसको दुर्भाग्य भयो । उक्त खेलको म्या अफ दि म्याच घोषित हुदै एफिएफका रामकुमार कुमालले एन्फा उपाध्यक्ष किसोर राईबाट नगद ५ हजार हात पारे ।
दोस्रो सेमीफाइनल खेलमा भने नेपाल आर्मी र मध्यमाञ्चल क्षेत्रबीच निर्धारित र अतिरिक्त समयमा निर्णायक गोल हुन सकेन । अध्यारो भइसकेकोले टाइब्रेकर हुन नसकेपछि बिहिबार पुनः दुवै टोलीबिच सिधै टाइब्रेकर हुन भएको छ । बिहिबार टाइब्रेकरबाट फाइनल जाने टोली छानिए पछि हार्ने टिमले दिउसो तेस्रो स्थानको लागि नेपाल पुलिससँग खेल्नुपर्नेछ । विजेताले भने एपिएफसँग शुक्रबार फाइनल खेल्नेछ ।








Comments
Post a Comment