क्यानभासमा याङ्सिला पदयात्रा(फोटोफिचर)
धरानबाट सेउती खोला तरेर पुर्व पानवारी हुदै मोरङको याङसिला गाविसको चोक्टी प्रवेश ग¥यौं । त्यहाँबाट पुर्वीउत्तर हुदै याङसिलाको प्रगति चोकमा रोकियौं । कोही मोटरसाइकलमा, कोही स्कुटरमा थियौं । बिहानको करिब ८ बजेको समय । धरानबाट डेढ दर्जन बढी संख्यामा थियौं । स्थानीय होटलमा सबैलाई खाजा पुगेन । बिहिबार प्रगति चोकमा सानो हटिया लाग्दो रैछ । होटलमा खाजा नपुगेकाहरु बाटो मुन्तिरको त्यही हटियामा छि¥यौं । मिठो थुक्पा, आलुचपसँगै बिहानै एक–एक डबका(सेर) कोदोको जाँड पनि रित्तियो ।
याङसिला साँस्कृतिक समूहको निमन्त्रणमा धराने हाइकर्सको टोली ग्रामिण पर्यटन प्रर्वद्धन गर्न पुगेको । उक्त टोलीमा धरानबाट अधिकांश पत्रकार, केही शिक्षकहरु थिए । प्रगति चोकमा पुगेपछि भने स्थानीय युवा र शिक्षकहरु पनि मिसिए । प्रगति चोकबाट केही मास्तिर गाविससम्म मात्र मोटरसाइकल यात्रा थियो । त्यहाँ पुग्दा त बाटोको दुवैतिर तामाको घैलामा फुल राखेर स्वागतमा तम्तयार थिए स्थानीयहरु । बाटोको दुवै किनारमा बालबालिकाहरु पनि उत्साहका साथ हातमा फुलमाला, खादा र अबिर लिएर उभिएका । सबैले पालैपालो टिका लगाइदिए, कसैले फुल र कसैले मालाले न्यानो स्वागत गरे । स्थानीयले प्रर्दशन गरेको सद्भाव र प्रेमले शुरुवातमै हामी नतमस्तक भयौं ।
याङसिला गाविस अत्यन्तै सुगम जिल्ला मानिने मोरङको उत्तरी क्षेत्रमा पर्छ । पहाडी क्षेत्र भएर पनि होला, मोरङको अन्य क्षेत्रमा जतिको विकास यहाँ छैन । भौतिक विकासमा पिछडिएको भएपनि यो गाविस प्राकृतिक एवं जैविक विविधिताले भने धनी छ । तर, याङसिलाका यी बिशेषताहरु सधै ओझेलमा परे । धरानसँग नजिक भएर पनि याङसिलाको बिशेषताहरुबारे थोरैलाई मात्र जानकारी छ । मिडिया, सरकारी निकाय र विराटनगर मात्र केन्द्रीत हुने राजनीतिले पनि कहिल्यै याङ्सिलालाई प्राथमिकतामा पारेन ।
हुन त याङ्सिला मात्रै होइन, देशका धेरै ठाउँहरु यसरी नै ओझेलमा छन् । तर, यहाँका युवाहरुसँग गुनासो मात्र छैन । राज्यले, राजनीतिले नहेरे के भो त ? याङ्सिलाका युवाहरुले साँस्कृतिक समूह बनाए, अनि त्यसकै माध्यमबाट आफ्नो ठाउँको प्रचार र विकासको लागि केही योजना अघि सारे । समुहले कार्तिक ६ गते तक्मे बुढा, मेलिना राई जस्ता चर्चित कलाकार ल्याएर साँस्कृतिक कार्यक्रम ग¥यो । समुहले त्यतिबेलै घोषणा गरेको थियो, गाविसको पर्यटकीय सम्भावनाका ठाउँहरुको प्रचारप्रसार गर्न धराने पत्रकार एवं हाइकर्स टिमलाई हाइकिङमा लैजाने । हाल याङ्सिलामा व्यावसायीकरुपमा कागति खेतीमा लागेका धरानका युवा समाजसेवी दोर्पध्वज राईको नेतृत्वमा कार्तिक ११ गते हामी याङ्सिला गएका थियौं ।
