फुलकन्ट्रयाक करातेमा सोलुको बर्चश्व

धरान । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप क्षेत्रीय छनौट प्रतियोगिताअन्र्तगत फुलकन्ट्रयाक करातेमा पुर्वाञ्चलबाट १० जना खेलाडी छनौट भएका छन् । आगामी पुष ८ देखि १५ गतेसम्म पुर्वाञ्चलमा हुने भनिएको राष्ट्रिय प्रतियोगिताको लागि छानिएका खेलाडीहरुमध्ये सोलुखुम्बुका सर्वाधिक ८ जना परेका छन् । यस्तै, पाँचथर र मोरङ जिल्लाबाट पनि एक–एक जना खेलाडी राष्ट्रिय प्रतियोगिताको लागि छनौट भएका छन् ।
सोलुखुम्बुबाट राष्ट्रिय प्रतियोगिताको लागि छनौट हुनेहरुमा ५० केजी तौल समुहमा दावा शेर्पा, ५५ केजी तौल समुहमा प्रवेश किराती, महिलातर्फ ५० केजी तौल मुनिमा सिता राना र ५५ केजी तौल मुनि महिलामा कृष्ण स्याङ्बो प्रथम हुदै राष्ट्रिय प्रतियोगिताको लागि छनौट भएका छन् । यसैगरि, महिला खुला तौलतर्फ सोलुखुम्बुकी कोपिला बस्नेत, कातामहिलातर्फ सोलुकै सरितादेवी बस्नेत र काता पुरुषतर्फ पनि सोलुकै जय तामाङ प्रथम हुदै राष्ट्रिय प्रतियोगिताको लागि छनौट भएका छन् । यसबाहेक, ४० केजी तौल समुहमा पाँचथरका राम लिम्बु र ६० केजी तौल समुहमा मोरङ जिल्लाका गोपाल लाल सिंह छनौट भएका छन् । राष्ट्रिय प्रतियोगिताको लागि छनौट भएका खेलाडीहरुलाई चाडै बन्द प्रशिक्षणमा राखिने बताइएको छ ।
धरान १३ स्थित अमर सेवा समाज बहुउद्देश्यीय सामुदायिक भवनमा मंगलबारदेखि प्रतियोगिता शुरु भएको थियो । बुधबार भएको फाइनलमा ४० केजी तौल समुहमा सोलुखुम्बुका दोर्जे शेर्पा दोस्रो, ५० केजी तौलमा मोरङका रञ्जित राई दोस्रो र पाँचथरका सुवास राई तेस्रो भएका थिउ भने ५५ केजी तौलमा मोरङका सन्तोष राई दोस्रो र पाँचथरका लक्ष्मण मगर तेस्रो भएका थिए । यसैगरि, ६० केजी तौल समुहमा पाँचथरका नवराज खेपुङ दोस्रो, पुरुष खुलातर्फ पाँचथरका शेखर बस्नेत दोस्रो, महिला ५० केजी तौलमुनिको समुहमा पाँचथरकी इच्छिङ नेम्बाङ दोस्रो र महिला ५५ केजी तौल समुहमा पाँचथरकी एन्जिला सुवेदी दोस्रो भएकी थिइन् ।
पुर्वाञ्चल क्षेत्रीय छनौट प्रतियोगिता भएपनि प्रतियोगितामा पाँचथर, सोलुखुम्बु र मोरङ गरी ३ जिल्लाका २१ खेलाडीहरु मात्र सहभागी थिए । प्रतियोगितामा भाग लिन ओखलढुंगाबाटका खुल्लातर्फका विनोद निरौला र सप्तरीका ६० तौलका खेलाडी तेजकान्त कुमार चौधरी धरान आएपनि फुलकन्ट्रयाक करातेमा राखेपले तीन जिल्लालाई मात्र कोटा दिएको भन्दै विवाद भएपछि उनीहरुले छनौट प्रतियोगिता खेल्न पाएनन् । यही विवादले मंगलबार निर्धारित समयभन्दा करिब ४ घण्टा ढिलो खेल शुरु भएको थियो भने खेलाडीले खेल्न नपाएको भन्दै फुलकन्ट्रयाक कराते महासंघले प्रमुख रेफ्रीको जिम्मेवारीमा पठाएका धनञ्जय मिश्रले पनि प्रतियोगितामा रेफ्री बसेनन् ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे