प्रहरी र अदालतले निर्दोषलाई फसाइयो: राई
धरान । कमजोर न्याय प्रणाली र प्रहरीको फितलो अनुसन्धानको कारण निर्दोष हुदाहुदै पनि लागुऔषध मुद्दामा २२ महिना कैद बस्नु परेको धरान १५ निवासी हिमाल राईले बताएका छन् ।
कैदबाट मुक्त भएपछि बिहिबार पत्रकार सम्मेलन गर्दै राईले आफु निर्दोष भएको प्रमाणहरु पेश गरेपनि सुनुवाई नभएको गुनासो गरेका छन् । आफु जस्तै थुप्रै निर्दोष व्यक्तिहरु कानुनको परिवन्दमा परेर जेल बस्नु परिरहेको भन्दै उनले कसैमाथि अन्याय नगर्न पनि राज्यका निकायहरुसँग अपिल गरेका छन् । सञ्चारकर्मीसमेत रहेका राईलाई फैसला कार्यान्वयन विशेष अभियान टोली टास्क फोर्सले २०७१ माघ ४ गते पक्राउ गरेर जेल चलान गरेको थियो । उनीमाथि लागुऔषध नाइट्रोसन मुद्दामा जिल्ला अदालतले २ बर्ष कैद र एक लाख रुपैया जरिवाना फैसला गरेको भन्दै प्रहरीले करिब १४ बर्षपछि पक्राउ गरेको थियो । ‘ममाथि २०५७ सालमा नै कसैले वयान दिएको भरमा लागुऔषध नाइट्रोसन मुद्दा लगाइएको रहेछ, तर मलाई र मेरो परिवारलाई म्याद दिइएको छैन । जानकारी छैन । एक्कासी पक्राउ गरेर कैद भुक्तान गराइयो’–पत्रकारमाझ उनले भने–‘प्रहरीले मलाई फरार प्रतिवादी बनाएको रहेछ, तर म १४ बर्षसम्म धरानमै थिए, कसरी फरार भए ? अदालतले पनि मलाई मुद्दाको बारेमा जानकारी दिनुपर्ने होइन र ? सय अपराधी छुटुन तर एउटै निरअपराधी नपरोस् भन्ने फौजदारी न्याय सिद्धान्तको मुलमर्मको उपहास भएको छ ।’ उनी मंसिर २० गते मात्र कैद भुक्तान गरेर घर फर्किएका हुन् ।
प्रहरी दाबी अनुसार तरहरामा लागुऔषधसहित पक्राउ परेका धरान ७ का कृष्ण सुब्बा भन्ने व्यक्तिले वयान दिदा धरान १५ का पर्वत भन्ने हिमाल राईले लागुऔषध बोक्न दिएको भनेका थिए । तर, सुब्बाको वयानअनुसारको हिमाल राई भन्ने व्यक्तिसँग नाम र हुलियासमेत केही नमिलेको भएपनि जर्बजस्ती आफुलाई कैद भुक्तान गर्न बाध्य पारिएको उनको जिकिर छ । ‘पक्राउ परेको सुब्बाले पर्वत भन्ने हिमाल राई भनेको रहेछ, तर मलाई अहिलेसम्म कसैले पनि पवर्त भनेको थाह छैन । म मात्र हिमाल राई हुँ । त्यतिबेला उमेर २४ बर्षको भनेको छ, म ३० बर्षको थिएँ । रङ् श्यामल, उचाई ५ फिट ५ इञ्च, अनुहारमा खत नभएको, बोल्दा भकभकिने भन्ने वयान छ, तर यी सब केही पनि मसँग मिल्दैन’–उनले भने–‘२०५४ सालमा मेरो अध्यक्षतामा युथ एक्सन ग्रुप स्थापना गरेर २०५८ सालसम्म त लागुऔषध, खाद्य मिसावटकोविरुद्धमा अभियान चलाएको व्यक्ति हुँ, म कसरी लागुऔषध कारोबार गर्नसक्छु ? यो मुद्दामा मेरो एक प्रतिशत पनि संलग्नता छैन, तर जर्बजस्ती कैद काट्न लगाइयो, म जस्तै अरु निर्दोष व्यक्ति कानुनको पञ्जामा नपरोस् ।’
झुम्का कारागारमा रहदा उनकी पत्नी कमला राईले पुनरावेदन अदालत विराटनगरमा गैरकानुनी थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए । तर, पुनरावेदनले गैरकानुनी तवरले बन्दी बनाई राखेको भन्ने देखिन नआएकोले माग वमोजिम आदेश जारी नगरी निवेदन खारेज गरिदिएको थियो । त्यसबेला पुनरावेदनले सनाखत गराउन २०७१ माघ १९ गते मुख्य प्रतिवादी भनिएका कृष्ण सुब्बालाई झिकाउन आदेश दिएपनि प्रहरीले फेला नपरेको भन्ने जवाफ दिएको थियो । ‘त्यतिबेला कृष्णलाई प्रहरीले ल्याइदिएको भए वार कि पार भइहाल्थ्यो, तर सरकारवादी मुद्दा भएकोले मैले जित्ने भयो भनेर प्रहरीले फेला परेन भन्ने फ्याक्स गरिदियो’–उनले भने–‘प्रहरीको अनुसन्धान त्रुटी पुर्ण छैन र ? अदालतको फैसलामा त्रुटी भएकै हुदैन र ?’ पुनरावेदनले निवेदन खारेज गरेपछि सर्वोच्चमा पुनरावेदनको लागि गए पनि पेशी नचढेको र कैद भुक्तानको समय सकिन लागेकोले फिर्ता लिएको उनले बताए । कानुनी लडाई लड्न जरीवाना नतिरि उनी जेलमा नै बस्नु पथ्र्यो । जिल्ला अदालतले २ बर्ष कैद र १ लाख जरिवाना तोके पनि उनी २२ महिना १५ दिनमा छुटेका थिए । उनी धरानबाट प्रकाशित एकहप्ते एक्सन टाइम्सका प्रकाशक तथा हर्ट एफएममा पनि आवद्ध छन् ।
Comments
Post a Comment