भेडेटारमा फुड फेस्टिवल शुरु
धरान । अंग्रेजी नयाँ बर्षको अवसर पारेर पुर्वको प्रमुख पर्यकीयस्थल भेडेटरामा तीन दिने भेडेटार फुड फेस्टिवल(खानपान उत्सव) शनिबारदेखि शुरु भएको छ । नयाँ बर्षमा घुम्न आउने आन्तरिक र बिशेष गरी भारतीय पर्यटकहरुलाई लक्षित गरेर होटल एशोसिएशन अफ भेडेटारले उत्सवको आयोजना गरेको हो ।सधै चिसो र सफा रहने भेडेटार उत्सवको कारण चिटिक्क सिंगारिएको छ भने शनिबार बिहानैदेखि भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहल पहल बढको छ । सोमबारसम्म चल्ने उत्सवको कांग्रेस नेता तथा भौतिक योजना तथा यातायात राज्यमन्त्री सिताराम मेहेताले गरेका थिए । मन्त्री मेहेताले समृद्ध नेपाल बन्ने आधार पर्यटन भएको उल्लेख गर्दै भेडेटारको पर्यटकीय पुर्वाधार विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । भेडेटार धरानदेखि करिब १६ किलोमिटर उत्तरमा धनकुटा र सुनसरी जिल्लाको सिमानामा अवस्थित छ ।
पछिल्लो समय छिमेकी मुलुक भारतबाट पुर्व घुम्ने आउने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । तिनै भारतीय पर्यटकहरुको बसाई लम्ब्याउने उद्देश्यले अंग्रेजी नयाँ बर्षको मौका पारेर उत्सव आयोजना गरिएको होटल एशोसिएशन भेडेटारका अध्यक्ष लिलाराज लावतीले बताए । उत्सव अवधिभर स्थानीय कृर्षि उत्पादन, मौलिक साँस्कृतिक प्रर्दशनी, विभिन्न जातीय परिकारहरु मुख्य आकर्षण रहने उनले बताए । ‘पर्यटकहरुको बसाई लम्बियोस भन्ने मुख्य उद्देश्य हो, त्यसको लागि कृर्षि उत्पादन, घरेलु हस्तकला प्रर्दशनी, जातीय खानाको परिकार र सँस्कृति प्रर्दशन गछौं’–उनले भने–‘यही मौकामा पर्यटकहरुलाई भेडेटार आसपासको गन्तव्यहरुको टुर प्याकेज पनि सहुलियतमा व्यवस्था गरेका छौं ।’उत्सवमा पर्यटकहरुले राई, लिम्बु, याम्फु, मगर, तामाङ, थारुलगायतका जातजातिहरुको बिशेष परिकारको स्वाद चाख्न पाउनेछन् । तिनै जातिका मौलिक साँस्कृति साकेला, केलाङ, हुर्रा, यालाङलगायत पनि पर्यटकहरुको लागि आकर्षण हुनेछन् । जातीय परिकारका स्टलहरुलाई आयोजकले निःशुल्क उपलब्ध गराएको हो । अग्र्यानिक खानेकुरा र कृर्षि उत्पादन उत्सवको थप आकर्षण हुन् । उत्सवलाई लक्षित गरेर भेडेटारका व्यावसायीहरुले पर्यटकहरुलाई डाँडाबजारस्थित ध्वजे डाँडाबाट सुर्योदय हेर्नेदेखि राजारानी तालमा बोटिङ गर्नेसम्मको प्याकेज बनाएका छन् । यो प्याकेजमा लाप्चेटारस्थित एसियाकै ठुलो वरको रुख पनि अवलोकन गराइनेछ । एशोसिएशनका सचिव जितेन्द्र रुम्दालीका अनुसार प्रतिव्यक्ति मात्र २ हजार रुपैयाको यो टुर प्याकेजमा यातायात र खानासमेतको सुविधा छ । पर्यटकले चाहेमा डाँडाबजारमा होम स्टे पनि राखिने उनले बताए । डाँडाबजारथित ध्वजे डाँडाबाट सुर्योदयको सुन्दर दृष्यवलोकन गर्ने यो उपयुक्त समय पनि हो । पर्यटकहरुलाई छुटको साथ बिशेष प्याकेजमा प्याराग्लाइडिङ गराउन व्यावसायीसँग कुरा गरेको पनि आयोजकको भनाई छ ।
उत्सवमा आउने पर्यटकहरुलाई भेडेटार आसपासको ऐतिहासिक एवं धार्मिक महत्वका पर्यटकीय गन्तव्यहरुको जानकारी गराउदै घुम्न जान प्रेरित गरिने आयोजकले जनाएको छ । भेडेटार चोक नजिकै बेलायती युवराज चाल्र्स चढेको डाँडा चाल्र्स प्वाइन्ट(शैलुङ डाडा) छ । जहाँबाट भेडेटार बजारसँगै कोशी राजमार्गअन्र्तगत धरान धनकुटे नागवेली सडकको सुन्दर दृष्य हेर्न सकिन्छ । यस्तै, भेडेटार आसपासमा ऐतिहासिक साँगुरी गढी, नमस्ते झरना, सिएनएनले उत्कृष्ट गन्तव्यमा पारेको नाम्जे गाउँ र थुम्किस्थित आत्माबस्ने घर, सुर्योदय गुम्बालगायत स्थलहरु पनि छन् । उत्सव अवधिमा २० लाखसम्मको कारोबार हुने आयोजकले अनुमान गरेको छ भने ३० हजार पर्यटकहरुले अवलोकन गर्ने अपेक्षा छ । आयोकजले उत्सव अवधिभर २५ लाख बढी आर्थिक कारोबार र २० हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिने अपेक्षा लिएको छ ।



Comments
Post a Comment