अंग्रेजी नयाँ बर्षमा भेडेटार फुड फेस्टिवल


धरान । अंग्रेजी नयाँ बर्षमा घुम्न आउने भारतीय पर्यटकहरुको बसाई लम्ब्याउने उद्देश्यले भेडेटारमा तीन दिने फुड फेस्टिवल(खानपान उत्सव) हुने भएको छ । होटल एशोसिएशन भेडेटारले बुधबार पत्रकार सम्मेलन गर्दै डिसेम्बर ३१ देखि जनवरी २ (पुष १६ देखि १८ गते)सम्म पाँचौ फुड फेस्टिवल आयोजना गर्ने जानकारी गराएको हो ।
पछिल्लो बर्षहरुमा भेडेटारमा घुम्न आउने पर्यटकहरुमा भारतीयहरुको संख्या बढ्दो छ । फेस्टिवलको अवसरमा स्थानीय उत्पादन, मौलिक साँस्कृतिक प्रर्दशनीसँगै टुर प्याकेजसमेतको व्यवस्था गरेर भारतीय पर्यटकहरुको बसाई लम्ब्याउने योजना रहेको एशोसिएशनले जनाएको छ । ‘आन्तरिक पर्यटकहरु त भेडेटारमा आइरहेकै छन्, यो फेस्टिवल भने भारतीय पर्यटकहरुलाई तार्गेट गरेर आयोजना गरिएको हो’–एशोसिएशनका अध्यक्ष लिलाराज लावतीले भने–‘यसपाली जातीय परिकार, सँस्कृति फेस्टिवलको बिशेष आकर्षण हुनेछ ।’ उनका अनुसार छिमेकी मुलुक भारतबाट परिवारसहित भेडेटार घुम्न आउने पर्यटकहरुको संख्या क्रमशः वृद्धि हुदै गइरहेको छ । भारतका विभिन्न स्कुलहरुबाट पनि समुहमा भेडेटार घुम्न आउने गरेका छन् । तिनै पर्यटकलाई लक्षित गरेर आयोजित उत्सव भेडेटारदेखि काम्फेकसम्म रहनेछ ।
उत्सव समयमा हरेक घर, होटल सिंगारेर चिटिक्क पारिनेछ भने जातीय परिकार राख्ने ९ वटा स्टलहरुलाई निःशुल्क दिइनेछ । ती स्टलमा राई, लिम्बु, याम्फु, मगर, तामाङ, थारुलगायत जातजातिहरुको बिशेष परिकारहरु डेढो, च्याख्ला, गुन्द्रुक अचार, किनिमाको अचार, सिन्की, भक्कालगायत मात्र उपलब्ध हुनेछ । यस्तै, तिनै जातिका मौलिक साँस्कृति साकेला, केलाङ, हुर्रा, यालाङलगायत पनि पर्यटकहरुको लागि आकर्षण हुनेछन् । यसबाहेक स्थानीय कर्षि उत्पादन एवं फलफुल, हस्तकलाका सामग्रीहरु पनि बिक्री तथा प्रर्दशनीमा रहनेछ । भेडेटारमा नासपाती, ज्यामिर, सुन्तलासँगै हरियो सब्जी उत्पादन हुन्छ ।
बाह्य पर्यटकहरुलाई लक्षित गरेर नै धरानका प्याराग्लाइडिङ व्यावसायीहरुले छुटका साथ बिशेष प्याकेज उपलब्ध गराउन आग्रह गरिएको पनि एशोसिएशनले जनाएको छ । यस्तै, पर्यटकहरुलाई डाँडाबजारस्थित ध्वजे डाँडाबाट सुर्योदय हेर्ने, लाप्चेटारस्थित एसियाकै ठुलो वरको रुख हेर्ने र राजारानीस्थित तालमा बोटिङ पनि गराउने प्योकज पनि तयार गरिएको सचिव जितेन्द्र रुम्दालीले बताए । उनका अनुसार यो प्याकेजको प्रतिव्यक्ति मात्र २ हजार रुपैया पर्छ । यसमा यातायात र खानासमेतको सुविधा हुनेछ । पर्यटकले चाहेमा डाँडाबजारमा होम स्टे पनि राखिनेछ । यो समय ध्वजे डाँडाबाट सुर्य उदाउदै गरेको दृष्य हेर्नलाई उपयुक्त समय पनि हो ।
यस्तै, उत्सवमा आउने पर्यटकहरुलाई भेडेटार आसपासको ऐतिहासिक एवं धार्मिक महत्वका पर्यटकीय गन्तव्यहरुको जानकारी गराउदै घुम्न जान प्रेरित गरिने एशोसिएशनका सल्लाहकार तथा सहआयोजक नेस्टका सचिव नरबहादुर चेम्जोङले बताए । बेलायती युवराज चाल्र्स चढेको डाँडा चाल्र्स प्वाइन्ट(शैलुङ डाडा), ऐतिहासिक सागुरी गढी, नमस्ते झरना, सिएनएनले उत्कृष्ट गन्तव्यमा पारेको नाम्जे गाउँ र थुम्किस्थित आत्माबस्ने घर, सुर्योदय गुम्बालगायत स्थलहरुको पनि प्रचार एवं प्रर्वद्धन हुने उनले बताए । आयोकजले उत्सव अवधिभर २० लाख बढी आर्थिक कारोबार र १० हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिने अपेक्षा लिएको छ । भेडेटार धरानदेखि करिब १६ किलोमिटर उत्तरमा धनकुटा र सुनसरी जिल्लाको सिमानामा अवस्थित छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे