लिम्बुवानसँग सबै डराउछन् : लिङ्देन
धरान । लिम्बुवानी नेता कुमार लिङ्देनले ठुला राजनीतिक दल र सत्तामा बस्नेहरुले पहिचानको आन्दोलन केही होइन भनेपनि सबै लिम्बुवानसँग डराइरहेको बताएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालको पहिलो सुनसरी जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई बुधबार धरानमा सम्बोधन गर्दै लिङ्देनले भने–‘सबै जना लिम्बुवान केही होइन, थरुहट केही होइन, मधेश केही होइन भन्छन्, तर सबै जना हामीसँगै डराइरहेका छन् ।’
आफुहरु कहिल्यै सत्तामा नपुगेको र सेना, सशस्त्र, प्रहरी,, अदालतसमेत आफुहरुको पक्षमा नभएर पनि सत्तामा बसिरहेका दलहरु लिम्बुवान, किरात, मधेश, थरुहट, तमुवानसँग डराइरहेको लिङ्देनले दाबी गरे । देशको सिमाना अतिक्रमण भइरहदा पनि सेनालाई नखटाएर सत्ताधारी दलहरुले लिम्बुवानलाई दमन गर्न लिम्बुवानको भुमिभित्र सेनाको सबैभन्दा ठुलो फौज राखेको उनले आरोप लगाए । सरकार र जिल्लाका सिडिओहरुसँग विकासको कुनै योजना नभएको दाबी गर्दै नेता लिङ्देनले लिम्बुवानलाई कसरी दबाउने भनेर मात्र उनीहरु बैठक बस्ने गरेको जिकिर गरे । ‘९ जिल्लाका सिडिओहरु, जर्नेल कर्णेलहरु, एसपीहरु भेला हुन्छन् । मन्त्री बैठक बस्छन्, तर उनीहरुसँग देश कसरी विकसित गर्ने भन्ने योजना हुदैन । सिमा रोइरहेको छ तर उनीहरु त लिम्बुवान लिम्बुवान, थरुहट, मधेश उठ्छ भनेर कसरी दबाउने भनेर बैठक बस्छ’–मञ्चका अध्यक्ष लिङ्देनले भने–‘लिम्बुवानसँग देशको ठुलो पार्टी भन्नेहरु डराउछ, किनभने उनीहरु घरको छतमा राखेको टंकीको पानी हो, हामी उम्रेजेको जरुवा पानी हौं । हामीसँग इमान र इञ्जत छ । त्यही भएर उनीहरु डराउछन् ।’
पहिचानवादीहरुले आफ्नो शक्ति चिन्न नसक्नु दुःखद भएको उल्लेख गर्दै उनले शक्ति चिनेको दिन ५ मिनेटभित्र सिंहदरबार केन्द्रीत सत्ता ढल्ने बताए । पटक पटकको आन्दोलन र परिवर्तनपछि पनि पृथ्वीनारायण शाहले लादेको एक भाषा, एक धर्म र सँस्कारको नीतिमा कुनै परिवर्तन नआएको भन्दै लिङ्देनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड इतिहासकै कमजोर प्रधानमन्त्री भन्दै कटु आलोचना पनि गरे । ‘प्रचण्ड हिजो पहिलो पटक प्रधानमन्त्री हुदा पनि कमजोर सावित भए, अहिले पनि इतिहासकै कमजोर प्रधानमन्त्री बनेका छन् । एमालेका दुई चार सय युवाहरु बुटबलमा उफ्रदैमा संशोधन प्रस्तावमा छलफल गर्ने भन्दैछन्’–उनले भने–‘यस्ता कमजोर व्यक्तिले जनयुद्ध पो कसरी गरे होलान् ?’
मञ्चका वरिष्ठ केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर गुरुङले लिम्बुवानका जनताले नै लिम्बुवान आन्दोलन बुझ्न नसकेको भन्दै गुनासो पोखे । साथै, केही लिम्बुहरु एकात्मकवादी सत्ताधारी दलको साङ्लोमा बाधिएकोले लिम्बुवान आन्दोलन उचाईमा पुग्न नसकेको गुरुङको भनाई थियो । ‘राई, क्षेत्री, बाहुन, तामाङ, मधेश, दलित सबै लिम्बुवान आन्दोलनमा आवद्ध भइसक्दा पनि लिम्बुवान आन्दोलनमा धेरै लिम्बुहरु नै छुटेका छन्, एकात्मक दलको साङ्लोमा बधिएका छन्’–उनले भने–‘जबसम्म सबै एक भएर लड्दैनौं, तबसम्म अधिकार, पहिचान पाउन सक्दैनौं ।’ उद्घाटन समारोहलाई मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानहाङ इम्बुङ, महासचिव अमृता थेवे, प्रान्तीय महासचिव अशोक चेम्जोङलगायत नेताहरुले पनि सम्बोधन गरेका थिए ।
Comments
Post a Comment