किरातेश्वर माविमा सिसिटिभी, प्राजेक्टरबाट पढाई(फोटोफिचर)

धरान । किरातेश्वर मावि धरान १९ का शिक्षक सुरेन्द्र श्रेष्ठ सधै झै बुधबार पनि कक्षा ९ को कोठामा प्रवेश गरे । तर, विगतमा जस्तो उनले बोर्डमा मार्करले पठाउने बिषय लेखेनन् । औलाले प्रोजेक्टरको वटन दबाए, बोर्डमा देखियो प्राकृतिक स्रोतको परिचय ।
स्वास्थ्य, जनसंख्या तथा वातावरण बिषयका शिक्षक उनले प्राकृतिक स्रोतबारे विद्यार्थीलाई पढाउदै गए । सँगसँगै ल्यापटप र प्रोजेक्टरको माध्यमबाट प्राकृतिक स्रोतका तस्बिरहरु पनि देखाउदै गए । विद्यार्थीहरु पढाइको नयाँ विधि र प्रविधिबाट अचम्म परे, र उत्साहित पनि भए । सामुदायिक विद्यालयको पढाई एवं सिकाईस्तर वृद्धि गर्ने उद्देश्यले यो विद्यालयले बुधबारदेखि प्रोजेक्टरबाट अध्यापन शुरु गराएको हो । नयाँ विधिबाट पढाउदा प्रभावकारी हुने र विद्यार्थीको सिकाई क्षमता सुनेको भन्दा दिगो हुने भएकोले उत्साह थपिएको शिक्षक श्रेष्ठले बताए । ‘यो त एकदमै आवश्यक थियो, प्रविधिको युगमा विद्यार्थीहरुलाई यो विधिबाट पढाउन पाउदा उनीहरुको भविष्यको लागि ज्यादै उपयोगी हुन्छ’–उनले भने ।
विद्यालयमा पढाईको यो विधि अपनाउन कुनै सरकारी बजेट वा कार्यक्रम आएको भने होइन । धरान चौकीबारी समाज, हङकङले एक थान प्रोजेक्टर, एक थान ल्यापटपसँगै १० थान कम्प्युटर पनि प्रदान गरेपछि मात्र विद्यालयले पढाईको यो विधि अपनाउन सम्भव भएको हो । समाजले विद्यालयलाई ५ सेट सिटिटिभी क्यामेरा, सोलर र इन्र्भटरसमेत उपलब्ध गराएको छ । ती सामग्रीहरुको मुल्य ५ लाख ३८ हजार बराबर हो । त्यसबाहेक मर्मत सम्भारको लागि भनेर समाजले अक्षय कोषको लागि थप १ लाख ११ हजार पनि विद्यालयलाई दिएको छ । समाजका सचिव बालकुमार राई र सदस्य बुद्धिमान सुनुवारले नगद तथा सामग्री प्रअ योगेन्द्र पालुङ्वालाई हस्तान्तरण गरेका थिए । चौकीबारी समाज हाल हङकङमा रहेका धरान १९ चौकीबारीका बासिन्दाहरुको संस्था हो ।
प्रअ पालुङवाका अनुसार कक्षा ८, ९ र १० का विद्यार्थीलाई प्राजेक्टर प्रयोग गरेर पढाइनेछ भने कक्षा ९ र १० मा सिसिटिभी जान गरेर कक्षाको नियमित अनुगमन, निरीक्षण शुरु भइसकेको छ । साथै, विद्यालय प्रवेश द्धारदेखि मैदानको सबै भाग देखिने गरी एउटा सिसिटिभी जडान गरिएको छ भने अर्को बालविकास केन्द्रमा राखिएको छ । आधुनिक तरिकाले शिक्षण गर्न कम्युटर ल्याबमा इन्टरनेटसमेत जडान छ । ‘माथिल्लो कक्षा ९ र १० लाई हरदम सिसिटिभीबाट निगरानी भएपनि विद्यार्थीहरु अनुशासित हुन्छन्, टिचरहरु पनि निगरानीमा हुन्छन् । माथिल्लो कक्षाका विद्यार्थीहरु अनुशासनमा रहेपछि तलका अन्य विद्यार्थीहरुमा पनि त्यसको सकरात्मक प्रभाव पर्छ’–प्रअ पालुङ्वाले भने–‘कक्षा ६, ७ र ८ मा कम्प्युटर बिषय छ, तर उनीहरुले नछोईकन पास हुन्थे । अब कम्प्युटरको संख्या थपिएकोले व्यावहारिक ज्ञान पनि पाउनेछन् ।’ विद्यालयमा हाल कम्प्युटरको संख्या १४ वटा पुगेको छ । कम्तीमा २५ वटा पु¥याउने लक्ष्य राखिएको प्रअ पालुङ्वाले बताए । विद्यालयकी पुर्व कर्मचारी शुशिला कुँवरले पनि बुधबारै विद्यालयलाई एक थान फेन प्रदान गरिन् ।
धरान स्रोत केन्द्रका स्रोत व्यक्ति खेमचन्द्र सुवेदीले कम्प्युर ल्याबको उच्चतम उपयोगबाट विद्यार्थीहरुको ज्ञान र सिकाई वृद्धिमा धेरै फाइदा हुने बताए । चौकीबारी समाज, हङकङका सदस्य बुद्धिमान सुनुवारले शैक्षिक विकास एवं गुणस्तर वृद्धिको लागि सहयोग गरेको खुलाउदै सदुपयोग गर्न आग्रह गरे । सामग्रीमा कुनै समस्या आएमा मर्मत गर्न सहज होस् भनेर अक्षय कोषको लागि पनि रकम उपलब्ध गराएको उनले बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष देउमान ताप्मादेनले प्रविधिहरुको भरपुर उपयोग गरिने बताए  ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे