राष्ट्रिय खेलकुद आयोजनाबाट सन्तुष्ट छुः सदस्य सचिव विष्ट
धरान । राष्ट्रिय खेलकुद प्रतियोगिता भएर पनि सातौं सँस्करण फितलो र भद्रगोलरुपमा आयोजना भइरहेको भनि आलोचना भइरहे पनि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले भने आफु सन्तुष्ट रहेको बताएका छन् ।बुधबार धरानमा सातौं खेलकुदको समापनबारे आयोजित पत्रकार सम्मेलनमा उनले व्यावस्थापनमा कमीकमजोरी रहेको स्वीकार गरेपनि सिमित बजेट र साधनस्रोतको वावजुद प्रतियोगिता आयोजना भएकोले आफु सन्तुष्ट रहेको बताए । ‘मुल्यांकन नै गर्ने हो भने सन्तुष्टी छ, व्यवस्थापनमा सामान्य छैन तर पहिलाको जस्तो धेरै विवादहरु भएको छैन’–उनले भने–‘सानो बजेटमा यतिको कार्यक्रम भएको छ । खोज्दै गयौं भने असन्तुष्टीहरु धेरै छन् तर सिमित स्रोत साधन, सिमित समयभित्र थोरै बजेटमा गर्नु प¥यो, यी सबै कुराबाट हेर्दा सन्तुष्टी हुनुपर्छ ।’
पुर्वघोषणा अनुसार पुर्वाधार तयार नगरी राष्ट्रिय खेलकुद किन गराएको भन्ने प्रश्नमा उनले पुर्वाधारलाई बजेट नछुट्याएको र जे जस्ता पुर्वाधार थिए, त्यसैलाई स्तरोन्नती गरेर आयोजना गरिएको जिकिर गरे । यद्यपी उनले सबै खेलहरु अन्र्तराष्ट्रिय मापदण्डअनुसार नै आयोजना भएको बताए । ‘कमीकमजोरी भएन भन्दैनौं तर नियतवश भएको होइन । कति अञ्जानमा हुन्छन्, कति बाध्यकारी हुन्छन् । सबैलाई सच्याउदै जान्छौं’–उनले भने । खेलाडीहरुले खाना र बस्नमा गुनासो नगरेको पनि उनले बताए ।
पुष ८ गतेबाट पुर्वाञ्चलको विभिन्न स्थानमा भइरहेको वृहत सातौं राष्ट्रिय खेलकुद पुष १५ गते धरानमा समापन हुदैछ । पुर्वाधार अभाव, कमजोर व्यावस्थापनको कारण सातौं खेलकुदको तीब्र आलोचना भइरहेको छ । यसअघि धरान रंगशालामा गर्ने भनिएको समापन समारोह हाल पुरुष फुटबल सञ्चालन भइरहेको धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा नै हुने राखेपले प्रष्ट्याएको छ । साथै, समापनमा प्रधानमन्त्री आउने भनिए पछि उपराष्ट्रपति नन्दकिसोर पुन आउने सदस्य सचिव विष्टले बताए । ‘रंगशालाको मैदान तयार नभएकोले समापन फुटबलको समापनसँगै एन्फाको मैदानमा नै हुनेछ । समापनलाई भव्य बनाउन तयारी शुरु गरिसकेका छौं’–सदस्य सचिव विष्टले भने ।
उनका अनुसार समापन समारोहमा मार्चपास, फुटबलको फाइनल खेल, साँस्कृतिक कार्यक्रम, सेनाको खुकुरी नृत्यसँगै झण्डोत्तोलन र ८ औं सँस्करण कहाँ आयोजना हुने भनेर घोषणासँगै झण्डा हस्तान्तरण कार्यक्रम हुनेछ । ‘अहिलेसम्म ८ औंको दाबी पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलले दाबी गरेको छ, यी दुवैमध्ये कुनै एक ठाउँमा ८ औं आयोजन ागर्ने निर्णय हुन्छ र झण्डा हस्तान्तरण पनि गरिनेछ’–सदस्य सचिव विष्टले भने । त्यसपछि फुटबलको विजेतालाई पदकसँगै राष्ट्रिय किर्तिमानी खेलाडीहरुलाई नगद २५ हजार पनि प्रदान गरिनेछ । सातौं खेलकुदमा हालसम्म महिला सटपुट र ज्याभ्लिन थ्रोमा प्रहरीकी चन्द्रकला लाम्गादेले २ राष्ट्रिय किर्तिकान राखेकी छिन् भने भारोत्तोलन महिला ५३ केजीमा प्रहरीकी देवी चौधरीले स्न्याच स्पर्धामा किर्तिमान राखेकी छिन् । यस्तै, भारोत्तोलनको महिला ५८ केजीमा आर्मीकी कमला श्रेष्ठले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा किर्तिमान कायम गरेकी छिन् भने भारोत्तलनको पुरुष ८५ केजीको क्लिन एण्ड जर्कमा आर्मीका कमलबहादुर अधिकारीले पनि किर्तिमान राखेका छन् । साथै, भारोत्तोलनको महिला ७५ केजी स्न्याच, क्लिन एण्ड जर्क र कुलमा प्रहरीकी तारादेवी पुनले पनि राष्ट्रिय किर्तिमान कायम राखेकी छिन् ।

Comments
Post a Comment