सातौं खेलकुदअन्र्तगत धरानमा फुटबल शुरु, पुलिस र मध्यामञ्चलको जित

धरान । सातौं वृहत राष्ट्रिय खेलकुदअन्र्तगत पुरुष फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र मध्यामञ्चल क्षेत्रले विजयी शुरुवात गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा बिहिबार शुरु भएको प्रतियोगितामा जित हात पार्दै पुलिस र मध्यामञ्चल दुवैले महत्वपुर्ण ३ अंक बटुल्यो ।
लिगकम नकाउटको आधारमा शुरु प्रतियोगिताको लिग चरणको उद्घाटन खेलमा पुलिसले पुर्वाञ्चल क्षेत्रलाई २–१ गोलअन्तरले हरायो । खेलमा पुलिसले पहिलो हाफमा २ गोलले अग्रता लिएको थियो भने पुर्वाञ्चलले दोस्रो हाफमा एक गोल फर्काएको थियो । खेलअवधिभर थुप्रै गोल गर्ने अवसर पाए पनि पुर्वाञ्चलले सदुपयोग गर्न नसक्दा महत्वपुर्ण अंक गुमायो ।
पहिलो हाफको १९ औं मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएको थियो । भोला सिलवालको पासलाई उनले सदुपयोग गर्दै वल जाली चुमाएका थिए । पहिलो हाफकै ३१ औं मिनेटमा बुद्ध लामाले दोस्रो गोल गर्दै पुलिसको गोलअन्तर दोब्बर बनाए । दोस्रो हाफमा भने पुलिसले कुनै पनि गोल गर्न सकेन । दोस्रो हाफमा लयमा फर्कर्दै पुर्वाञ्चलले एक गोल फर्कायो । दोस्रो हाफको २४ औं मिनेटमा पुर्वाञ्चलका दिपक राईले फ्रि किकबाट गोल गरेका थिए । उनले करिब २० यार्ड टाढाबाट गरेको प्रहार सिधै जाली चुमेको थियो ।
पुर्वाञ्चलले दोस्रो हाफमा अवसरहरु पाए पनि सदुपयोग गर्न सकेन । दोस्रो हाफको नवौं मिनेटमा खामिर गिल्सन कन्दङ्वाको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले बचाउ गरे भने लगत्तै निशान लिम्बुको कडा प्रहारलाई पनि उनले असफल बनाए । १६ औं मिनेटमा दिपक राईको कडा प्रहारलाई पुलिसका गोलकिपरले गोल हुन दिएनन् । यस्तै, ३० औं मिनेटमा डि बक्सभित्रबाट दिपकको प्रहार आकासियो भने ३६ औं मिनेटमा वान भर्सेस वानको स्थितिमा पनि निशान लिम्बुको फितलो प्रहार पुलिसका गोलकिपरले समाते ।
यस्तै, दोस्रो खेलमा मध्यमाञ्चल क्षेत्रले पश्चिमाञ्चल क्षेत्रलाई ३–० गोलअन्तरले हरायो । मध्यमाञ्चलले तीनै गोल दोस्रो हाफमा गरेको थिया । राष्ट्रिय टोलीका खेलाडी अनिल गुरुङ, हेमन गुरुङ र विमल घर्ती मगरसहित उच्च मनोवलका साथ मैदानमा ओर्लिएको पश्चिमाञ्चलले अपेक्षाअनुरुप खेल प्रर्दशन गर्न भने सकेन । मध्यमाञ्चलको लागि निरबहादुर आले, रुमेश बर्तौला र श्याम बाबुले गोल गरे । दोस्रो हाफको १९ औं मिनेटमा निरबहादुरले मध्यमाञ्चलको लागि खाता खोले भने ३२ औं मिनेटमा रुमेशले गोलअन्तर दोब्बर पारे । यस्तै, ३९ औं मिनेटमा करिब ३० यार्डको दुरीबाट आकर्षक गोल गर्दै श्याम बाबुले मध्यमाञ्चलको जीत पक्का गरे ।
 पहिलो हाफको १८ औं मिनेटमा पश्चिमाञ्चलका विश्व अधिकारीको प्रहार मध्यमाञ्चलका गोलकिपर दिपेश यादवले समाते भने ३५ औं मिनेटमा हेमन गुरुङको प्रहार पोष्ट माथिबाट बाहिरियो । प्रतियोगिताको उद्घाटन गर्दै एन्फाका नवनिवार्चित अध्यक्ष नरेन्द्र श्रेष्ठले अब नेपाली फुटबलमा नयाँ युग शुरु भएको धारणा राखेका थिए । प्रतियोगितामा शुक्रबार पहिलो खेल सशस्त्र प्रहरी वल र मध्य पश्चिम क्षेत्र तथा दोस्रो खेल सुदुर पश्चिमाञ्चल क्षेत्र र नेपाल आर्मी टिमबीच हुनेछ ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे