‘हामी साथी साथी’को रिलिज

धरान । साथी अर्थात मित्रताबारे नेपालमा चर्चित भनाई छ, गाँस छोड्नु, तर साथ कहिल्यै नछोड्नु । यही भनाईलाई चरिचार्थ गर्ने गरी मंगलबार साँझ धरानमा एक साथ गायक सुमन श्रेष्ठ ‘संगम’को हामी साथी साथी..म्युजिक भिडियो रिलिज तथा साथी डिभिडिको विमोचन भएको छ ।
सिद्धि नेवाः परिषदको हलमा आयोजित समारोहका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव एवं वरिष्ठ गायक, संगीतकार गणेश रसिकले मात्र होइन, गायक श्रेष्ठका साथीहरुले एक साथ डिभिडि साथी साथीको सार्वजनिक गरेका थिए भने ‘हामी साथी साथी..’ बोलको गीतको म्युजिक भिडियो पनि रिलिज गरिएको थियो । साथी डिभिडि गायक श्रेष्ठको म्युजिक भिडियोहरुको संग्रह हो । गायक श्रेष्ठ र उनका साथीहरु मिलेर साथी साथी समुह नै बनाएका छन् ।


भाषाविद् प्रा.डा.टंक न्यौपानेले कला, साहित्य, गीत संगीत र सँस्कृतिको लागि धरान उर्बर भुमि भएको भन्दै साथी टिमको प्रसंसा गरेका थिए । प्राज्ञ राम धामीले गीतको रचना, गायकी, संगीतसँगै म्युजिक भिडियो पनि राम्रो बनेको प्रतिक्रिया दिएका थिए । गीतका रचनाकार एवं पत्रकार गोपाल दाहालले म्युजिक भिडियो रिलिजसँगै विगत २ बर्षदेखिको साथीहरुको सपना पुरा भएको बताए ।
कार्यक्रममा गरिदेऊ काम नेताहरु..गीतको भिडियो पनि प्रर्दशन गरिएको थियो भने गायक श्रेष्ठले आमाले भन्छिन् बुहारी ले..र प्रितिको फुलै फुल्यो..गीत पनि गाएका थिए । साथै, हाम्रो डान्स सेन्टरका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
Comments
Post a Comment