स्थानीयको न्यानो माया र स्वागतले उत्साह दिलाएको थियो । घाम चर्किदै गएपनि वास्ता नगरी बाटो लाग्यौं । हाम्रो गन्तव्य थियो, याङसिला ६ स्थित तोपथुम्की डाँडा । जसको उचाई समुन्द्री सतहदेखि १ हजार ३ सय ९० मिटर छ । तर, त्यहाँसम्म पुग्न निक्कै उकालो हिड्नुपर्ने । स्थानीयबाहेक हामी त पहिलो पटक हिड्दै गरेको । साँस्कृतिक समुहका अध्यक्ष प्रमिस राई, जनसेवा प्राविका शिक्षक कुमार बिक, सावित्री माविका शिक्षक वासुदेव पौडेल, दोर्पध्वज राईलगायत हाम्रा मार्गदर्शक बने ।
बाटोभरि,बारीभरि जताततै ढुंगैढुंगा । सानातिना मात्र भए पो, बडेमानका ढुंगाहरु । खोला खोल्सामा पनि ओडार बनाएर बसेका ढुंगा भेटिए । कतै तामा झै रंगका ढुंगा थिए । ती ढुंगाको तस्बिर खिच्यौं । ढुंगामा अडेस लगाएर ग्रुपमा फोटो खिच्यौं । यो ठाउँको नाम याङ्सिलासँग यी ढुंगाको पो कुनै सम्बन्ध छ कि ? किनभने लिम्बु भाषामा याङ् भनेको पैसा हो । तर, सिला सँस्कृत भाषामा छ, जसको अर्थ ढुंगा भन्ने हो । यसबारेमा भने प्रष्ट हुन भने सकिएन । पछि बुझ्दा कसै कसैले ‘उहिल्यै एक लिम्बुले सबै याङ् सकेपछि अलिअलि सिला गरेर याङ् भेला पारेकोले याङ्सिला भएको’ किंवदन्ती पनि सुनाए । कसैले याङ्सिला(वार्ड नम्बर १ र २)मा धेरै नै चिलाउनेको बोटहरु पाउने भएकोले लिम्बु भाषामा नाम रहेको पनि भने । लिम्बु भाषामा याङ्साङ आङला भनेको चिलाउनेको घारी भन्ने अर्थ लाग्छ । त्यही नाम पछि अपभ्रंस हुदै याङ्सिला भएको पनि अनुमान लगाए ।
सानो उपत्यका आकारको नरकटेमा पुग्दा भोक असाध्यै लागिसकेको थियो । दोर्पध्वज दाईले धरानबाटै भुटेको मकै मटामस, गुन्द्रुकको अचार र मोही बोक्नु भएको रहेछ । हाम्रै लागि भनेर दाई भाउजुले बिहान ४ बजे उठेर खाजा तयार गर्नु भा रैछ । अहो, कति मिठो खाजा । दाई भाउजुको मेहनतलाई सबैले तारिफ ग¥यांै र धन्यवाद पनि दियौं । खाजा खादै गफिदा पो झल्यास्स भए । झण्डै ५ बर्षअघि भेडेटार, नाम्जे, ओख्रे हुदै हामी साइक्लिङ गर्दै नरकटेमा आएका थियौं । त्यतिबेला सँगै साइक्लिङ गर्ने विकास चाम्लिङ पनि हाइकिङ टोलीमा थिए । त्यसबेला याङ्सिलाको विकाट ठाउँको एक स्कुललाई शैक्षिक सामग्री दिन साइकले साथीहरुसँग आएका थियौं ।
नरकटेमा उहिल्यै तलाउ थियो रे । तलाउको वरीपरी नरकट(निगालो बासजस्तो) थियो र त्यस ठाउँको नाम नरकटे भएको रे । हामी त्यहाँ पुग्दा त उहिल्यै तलाउ भएको ठाउँमा खेत थियो । स्थानीय हलो जोत्दै थिए । तर वरीपरी हरियो अग्लो डाँडाले घेरिएको नरकटे साह्रै सुन्दर थियो । नरकटेलाई पुनः पुरानै तलाउको स्वरुप फर्काउन सके त पर्यटन विकासलाई धेरै टेवा पुग्नेछ । त्यसबारेमा पनि स्थानीयले सोच्दै रहेछन्, थाह पाउदा खुशी लाग्यो । नरकटेबाट उकालो लागेपछि पो अलिक हैरानी भयो । बाटो त अफ्ठेरो होइन । हामी नै छोटो बाटो हिड्ने हुदा सिस्नु घारी तिर पसिएछ । ग्राभेल भएपनि मोटरबाटो खुलेपछि पुरानो रुटमा मान्छेहरु हिड्न छोड्छन् । त्यहाँ अनेक विरुवा, झार, सिस्नुले ओगट्छ । हैट ! आत्था ! ! भन्दै भएपनि हामी चिउरी भञ्याङ पुगिछाड्यौं ।
भञ्याङ पुगेपछि देखियो, उत्तर पुर्व पश्चिम सबैतिर अग्ला डाँडाहरु । महाभारत पर्वत श्रृंर्खलाहरु । तर, त्यहाँ पनि केही बेर मात्र थकाई मा¥यौं । त्यहाँबाट उत्तरपश्चिम टाकुरे गाउँ तिर लाग्यौं । भञ्याङदेखि टाकुरेका युवा टेकबहादुर विश्वकर्माले हाइकर्स टोलीलाई हाम्रो नेतृत्व गरे । खेतमा कोदो र फिलिङ्गे खेती । गाउँघर साह्रै रमाइलो, आकर्षक थियो । टाकुरे गाउँको शिर रहेछ, तोप थुक्की डाँडा । उत्तरी मोहडा फर्केर उभिएको ठाउँ । शिरमा पुग्न जोखिम मोल्नुपर्ने । हुस्सुले घरी घरी छोपिहाल्ने । बाटो साघुरो तर चिप्लो । चिप्लिए भिरबाट कहाँ खसिने हो पत्तो नहुने । सबै जना होस गर्दै, डराउदै चढ्यौं । जब टुप्पामा पुग्यौं, तब प्रायः सबैको एउटै आवाज निस्कियो, वाउउउउ...! जोडले चिच्यायौं हामी ।
डाँडाको चिसो मौसम । हुस्सुले हामीसँग खेल्ने लुकामारी अनि त्यहाँबाट देखिने मनोरम दृष्यले मन असाध्यै रमायो । त्यति माथि र टाढाबाट धरानलाई नियाल्नुको मजा नै बेग्लै । चारकोसे जंगल, इटहरी, विराटनगर, विराटचोक, बेलबारी, पथरी जस्ता तराईका शहर एवं भुमागहरु देखिने । कोशी र पारी उदयपुरको केही भुभाग पनि हे¥यौं । केहीबेर अघि हिडेर आएको ठाउँहरुलाई चिलले चल्ला नियाले जस्तरी नियाल्यौं । धनकुटाको चौबिसे क्षेत्र राजारानी नजिकै टुक्रेबाट शुरु हुने ३२ जुरे टाकुराहरु कति राम्रो । गेरु जुरो आकारको ३२ वटा टाकुरा मोरङको लेटाङमा गएर टुंगिने रहेछ । बुढापाकाहरुले भनेअनुसार यो तोपथुम्की डाँडामा उहिल्यै उत्तर र दक्षिण फर्केको दुई वटा तोप थियो रे । वि.स.१९९० सालको महाभुकम्पले डाँडाको शिर १०÷१५ फिट लड्दा ती तोप पनि खसेर नष्ट भएको भनेर आफ्ना बाउबाजेबाट सुनेको कथाहरु हालका बुढापाकाहरु सुनाउछन् । त्यसहिसाबले नेपाल एकीकरण हुनुअघि यो कुनै राज्यको महत्वपुर्ण किल्ला(गढ) भएको हुनुपर्छ । तर, यसको बैज्ञानिक खोज,अनुसन्धान र पुष्टि भने छैन ।
याङ्सिला घुम्न आउनुपर्ने कारण भने यति मात्र होइन । भौगोलिकरुपमा याङसिला गाविसमा समुन्द्री सतहदेखि २ सय ५० मिटर उचाईको कालापानी क्षेत्र पनि छ भने १ हजार ८ सय मिटर उचाईको जगरे डाडाँ पनि छ । भौगोलिकरुपमा धानफल्ने खेतदेखि राष्ट्रिय फुल लालीगुरास पनि यही फुल्छ । विविध जातको वनस्पतिहरु एउटै गाविसमा अत्यधिक पाइने यो नेपालकै नमुना गाविस हो । टाकुरे डाँडा, दुम्सेढुंगा, जगरेडाँडा, तोपथुम्का, याङसिला र चिउरी भञ्ज्याङ बाह्रै महिना चिसो अनि हुस्सुले लुकामारी खेल्ने ठाउँहरु हुन् । याङ्सिलामा बाख्रापालन र मौषमअनुकुल तरकारी, फलफुलहरुको खेती फष्टाउछ । प्राकृतिक स्रोत साधन र कृर्षिलाई पनि आधार बनाएर पर्यटन विकास, आर्थिक समृद्धिमा याङ्सिला अघि बढ्न सक्छ ।
चिउरी भञ्ज्याङबाट ७ सय मिटर पुर्व अर्को सिता थुम डाँडा छ । त्यो पनि पर्यटकीय गन्तव्यको सम्भावना बोकेर बसेको छ । भञ्ज्याङबाट एक घण्टाको पैदल यात्राको दुरीमा छ सप्तकन्या गुफा । गुफामा भएको आकृत्तिहरु खोटाङको हलेसी महादेवको जस्तै छ । त्यसैले यो गुफाको संरक्षण र विकासको लागि समिति पनि बनेको छ । उक्त गुफालाई मोरङको हलेसी भनेर प्रचार गर्न पहल पनि भइसकेको रहेछ । त्यो थाह पाएपछि गुफासम्म जाने कि भन्ने छलफल भयो । तर, फर्कन ढिलो हुने भएकोले पछि सप्तकन्या गुफा पुग्ने गरि आउने सल्लाह ग¥यौं, र भञ्ज्याङमा पाकेको मिठो खाना खाएर धरान फर्कियांै ।
। । । ।। । । । । । । । । । । । ।। । । । । । । । । । । । । । । । । । । ।
टेकबहादुर विश्वकर्मा, टाकुरेका स्थानीय युवा
: बाटोको समस्या थियो, अब सुन्दरपुर–याङसिला–ओख्रे जोड्ने सडक बन्दैछ । यो पुरा भयो भने यो ठाउँलाई धेरै फाइदा पुग्छ । यहाँको प्राकृतिक स्रोत साधान र कृर्षिलाई उपयोग गरेर पर्यटन विकास गर्न सक्छौं । पर्यटकलाई कृर्षि उत्पादनस्थलमा घुमाउन लैजाने । चिउरी भञ्ज्याङबाट सप्तकन्या गुफा, याङ्सिला हुदै दुम्से डाँडासम्मको ७ किलोमिटर ट्रेकिङ रुट पनि बनाउदैछौं । तर, हामीलाई दीर्घकालीन योजना र शिक्षित युवाहरुको खाँचो छ ।................................................................................................................................................
Comments
Post a Comment