धरानलाई प्रदेश १ को राजधानी बनाउन कांग्रेसको माग

धरान । नेपाली कांग्रेस धरान उपमहानगर तथा क्षेत्र नम्बर १ सुनसरीले धरानलाई प्रदेश नम्बर १ को राजधानी बनाउन माग गरेको छ । पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष शुक्रबार विकास निर्माणसम्बन्धी २० बुँदे ज्ञापत्रपत्र बुझाउदै कांग्रेस धरान तथा क्षेत्र नम्बर १ कमिटिले यस्तो माग गरेको हो ।
भौगोलिक अवस्थिति, अनुकुल हावापानी, शिक्षा, स्वास्थ्य, सडक, प्रशासनिक सुगमता लगायत आवश्यक पुर्वाधारहरु पर्याप्त भएकोले धरान प्रादेशिक राजधानी हुन उपयुक्त भएको ज्ञापनपत्रमा उल्लेख छ । साथै, प्रदेशको केन्द्र भागमा रहेको र पूर्वाग्राहीतवरले विगतमा यहाँबाट विभिन्न सरकारी कार्यालयहरु हटाइएकोले पनि त्यसको क्षतिपूर्ति स्वरुप प्रदेशको राजधानी बनाउन माग गरिएको छ । पुर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शुक्रबार पार्टीको नगर भेलामा सहभागी हुन धरान आएका थिए ।
सोही अवसरमा धरान उपमहानगर तथा क्षेत्र नं. १ अन्तर्गत विकास निर्माण गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको भन्दै कांग्रेस स्थानीय नेतृत्वले नेपाल सरकार, सम्बन्धित मन्त्रालय तथा निकायहरुवाट योजना स्विकृति तथा आवश्यक बजेट तर्जुमा गराउन विशेष पहलको माग गर्दै ज्ञापन पत्र बुझाएको हो । कांग्रेसले ज्ञापन पत्र तयार गर्न जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र तामाङको संयोजकत्वमा ५ सदस्यीय समितिसमेत बनाएको थियो । धरान ८ स्थित सभागृहमा आयोजित भेलामा संयोजक तामाङ, उपमहानगर सभापति तिलक राई र पुर्व सभापति किसोर राईले पार्टी सभापति देउवालाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका थिए ।
सोही समितिले तयार गरेको ज्ञापन पत्रमा धरानबासीको लामो समयदेखिको चाहना र यो क्षेत्रमा अतिआवश्यकसमेत रहेकोले धरान एयरपोर्टलाई उच्च प्राथमिकता दिएर निर्माण कार्य अघि बढाउन माग गरिएको छ । हाल एयरपोर्टको लागि पर्यटन मन्त्रालयबाट २ करोड बजेट विनियोजन भएको र नागरिक उड्यान प्राधिकरणले वातावरणीय प्रभाव मुल्यांकनको काम अघि बढाउनुका साथै उपमहानगरपालिकाले अपुग जग्गासमेत उपलब्ध गराउने निर्णय गरिसकेको पनि ज्ञापन पत्रमा उल्लेख छ । यसैगरि, कांग्रेस उपमहानगर तथा क्षेत्रीय समितिले आधुनिक एवं वैज्ञानिक बसपार्क निर्माण गर्न, निर्माणाधिन ६ लेनको कोशी राजमार्गले धरान बजारको दुवै तर्फका भवनहरु पुर्णरुपमा भत्कने भएकोले सेउती पुलबाट वाइपास गर्न, धरान चतरा सडक १ सय ४० फिट कायम हुदा धनकुटे रोड खण्डमा पनि सयौं भवनहरु पुर्ण क्षति पुग्ने भएकोले धरान चतरा सडकलाई तीनकुनेबाट वाइपास गर्न पनि माग गरेको छ ।
यसैगरि, धरानको मुख्य खानेपानीको स्रोतको रुपमा रहेको सर्दु तथा खर्दु जलाधार क्षेत्रको अतिक्रमण दिनदिनै बढ्दै गएको भन्दै कांग्रेसले बिशेष नीति बनाएर सिमांकन, घेराबारा र वृक्षरोपणसमेत गरेर पुर्णरुपमा संरक्षण गर्न पनि माग गरेको छ । ‘धरानको मुख्य खानेपानीको सोतको रुपमा रहेको सर्दु तथा खर्दु जलाधार क्षेत्रको अतिक्रमण दिनदिनै बढ्दै गएकाले यसको विशेष नीति बनाई सिमांकन, घेराबारा र वृक्ष रोपण समेत गरी पूर्ण संरक्षण गर्न अनुरोध गर्दछौं । साथै भेडेटार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न समेत अनुरोध गर्दछौं’–पार्टी सभापति देउवालाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।
यस्तै, धरान १४ विजयपुर गढीमा बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या, किरात राजाको दरबारस्थललगायत ऐतिहासिक धार्मिक क्षेत्र भएकाले विशेष प्राथमिकता दिएर गुरुयोजना सहित अधिकार सम्पन्न वृहत्तर विजयपुर विकास समिति गठन हुनुपर्ने, १२ हजार घरधुरी एवं ९ हजार मतदाता रहेका सुकुम्बासीहरुले खानेपानी, ढल, सडक र बत्तिको अभावमा जीवन बिताउनु परिरहेकोले पुर्जासहितको व्यवस्थित बसोबासको व्यवस्था गर्नुपर्ने, निर्माणाधिन बहुजातीय संग्रहालयलाई एकमुष्ट बजेट व्यवस्था गर्नुपर्ने, वीपी कोइरालाको शतवार्षिकी अवसरमा वीपी विचार यात्राका क्रममा धरानमा शिलान्यास गरिएको वीपी स्मृति पार्क निर्माण गर्न आवश्यक बजेट व्यवस्था गरिनुपर्ने, विष्णुपादुका बराहक्षेत्र जोड्ने सर्दुखोलामा पक्की पुल र सडक निर्माण गर्नुपर्ने, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नति गर्नुपर्नेलगायत मागहरु समेटेर ज्ञापन पत्र बुझाइएको छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे