‘नेतालाई मात्र प्रजातन्त्र आयो ’
धरान । ‘यही इलाम जिल्लाबाट झलनाथ खनाल, सुवास नेम्बाङजस्ता नेताहरु जन्मिए । तर, ध्वजबहादुर, डम्बरबहादुरले प्रजातन्त्र पायो त ? अह पाएन’–३७ बर्षअघि क्रान्तिमा होमिदा गुमाएका सहकर्मी रत्नकुमार बान्तवालाई सम्झदा ध्वजबहादुर राई भन्छन् ।इलाममा प्रहरीले हत्या गरेका रत्नकुमार, वम वान्तवा र निमा शेर्पाबारे निर्माण गरिएको वृत्तचित्र ‘वलिदान कहिल्यै मर्दैन’मा ध्वजबहादुरले बोलेको यो अभिव्यक्ति उनको मात्र होइन, समग्र नेपाली जनताको निराशाको अभिव्यक्ति पनि हो । करिब ५२ मिनेट लामो वृत्तचित्रले इतिहासको कालखण्डमा विसिन हुन लागेको रत्नकुमार, वम र निमाको वलिदानलाई ज्युँदो राख्न मात्र सकेको छैन, उनीहरुकै वलिदानीमा टेकेर सत्तामा चढेका सहकर्मीहरुले गरेको वेवास्ताले ध्वजबहादुरहरुलाई निराश पनि बनाएको छ । एउटै लक्ष्य लिएर क्रान्तिमा होमिएका रत्नकुमारहरुले ज्यान गुमाए । सहकर्मी ध्वजबहादुरहरुले क्रुर यातना पाए, अहिले उनीहरु दुःखका साथ जिन्दगी गुजारा गरिरहेका छन् ।
अर्कोतर्फ, हिजो रत्न, वम र निमासँगै क्रान्तिमा लागेको कम्युनिष्ट पार्टी र नेताहरु पटक पटक सत्तामा पुगे, तर ध्वजबहादुरहरुको जीवनमा उज्यालो छाएन । जनताले सुख पाएनन् । असमानता र विभेदको अन्त्य गरेर देश र जनताको सुख,समृद्धिको लागि क्रान्तिमा होमिदा ज्यान गुमाएका शहीद र परिवारलाई सम्मान दिइएन । नेपालमा पहिलो पटक सुरुङ युद्धसमेत शुरु गरेका रत्नकुमारलाई २०३५ साल चैत २५ गते प्रहरीले गोली हानेर मारेको थियो भने अघिल्लो दिन चैत २४ गते निमा शेर्पालाई मारेको थियो । यस्तै, २०३६ बैशाख २८ गते वम वान्तवाको हत्या गरेको थियो ।
बिहिबार धरान १० स्थित किरात राई यायोक्खा भवनमा प्रर्दशन भएको ५२ मिनेटको वृत्तचित्रले दर्शकहरुलाई निक्कै भावुक बनायो । ‘यो कुनै फेन्टासी होइन, यथार्थ हो । देश र जनताको लागि ज्यान वदिलानी गरेका शहीदहरुलाई राज्यले सम्मान दिएको छैन । सत्तामा पुगेका राजनीतिज्ञहरुले न्याय दिइनुपर्छ’–रत्नकुमारका सहपाठी एवं वामपन्थी नेता वम देवानले भने । एमाले सांसद कृष्णकुमार राईले रत्नकुमारहरु शोषण, विभेद मुक्त समाज बनाउने क्रान्तिमा लागेकोले उनीहरुको सपनालाई पुरा गर्नतर्फ सबैले जुट्नुपर्ने बताए । ‘उहाँहरुले जे उद्देश्यको लागि वलिदान दिनुभयो, समाजमा जे चाहेको हो, त्यसलाई पुरा गर्नतर्फ सबै लाग्नुपर्छ’–उनले भने । यो वृत्तचित्रका निर्माता र निर्देशक पत्रकार जसकुमार राई हुन् भने सहनिर्माता एवं सहनिर्देशक अर्जुन उप्रेती हुन् ।किरात राई पत्रकार संघले पत्रकार कल्याण कोष जुटाउने उद्देश्यले शुरु गरेको वृत्तचित्र यात्राअन्र्तगत बिहिबार धरानमा दुई वटा वृत्तचित्र प्रर्दशन भएको थियो । पत्रकार भिषण राईद्धारा निर्देशित वृत्तचित्र पहिचानले पछिल्लो समय नेपाली राजनीतिको केन्द्रमा रहेको पहिचानको मुद्दालाई उठान गरेको छ । माओवादी द्धन्द, संविधानसभाले जारी गरेको संविधान र कार्यान्वयनको चरणमा पुग्दा पनि पहिचानको मुद्दाले नेपाली राजनीतिक सकसपुर्ण अवस्थामा रहेको यथार्थलाई पहिचानले समेटेको छ ।





Comments
Post a Comment